सांसदहरुले भने- रवि लामिछानेका समर्थकहरु गैरकानुनी गतिविधिमा

तस्बिरः रासस

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा सांसदहरूले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन्।

संसदको शून्य समयमा बोल्दै सांसदहरूले अनुसन्धान प्रक्रिया प्रभावित हुनेगरी भइरहेका गतिविधि रोक्नसमेत सरकारसँग माग गरेका छन् ।

रवि लामिछानेका समर्थकहरुले अनुसन्धान प्रक्रियाप्रति अवरोध सिर्जना गरेको विषय सांसद महेश्वराज गहतराजले उठाए । ‘के निहुँ पाउँ र कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्नेगरी गैरकानूनी रुपमा हुलहुज्जत गर्ने काम भइरहेको छ। म त्यसको निन्दा र भर्त्सना गर्दछु,’ उनले भने।

यसैबीच सांसद गहतराजले अनुसन्धान निष्पक्ष हुनुपर्ने समेत माग गरे।

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषि ठहर गर्ने कानूनी प्रक्रिया रहेको भन्दै यसलाई उल्लङ्घन गर्दै भइरहेका क्रियाकलाप शान्ति सुरक्षा र सुशासनविरुद्ध भएको सांसद गहतराजले बताए।

‘मेरो मान्छे राम्रो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले समाजलाई कतातिर लैजान्छ? आज गम्भीर चिन्ता र चासोको विषय हो’, उनले प्रश्न गरे ।

अर्का सांसद यज्ञराज सुनुवारले पनि रवि लामिछानेको गिरफ्तारीपछि भइरहेको गतिविधि अति भएकाले यसलाई तत्काल रोक्न आग्रह गरे ।

दोषीले कानूनी सजाय पाउनुपर्ने र अनुसन्धान प्रक्रियालाई खलल पुर्‍याउने गतिविधि रोक्न सांसद सुनुवारले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।

प्रकाशित मिति: : 2019-08-18 18:48:10

प्रतिकृया दिनुहोस्