भारतसँग बाँधकाे विषयमा दह्राे संवाद जरुरी: प्रचण्ड

Agency
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै गाएको समस्या समाधानका लागि भारतसँग दह्राे संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन्।
 
जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मंगलबार आयोजित छलफल कार्यक्रममा प्रचण्डले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक भएको बताए।
 
बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए। प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक रहेको बताए।
 
प्रदेश नं २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सिङ्गै नेपालको समृद्धि प्रदेश नं २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी रहेको बताए।
 
प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि प्याकेजसहित आउने सरकारको तयारी भइरहेको प्रचण्डले जानकारी गराए।
 
सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पुर्‍याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएकातर्फ ध्यानाकर्षण गराए।
 
विपद्को स्थायी समाधानको उपाय पहिल्याई प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उनले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिए।
याे पनि।
प्रकाशित मिति: : 2019-08-20 13:13:18

प्रतिकृया दिनुहोस्