विवाहपछिको पहिलो होली थियो मेरो त्यो। काठमाडौंमै जन्मेर हुर्के पनि ‘होली’ मेरो मनपर्ने चाडमध्ये एक पर्थ्याे र अझैं पनि पर्छ। म प्राञ्जललाई रंग दलेर होली अर्थात् फागु पूर्णिमाको सुरुवात गर्न चाहन्थें ।
प्राञ्जल..... मेरो श्रीमान । जोसँग विवाह गरेर म यो घरमा भित्रिएको एक वर्ष पूरा भएको छ । तर यो एक वर्षको अन्तरालमा म पटक्कै खुशी छैन यस घरमा ।
अह! पटक्कै खुशी छैन ।
विवाह त आफ्नै खुशीले गरेकी हुँ । ममी, बुवा, दाई भाउजु सबैको सहमतिमा । तर जब यस घरभित्र प्रवेश गरें प्राञ्जलको मप्रतिको माया झ्यालबाट बाहिर उड्यो ।
कलेजका ती दिनहरुमा प्राञ्जल जब बाईक चढेर मेरो वरपर गरिरहन्थ्यो म भुतुक्कै हुन्थें । काठमाडौंमै घर भएको केटासँग विवाह गर्ने ठूलो धोको थियो मेरो । त्यसैले पनि होला उसको हाउभाउ आनीबानी सबै देखेर आकर्षित हुन्थें म । आफ्नो पनि काठमाडौमै घर भएकोले होला मैले काठमाडौंमै घर भएको केटासँग जीवन बिताउने सपना देखेकी थिएँ । विशेषगरी मेरो बुवाममीको चाहना थियो, मलाई काठमाडौमै घर भएको केटासँग विवाह गरेर दिने ।
‘सलिना, म तिमीलाई एकदम धेरै माया गर्छु,’ हातमा बोकेको ‘टेडी बेयर’ म तिर देखाउँदै उसले भनेको थियो ।’ मनमनै हाँसउठ्यो गुलाबको ठाउँ टेडी बियरले लिएछ भनेर । फेरि यसो सोचें ठिकै छ सबैको आ–आफ्नै माया दर्शाउने तरिका हुन्छ । त्यसपछि कतिखेर कसरी उसको मायामा परें आफैंलाई थाहा भएन ।
खाना खाईसकेपछि सुत्नुअगाडि घण्टौंसम्म उसँग कुरा गर्नु । शनिबार लुकीलुकी उसँग भेट्नु मेरो महत्वपूर्ण काम जस्तै बनेको थियो । एकदिन उसले फिल्म हेर्न जाने प्रस्ताव राख्यो । मैले सजिलै उसको प्रस्ताव स्वीकारेर फिल्म हेर्न गएँ ।
फिल्म सकेर आउँदा बाटोमा दाईको गाडी र प्राञ्जलको बाईक ठोक्कियो । जुन बाईकमा म बसेकी थिएँ । दाई गाडीबाट बाहिर निस्किदा मेरो होस हवास गुम्यो । के गरुँ कसो गरुँ भयो ।
त्यसरात घरमा ठूलो बबण्डर मच्चियो । दाईले मसँग पुलिसले कैदीलाई झैं सोधपुछ गर्न थाल्यो । मैले सबैकुरा भनिदिएँ । मेरो कुरा सुनेर बुवाले भन्नुभयो, ‘ठिक छ तिमीलाई प्राञ्जल मनपर्छ भने उसलाई घरमा बोलाउ। हामीलाई तिम्रो छनोटमाथि पूरा विश्वास छ ।’
बुवाको कुराले मन त्यसै पुलकित भयो । मैले यो कुरा प्राञ्जललाई भनें । प्राञ्जलको ममी र प्राञ्जल मेरो घरमा हात माग्न आए । गहूँगोरो बर्णकी मेरी हुनेवाला सासुले त्यसदिन घरमा आएर घुमाउरो पाराले आफ्नो आक्रोश पोखिन् । तर म चुपचाप बसें ।
किनकी त्यतिखेर मेरो लागि प्राञ्जल सबैभन्दा ठूलो थियो । यदि त्यहाँ मैले केही जवाफ फर्काएको भए मेरो विवाह रद्द हुनसक्थ्यो । प्राञ्जलसँग जीवन बिताउने सपनामा मैले सबैकुरा बिर्सें । तर त्यसदिन मैले बुझिसकेकी थिएँ कि मेरी सासुसँग मेरो सुमधुर सम्बन्ध बिस्तार हुनेछैन ।
केहीबेरको कुराकानीपछि उनीहरु फर्के । उनीहरु फर्केको केहीबेरमै प्राञ्जलले मलाई फोन गरेर भन्यो, ‘हेर न ममीले त मलाई ‘घर बनाएर मात्रै विवाह गर’ भन्नुहुन्छ । अब के गर्ने होला ?’
उसको कुरा सुनेर म छक्क परें । मैले अचम्म मान्दै सोधें, ‘तिम्रो काठमाडौंमै घर छ भनेको हैन त?’ प्राञ्जलले संकोच मान्दै भन्यो, ‘त्यो सबैकुराको लागि यो उपयुक्त समय हैन । बरु ममीलाई हाम्रो विवाहको लागि कसरी राजी गर्ने त्यो सोचौं न।’
उसको मनको कुरा मैले बुझ्न सकिन । उसले फेरि भन्यो, ‘हेर न हामी अहिले बसेको घर भाडामा हो हाम्रो घर पूरानो छ । अनि ममी आफ्नो बुहारीलाई नयाँ घरमा भित्र्याउन चाहनुहुन्छ । त्यसैले यो घरको कुरा निस्कियो।’
उसको मनसाय मैले बुझें । तर म उसलाई यति माया गर्न थालेकी थिएँ कि उसको लागि म जे पनि गर्न सक्थें । त्यसपछि उसले र मैले फाईनान्सबाट ऋण लिएर घर किन्ने बिचार गर्याैं । फाईनान्सबाट उसको र मेरो नाममा ‘लोन’ लिएर घर पनि किन्यौं । अनि म त्यो घरमा बेहुली भएर गएँ ।
घर भित्रिएको दोश्रो दिन मैले उसलाई सोधें, ‘अँ साच्चै अब हाम्रो त फाईनान्सको ऋण पनि तिर्नु छ । तिम्रो पूरानो घर बेचेर ऋण तिरौं न ।’ मेरो कुरा सुनेर उसको अनुहारको रंग फेरियो । उ मौन रह्यो । मैले उसलाई झक्झकाएँ, ‘किन चुप लागेको ? भन न त्यसो गर्दा के होला ?’
उसको अनुहारसँगै आवाज पनि फेरियो । उसले बिस्तारै भन्यो, ‘मेरो कुनै घर थिएन । म भाडामा बस्थें । उसको कुराले मेरो शरीर गलिसकेको थियो । मैले चिन्ता मिसिएको स्वरमा भनें, ‘अनि त्यो बाईक?’ उसले कुनै संकोच नमानी भनिदियो, ‘ए त्यो त साथीको थियो । उ केही महिनाको लागि अमेरिका गएको थियो अनि मैले चलाएको थिएँ ।’ ओहो ! कति ठूलो धोका, कति ठूलो षड्यन्त्र ।’
मैले मनमनै सोचें तर केही बोल्न सकिन । यी सबै कुरा थाहा पाएपछि दलदलमा भासिए झैं लाग्यो मलाई । झुटो नकाव लगाएर अरुको जीवन बर्बाद गर्नेहरुप्रति घृणा त जाग्यो तर प्राञ्जलप्रति मेरो माया अझै उस्तै थियो ।
मेरो मुठ्ठीभित्र कैद भएको रंगीबिरंगी रगंहरु प्राञ्जलको गालासम्म पुग्न तछाडमछाड गरिरहेका थिए । प्राञ्जललाई घरको गेटभित्र पसेको देख्नासाथ म कोठाको ढोकापछाडि लुकेर प्राञ्जललाई पर्खिन थालें । उ कतिखेर कोठाभित्र पस्ला र उसको गालामा रंग दलेर म मेरो अतितको सबै पीडा भुलाएर उसँग होली मनाउँ झैं भइरहेको थियो ।
अचानक कानमा आवाज ठोकियो, ‘के गर्ने घरको लागि भनेर मात्रै विवाह गरेको हो मैले । एकपटक फाईनान्सको पैसा सबै तिराउँ उसलाई अनि म डिभोर्स गरिहाल्छु । अहिले मैले डिभोर्स गरें भने फेरि सबै पैसा आफैंले तिर्नुपर्छ । ल बाई मि...’
म कोठाको ढोका बाहिर निस्केको देख्नासाथ उसको बोली बन्द भयो । मेरो मुठ्ठी खुलेर हातभित्रको रंग सबै पोखियो । ‘स....स..लिना तिमी.....’ बोल्दा बोल्दै उ फेरि रोकियो । उसले मेरो काँधमा छोयो ।
मैले आफ्नो काँधमा भएको उसको हातलाई पन्छाएँ । उसले अचानक मेरो मुख बन्द गर्यो । मलाई उकुसमुकुस भयो । म चिच्याएँ, कराएँ तर कोही आएनन् । बन्द ढोकाभित्र प्राञ्जल र म बाहेक कोही थिएन । उसले मेरो मुख थुनेर मलाई चेतावनी दिदैं भन्यो, ‘हेर यो कुरा तिमीले कसैलाई भन्यौ भने याद राख, तिम्रो परिवार र तिमी दुबै ज्यूँदा रहनेछैनौं ।’
यो अर्को अनौठो रुप थियो प्राञ्जलको। जुन मैले विवाह गरेको एक बर्षपछि देख्दै थिएँ । यस्तो लाग्यो मेरो पैसा, घर र खुशीसँगै मेरो ज्यान पनि जानेवाला थियो। त्यसरात म डर र घृणाले एउटै ओच्छ्यानमा प्राञ्जलसँग सुत्न सकिन। सोफामा डल्लो परेर निकै सकसकासाथ कतिखेर निदाएँ थाहा नै पाइन ।
भोलिपल्ट सासुले व्यंग्यात्मक पारामा सोधिन्, ‘हिजो त तिमीहरुको कोठाबाट खुब ठूलो आवाज आएको थियो। साच्चै के भयो?’ उनको कुरा सुनेर यस्तो लाग्यो मानौं उनी संसारकै सोझी महिला हुन्। मैले केही बोलिन।
तर उनले बारम्बार मेरो घाउँमा नुन छरेको आभास भयो मलाई। अनि मैले कठोर स्वरमा भनें, ‘म अब प्राञ्जललाई डिभोर्स दिदैंछु । त्यसपछि तपाईहरु बसेको यो घर जसमा तपाईको छोराको अलिकति पनि पैसा परेको छैन । त्यो म मेरो मात्रै नाममा नामसारी गर्नेछु ।’
मेरो कुराले उनको होस उड्यो । उनले उम्लिरहेको चियालाई छान्न बिर्सिन् । फेरि एकैछिनमा ठूलो हाँसो हाँसिन् । मलाई यस्तो लाग्यो उनले आफ्नो मानसिक सन्तुलन गुमाईन् । किचनको ड्रयरमा भएको चक्कु झिकेर मतिर देखाउँदै भनिन्, ‘त्यो सब त तब हुन्छ जब तँ जिउँदो हुन्छेस् ।’
उनको रुप देखेर मेरो अनुहारभरी पसिना आयो । उनले बोकेको छुरी छल्दाछल्दै मेरो निधारमा चोट लाग्यो । ‘भगवान् यो कस्तो दिन देख्नुपर्यो’ भन्दै मैले भगवान पुकारेर बल्लबल्ल त्यो घरबाट निस्कें । तर अबको मेरो गन्तव्य ?
आफ्नो परिवार जस्तो ठूलो संसारमा कोही हुदैंन रहेछ । मैले त्यसपछि दाईलाई फोन गरेर सबैकुरा भनें । दाई तुरुन्तै मलाई लिन आयो । त्यसपछि घर पुगेर सबैकुरा भनें । बुवा र ममिले प्राञ्जलप्रति आक्रोश व्यक्त गर्नुभयो । मैले रोक्दा रोक्दै बुवाले प्राञ्जललाई फोन गरेर गाली गर्नुभयो ।
प्राञ्जल झन् के कम ? उ मलाई धम्काउन र गाली गर्न थाल्यो । मैले उसलाई अब एकैपटक अदालतमा भेट्ने चेतावनी दिएर फोन राखें । त्यो बीचमा उसले मलाई धेरै फोन गर्यो । उसको साथीहरुलाई फोन गर्न लगाएर अनेक खबर सुनायो । उसले अर्को विवाह गर्न लागेको खबर सुनायो । तर मेरो पाईला डगमगाएनन् ।
अदालतमा प्राञ्जल, उसको ममी, बुवा अनि मेरो ममी र बुवा आउनुभएको थियो । प्राञ्जलसँग घर मेरो नाममा नामसारी गराउन माग गरेपछि उसले भन्यो, ‘पहिला डिभोर्स गरौं अनि घर सलिनाको नाममा गरिदिन्छु ।’ जुन घर फाईनान्समा थियो र जुन घरको ऋण अहिलेसम्म मैले मात्रै तिरिरहेकी थिएँ त्यही घर मेरो नाममा गराउन उसलाई त्यस्तो सकस भइरहेको थियो भने डिभोर्सपछि पाउने पैसा र सम्पतिको मलाई कुनै आश थिएन । त्यसपछि एक बर्षसम्म मैले टिकाएर राखेको सम्बन्ध सकिन एक मिनेट पनि लागेन ।
आँगनमा आगो बालेर सुरु भएको सम्बन्ध कागजमा हस्ताक्षर गरेर सकियो । घर पुगेर निकै रोएँ । बेडमाथिको टेडी बेयरले हेरिरहें झैं लाग्यो । त्यही टेडी बियर जुन प्राञ्जलले प्रपोज गर्ने बेला दिएको थियो । एक बर्षको अन्तरालमा उसले दिएको पहिलो र अन्तिम उपहार त्यही थियो । टेडी बियर ।