मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित)

तस्बिरः बिएल

 

प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्य सम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले समय तालिका निर्धारण गरेर तोकिएको समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।

अहिले राजनीतिक अस्थीरताले काम गर्न दिएन भन्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्न सुझाव पनि दिए। स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय विकास भएको नकारात्मक चिजहरुलाई पनि अन्त्य गर्नुपर्नेमा जोड दिए।

अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तीय काम गर्न पनि उनले निर्देशन दिए। प्रधानमन्त्री ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरू सहयोगअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए।

समृद्ध नेपाल सुःखी नेपाली को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पनि सबै गम्भीर भएर लाग्नुपर्ने उनले बताए।

सो क्रममा मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष मन्त्रालयगत वार्षिक कार्ययोजना पेस गरेका थिए। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा २४ वटै मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना तयार गरेका हुन। त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरुले पेश गरेको कार्ययोजनाका आधारमा कार्य सम्पादन सम्झौता पनि गरे।

प्रकाशित मिति: : 2019-07-31 14:32:04

प्रतिकृया दिनुहोस्