नेपालमा 'भर्चुअल' मन्त्रिपरिषद् बैठक : सिंगापुरबाटै ओलीले अध्यक्षता गर्ने !

जहाँ भए पनि मन्त्रिपरिषको अध्यक्षता आफैं : खड्गप्रसादको शक्तिको भोक या अरूप्रतिको अविश्वास ? तस्बिर : फाइल ।

नेपालको मन्त्रिपरिषद बैठक नै अब भर्चुअल बैठक हुने भएको छ । 

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले जहाँ भए पनि आफैं मन्त्रिपरिषद बैठककाे अध्यक्षता गर्नलाई यस्तो नयाँ प्रचलन नेपालमा पेरवेश गराएका हुन् । यसका लागि उनको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि नै परिवर्तन गरेको छ । 

नेपालको मन्त्रिपरिषदमा प्रवेश गराइएको यो नयाँ प्रचलनसँगै प्रधानमन्त्री ओलीको सिंगापुर बसाइ लामो हुने संकेत मिलेको छ । 

ओलीले गराएको यो नयाँ प्रचलनलाई लिएर नेपालमा क्रिया प्रतिक्रिया सुरू भएको छ । यसको पक्षमा रहेकाले युग सुहाउँदो प्रविधिमैत्री प्रचलन सुरू गरेको भनेर प्रधानमन्त्री ओलीको निर्णयको बचाउ गरेका छन् । तर, यसको विपक्षमा मत दिनेहरूले ओलीको शक्तिको भोक र कसैलाई पनि विश्वास नगर्ने चरित्रको पराकाष्टा भनेर आलोचना गरेका छन् । 

केहीले यो पार्टीले चलाएको सरकार हो कि एक व्यक्ति ओलीले चलाएको सरकार हो भनेर प्रश्न गरेका छन् । उनीहरूको तर्क छ - यसरी व्यक्तिकेन्द्रित भएर शासन चलाउने प्रवृतिले बहुदलीय संस्कार र संस्कृतिमाथि नै प्रहार हुन्छ ।

केही समयअघि मात्र नौदिने सिंगापुर उपचार यात्रामा निस्केका प्रधानमन्त्री ओलीले तन्दुरूस्त भएर आएको बताएका थिए । तर, त्यसको अर्को साता नै उनी फेरि उपचारकै लागि सिंगापुर प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओलीको यो भनाइबाट राष्ट्र नै गुमराहमा राखिएको भनेर आलोचना पनि सुरू भएको छ । उनीहरूको तर्क छ- प्रधानमन्त्रीको स्वास्थ्यबारे जान्ने अधिकार हरेक नेपालीलाई हुन्छ । तर, गुमराहमा राख्ने अधिकार भने प्रधानमन्त्रीलाई हुदैन । 

 

प्रकाशित मिति: : 2019-08-22 10:11:39

प्रतिकृया दिनुहोस्