शुरू भयो रविमा 'राजनीतिक रङ' पोत्ने खेल

रविमाथि लाग्न सक्ने सम्भावित राजनीतिक रङ्हरू । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

रवि लामिछानेले केही दिनअघि मात्र आफूलाई अराजनीतिक मान्छे भनेका थिए । तर, अहिले परिस्थितिले आनको तान पार्दा उनी त अराजनीतिक नै होलान् तर बाहिरबाट भने उनीमाथि राजनीति सुरू भएको छ ।

यसका तीन आयाम देखिएका छन्- पहिलो आयाम- उनलाई सत्तारूढ दलकै केही घटकका मान्छे सिद्ध्याउन लागेको भनेर उनलाई सत्ताविरोधीका रूपमा चित्रण गरिदैछ । दोस्रो आयाम- केही पार्टीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनीप्रति सहानुभूति देखाउँदै पपुलिष्ट राजनीतिको रोटी सेक्न खोजेका छन् । तेस्रो आयाम- केहीले नेताका रूपमा रविको जन्म हुने भन्दै सरकारले अर्को नेता जन्माउने भविष्यवाणि गरिरहेका छन् ।

पहिलो आयामको कुरा गर्दा प्रचण्डले सिधा कुरा जनतासँगबाट निकालेको, श्रीषा कार्कीलाई जोडेर किशोर श्रेष्ठसँग पौठजोरी खेलेको, निर्मला प्रकरणमा खेम भण्डारीसँग पाखुरा सुर्केकोलगायतका दृष्टान्त दिइन्छ । र, उनीहरूकै प्रभावमा सरकार लागेर उनलाई पक्राउ गरिएको आरोप लगाइन्छ । अझ अगाडि बढेर यही कारणले निस्पक्ष छानबिन पनि नहुने र उनलाई फसाइने आँकलन गरिन्छ । खासगरी रविका डाइहार्ट फ्यान जो राजनीति नामको हतियारमा दुबैतिर धार हुन्छ भन्ने बुझ्दैनन्, यो कुरा गरिरहेका छन् । गैर-कम्युनिष्टहरूले राजनीतिक रूपमै धारे हात लगाउने भैहाले । 

प्रश्न यसो गर्दा रविको हित हुन्छ त ? यसको उत्तरतिर भने शायदै कसैको ध्यान गएको होला । यो वा त्यो रूपमा कसैप्रति आक्रमण भएपछि उसले पहिला त आफ्नो रक्षा गर्छ । अनि त्यसले पनि पुगेन भने प्रत्याक्रमणको तहमा उत्रन्छ । त्यो कोणबाट हेर्दा आक्रोश, आक्षेप लगाइएको राजनीतिक शक्ति रक्षात्मक स्थितिसम्मै रह्यो भने त केही फरक पनि नपर्ला तर धेरै चलाएर प्रत्याक्रमणकै लागि तयार पारियो भने त त्यो प्रकारान्तरमा रविकै लागि घातक पनि हुन सक्छ । यसैपनि राजनीति, प्रेम र युद्धमा जे पनि जायज हुन्छ भनिन्छ । 

दोस्रो आयामको कुरा गर्दा चितवनमा रविको समर्थनमा देखिने अधिकांश अनुहारहरूलाई पनि बिर्सनु हुदैन र त्यहाँ उनीहरूले बोल्ने भाषालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । चितवनका मानछेहरूले त चिन्छन् नै  । चिनेर नै भनेका होलान्, त्यहाँ अधिकांश राजावादी नारावाजी गरिरहेका छन् । हिजो बिक्रम पाण्डेको चुनावका स्वयंसेवी कार्यकर्ता नै त्यहाँ बढी सक्रिय छन् । धेरैले त बिर्सी पनि सके होला, पाण्डे प्रचण्डको विरूद्धमा कांग्रेस र राप्रपाले उठाएका संयुक्त उम्मेद्वार हुन् । कालिका कन्सक्ट्रसन र कालिका एफएमका मालिक पाण्डे खह्रो राजावादी हुन् । 

यसको अर्को पनि तार छ- राजावादी राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष उद्धव पौड्याल । उनी रविकी नयाँ बेहुली निकिताका पिता हुन् । व्यक्ति नै सर्वाेच्च ठान्ने पार्टीका नेता पौडेलले आफ्नो ज्वाइँ हिरासतमा हुँदा हात बाँधेर बस्ने कुरा सम्भव नै हुदैन । योभन्दा पनि अर्को संवेदनशील पक्ष पूर्वराजा ज्ञानेन्द्रसँग त पौड्यालको व्यक्तिगत तहकै उठबस छ । यी सबै पृष्ठभूमिलाई हेर्दा राजावादीहरूले राजनीतिक रोटी नसेक्लान् भन्न सकिन्न । 

यसको अर्को पक्ष भर्खेरै उजागर भएको छ । त्यो हो- साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको पछिल्लो स्टाटस । उनले रवि लामिछाने र कला सञ्जेललाई एउटै पंक्तिमा उभ्याएर 'हृदयदेखि नै रवि लामिछाने र कला सञ्जेल निर्दोष सावित हुन्' भन्ने कामना गरेका छन् । उनको यो स्टाटसले रवि र कलाको पक्ष लिएको प्रष्ट देखिन्छ । अझ उनले आत्महत्या गर्नेलाई  डिप्रेसनको शिकार भएको भनेर परिवारजनलाई थप पीडा दिने काम पनि गरेका छन् । यसरी हेर्दा साझा पार्टीले रोटीको अर्को पाटो सेकिरहेको छैन भन्न सकिन्न । रविन्द्र नेपालको राजसंस्थाका बारेमा कस्तो धारणा राख्छन् भन्ने कुरा नेपालको राजनीति र पत्रकारिता बुझ्नेका लागि घाम जतिकै छर्लङ्ग छ । 

यसको तेस्रो आयाम, जहाँसम्म रविको राजनीतिक अवतारको प्रश्न छ, अहिले नै त्यस्तो सम्भावना देखिदैन । नेपालमा एउटा घटनालाई लिएर रातारात कोही नेता बन्ला र उथलपुथल ल्याउला भन्ने कुरा सोम शर्माको सपना जस्तै हो । अपवादलाई छोडेर नेपालमा बाजेले रूखमा भोट हालेको छ भने नातिले पनि त्यसैमा भोट हाल्छ । बाहिर जति नै गाली गरे पनि अन्तत: स्वस्तिक छाप रूखमै पुगेर अड्किन्छ । यस्तै रीत सूर्य, हसिया हतौडा र अन्य चिन्हका लागि पनि लागु हुन्छ । हो, त्यसमा केही परिवर्तन आएको कुरा गत आम निर्वाचनमा रविन्द्र मिश्रले काठमाडौं १ मा तराजुमा जोखेको भोटले पनि देखाउँछ । तर, देशको राजधानी काठमाडोैं, त्यसको पनि नम्बर १ सचेत निर्वाचन क्षेत्रमै पनि त्यो पर्याप्त भएन । यसले गर्ने संकेत भनेको नेपालको राजनीति अझै पनि मुद्दाभन्दा वाद केन्द्रीत छ भन्ने नै हो ।

समग्रमा हेर्दा रविका लागि अहिले कुनै पनि प्रकारको राजनीति फाप्ने देखिदैन । त्यसैले उनको हित चाहने हो भने यो वा त्यो नाममा रविमाथि राजनीति नगर्नु नै हितकर होला । तर, उनलाई मोहोरा बनाएर राजनीति गर्नेहरू उनको हितभन्दा आफ्नै हित हेर्ने हुन् । त्यसैले उनीहरू त रविको नामको रोटीलाई राजनीतिको तावामा मज्जाले सेक्न खोज्छन् नै । उनीहरूले सेक्न खोजे पनि नसेकिनु नै समयको माग हो । किनकि, यतिबेला नेपाली राजनीतिको तावा रवि र उनका शुभिचन्तकहरूले सोेचेभन्दा निक्कै तातो छ । 

प्रकाशित मिति: : 2019-08-17 08:47:25

प्रतिकृया दिनुहोस्