प्रम ओली सिङ्गापुर प्रस्थान, पोखरेल कार्याबाहक प्रधानमन्त्री

तस्बिरः बिएल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए।

प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा.दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

यो पनि पढ्नुस्

फ्रान्सका एउटा सालिक, जसको प्रजनन अंग मुसारेर आमा बन्ने सपना देख्ने लाखौं फ्रेन्च महिलाहरू

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ। उनी एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्किने  कार्यक्रम छ।

पोखरेल कार्याबाहक प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा शनिबा सिङ्गापुरतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन्।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-04 00:12:09

प्रतिकृया दिनुहोस्