‘विप्लव’ समूहका लडाकु हतियारसहित पक्राउ

तस्बिरःनेपाल खबर

काठमाडौंको नागढुङ्गाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका लडाकुलाई हतियारसहित पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा शनिबार प्रहरीले काठमाडौँको नागढुंगास्थित चेक प्वाईन्टबाट लामालाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्दा बसमा रहेका लामालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

विप्लव नेकपाले बनाएको विशेष कारबाही दस्ता (स्पेसल टास्क फोर्स) का सदस्य सुलभका साथबाट दुई थान अटोमेटिक पेस्तोल र २० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। उनी ललितपुर कोन्ज्योसम गाउँपालिका २ का बासिन्दा हुन्।

कुनै व्यक्तिलाई कारबाहीका लागि परिचालित हुने सुलभका विषयमा प्रहरीको विशेष ब्युरो र काठमाडौं प्रहरीले अन्सन्धान गरिरहेको छ। उनका साथबाट विशेष कारबाहीमा आवश्यक सम्पूर्ण बन्दोबस्तीका सामग्री समेत बरामद भएको प्रहरीले जनाएको छ।

‘लामा विप्लव समूहको एसटीएफ सदस्य हुन,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालखबरसँग भने ‘विशेष उद्देश्यका लागि परिचालित हुने सुटर हुन।’ उनले सुलभसँग सोधपुछ भइरहेको बताए। ‘केही खुल्न सकेको छैन,’ एसएसपी सुवेदीले थपे ‘हामी बिस्तृत अनुसन्धान गरिरहेका छौं।’

उनले बोकेको झोलामा पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो। लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान बरामद गरेको छ। सिलाई मेसिन सफा गर्न प्रयोग हुने यो तेल विप्लव नेकपाले हतियार सफा गर्न प्रयोग गर्दै आएको छ। १० वर्षे माओवादी जनयुद्धका समयमा समेत यही तेल हतियार सफा गर्न प्रयोग हुने गरेको थियो।

प्रहरीले सुलभका साथबाट एकथान दुरबिन (बाइनाकुलर) समेत बरामद गरेको छ। यस्तै उनले प्रयोग गर्ने ५ थान मोबाइल, महत्वपूर्ण डायरी र दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ।

परिसर काठमाडौंले लामालाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-08-18 12:23:53

प्रतिकृया दिनुहोस्