माघे संक्रान्ति विशेष

ती माघी पनि

यो बीच चौराहाको कुरा ।
बीच चौराहामा 
मभन्दा ठुला 
मभन्दा मोटा 
मभन्दा काला
सालका मुडा
कुनै कमैया थारुको 
मन जसरी बलिरहेका हुन्थे ।
उनीहरुकै धड्कन जसरी आगो 
माथि माथी पुग्थ्यो,
फेरि उनीहरुको धड्कन् 
जसरी नै शान्त हुन्थ्यो–आगो।
एक मालिकको 
एक घोचाई जसरी
घोचिदिन्थ्यो कसैले मुढालाई 
र 
फेरि बल्न थाल्थे मुढा 
उही कमैया थारुको छाती झैं।

ठिक त्यही बेला  कुनै महाजनको घर भित्रको।
सुरुहुन्थो व्यापार, कमैयाको।
उनीहरुकै नयाँ वर्षकै दिन एउटा आगनको 
आधा माडिएको 
धानको दाइबाट,
अर्को आगनको  
आधा माडिएको
धानको दाइमा
पुग्थे कमैयाहरु 
उही पुरानो चप्कासहित।
चप्का डोरी र लल्ठी मात्र थिएन उनीहरुको नियति थियो 
जो कहिलै नयाँ बन्न सक्दैन। रागामाथि
अनेक थरि रिस 
पोख्दा पोख्दा 
चुटिएको खण्डमा
मालिकले कमैया फेरे झैं, कमैयाले चप्काको डोरी फेर्न सक्थ्यो।

नयाँ वर्षभन्नु नै 
नयाँ सौकी, 
नयाँ बिगाहा,
नयाँ मसौरा 
वा
नयाँ मालिक 
र हातको उही पुरानो चप्का त हो।

माघ एक गते। 
उही चौराहा, उही बलिरहेका मुढा 

बर्जङ, भ्याभ्ली, कल्लु, फिरुहरु 
उनीहरुको बुवा
जुन आगमा भए पनि 
उनीहरु आइपुग्थे 
उनीहरुको बुवाको मन जसरी बीच चौराहामा 
बलिरहेका मुडा छेउ।
उनीहरु ठिक मैले झैं 
कालिखाथ्थे लाई 
एक ‘फिल्को’ आगो दिन्थे।

सायद मैले गुरुवालाई कुखुरा दिएकै 
बदलामा 
उनीहरु कालिखाथ्थेलाई आगो दिन्थे।

उनीहरुले जहिले मैले भन्दा 
बढी कालिखाथे आगो दिए। मेरो कोशिस 
एउटै हुन्थ्यो 
कालिखाथ्थेलाई 
दिएको आगोको फिल्को 
सबैको भन्दा ठुलो होसलाई
तर 
गुरुवालाई
 कुखुरो चाहिँ सानो होस।
 
सम्झन्छु 
त्यहीँ आगो छेउ 
बर्जङको रक्सी खाएको अभिनय।
सम्झन्छु
त्यहीँ आगो छेउ 
भ्याभ्लिले बर्जङको अगाडि नभएको गिलासमा  
उस्को हातमा 
नभएको 
जाडले भरी लोटाले
बर्जङको अगाडि 
नभएको  गिलास भरिदिएको। 

त्यो अभिनय
मैले सम्झिरहने अभिनय हो 

अभिनय नजाने के पो गर्न सकिन्थो र?
अहिले स्वतन्त्र छौं भन्ने अभिनय हामीले गरिरहेका छौं।
ठिक त्यसरीनै जसरी त्यो बेला कुनै कमैया थारु।
मालिकको आगनमा गर्थो।
मालिकको खेतमा गर्थो।
मालिकको परालको टौवामा गर्थ्यो।
मालिकको डलप चलाउदा गर्थो। 
रागा गोरुको जुरुमा गर्थो ।

स्वतन्त्रता भनेको त?
भोक, भात र भबिस्य बारे चिन्ता लिन नपर्ने अवस्था रहेछ।
कपडा र कात्रोको चिन्ता 
लिन नपर्ने अवस्था रहेछ

घर र घाट कसैसँग पैंचो माग्नु नपर्ने अवस्था रहेछ।

अपसोच माघी अझै उही छ।
फरक यत्तिहो अचेल हाम्रो  अभिनय अलि राम्रो भएको हो।
र हातमा उही पुरानो चप्का छ 
र अचेल हामीहरुको 
नयाँ सौकी 
नयाँ बिगाहा 
नयाँ मसौरा 
र नयाँ मालिक 
जहाँ जतिबेला पनि भेटिन सक्छ।
हामी  तयार रहनुपर्छ 
कमैया बन्न।
किनकी 
आगनको मालिक 
गएर सरकारमा बसेको छ।

रेशम चौधरी कहिले छुट्छ्न्?

प्रकाशित मिति: : 2021-01-14 12:41:00

प्रतिकृया दिनुहोस्

    समय-सान्दर्भिक र राम्रो छ।धन्यवाद।❤️

    • 3 बर्ष अगाडि
    • Komal Prasad Adhikari