किन बिच्किए विप्लव? वार्ताको ढोका बन्द गर्ने विप्लवको निणर्य

तस्बिरः बिएल

सरकारले वार्ताको बहाना बनाएर आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको भन्दै प्रतिबन्धित विप्लव नेतृत्वको समूहका महासचिव नेतविक्रम चन्द (बिप्लव) ले वार्ताको ढोका बन्द गरेका छन्।

वार्ता गर्ने बहानामा सरकारले पार्टीका नेता/कार्यकर्ता पक्राउ गर्ने नियत राखेकाे निष्कर्ष निकाल्दै समूहले सरकारसँग वार्ताको ढोका बन्द गर्नुपरेको विप्लव समूहका एक नेताले बीएल नेपालीलाई बताए।

सरकार प्रतिबद्ध र आधिकारिक रूपमा अघि बढे मात्र वार्ता गर्ने भन्दै स्थायी समितिमार्फत निर्णय गरी विप्लवले सरकारसँग वार्ताको ग्रिन सिग्नल देखाएका थिए।

विप्लवको ग्रिन सिग्नल पाएको सरकारले छुट्टा छुट्टै टोली बनाएर अनौपचारिक वार्ताको लागि कदम पनि चालेकाे थियाे।

सरकारले खटाएका ब्यक्तिले काठमाडौंको जर्सिंङपौवादेखि नेपालगञ्जको बोर्डरसम्म पुगेर विप्लव माओवादी नेतालाई भेटेका थिए।

त्यसरी भेटिनेमा हाल पक्राउ परेका माईला लामा पनि थिए।

जेलमा रहेका विप्लव समूहका केन्द्रीय नेता हेमन्त प्रकाश ओली (सुर्दशन) लाई सत्तारुढ दलका महासचिव बिष्णु पौडेलले जेलमै भेटेका थिए। प्रधानमन्त्रीले वार्ता गर्न चाहेको भन्दै महासचिव पाैडेलले वातावरण मिलाउन सुर्दशनसँग आग्रहसमेत गरेका थिए।

सरकारी पक्ष र बिप्लव समूहका नेताबीच अनौपचारिक रूपमा वार्ता चलिरहेकै बेला त्यही बार्ता टोलीमा रहेका माईला लामालाई प्रहरीले पक्राउ गर्‍यो।

वार्ताको समन्वय गर्दै आएका लामा पक्राउ पर्दा विप्लव फेरि झस्किए।

माईलालाई पक्राउ गरेको ३ दिनपछि गत साउन ७ गते गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवसँग औपचारिक/अनौपचारिक वार्ता नभएको दाबी गरे।

गृहमन्त्रीले विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेको विवरण सार्वजानिक गर्दै हिंशामा अग्रसर भएको समूहको अराजक गतिबिधि नियन्त्रणमा सरकार सफल भएको प्रतिक्रियासमेत दिए।

गृह मन्त्रीको उक्त प्रतिक्रिया पछि जिल्ला जिल्लामा नेता कार्यकर्ताको पक्राउको विषयलाई लिएर विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाको डटेरै सामना गर्ने जवाफ दिए।

विप्लवको विज्ञप्ति

विप्लवको बुझाईमा सरकार र सत्ता सञ्चालन गरेको पार्टीमा २ खेमा छ।

‘ती दुबै खेमाका नेताको आ–आफ्नै स्वार्थ छन्। वार्ता भन्दा पनि सरकारले आफ्नो स्वार्थ पुरा गर्न लागेको निष्कर्षसहित महासचिव विप्लवले वार्ताको ढोका बन्द गर्नु भएको हो’, विप्लव माओवादीका ती नेताले भने,‘वार्ताका निम्ति खटिएका हाम्रा पार्टीका साथीलाई गिरफ्प्तार गरियो। वार्ता गर्ने भन्ने अनि वार्तामा आएकालाई पक्राउ गर्ने?’

सरकारको नीति वार्ता भन्दा पनि साथीहरूलाई पक्राउ गर्ने मेसो देखियो भन्दै उनले ‘हामी वार्ता होइन संघर्षमार्फत अघि बढ्ने हो, महासचिवको पनि त्यही निर्देशन छ’, ती नेताले बीएल नेपालीसँग भने।

प्रचण्डले एक पूर्व विद्यार्थी नेता जर्नाधन शर्मालगायतलाई अघि सारेर बार्ताको कुरा गर्दै आएका छन्।

उनीहरूकै समन्वयमा करिब १ महिनाअघि प्रचण्ड र विप्लव माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माबीच भेटसमेत भएको स्रोतको दाबी छ।

प्रचण्डले जतिसुकै आश्वस्त पार्न खोजेपनि विप्लवलाई उनको आश्वासन पत्यार छैन।

‘प्रचण्डले जति प्रयास गरे पनि उहाँको केही लाग्दैन्’, बीएल नेपालीको सम्पर्कमा आएका ती नेताले भने,‘ पार्टीलाई वार्तामा ल्याउने भन्ने बारेमा प्रचण्ड र प्रधानमन्त्री ओली आफैंमा होडबाजी छ।’

समूहको मागप्रति प्रधानमन्त्री सहमत नभएको दाबी गर्दै ती नेताले अगाडि भने, ‘हाम्रो माग पुरा गरि वार्ता गर्ने पक्षमा ओली छैनन्, उनी कसरी हुन्छ पार्टीलाई गलाएर ठेगान लगाउने पक्षमा छन्, त्यो कुरा हामीलाई प्रष्ट छ।’

प्रचण्डले जतिसुकै प्रयास गरे पनि उनीसँग त्यती पावर नभएको जिकिर ती नेताले गरे।

प्रकाशित मिति: : 2019-07-29 09:50:40

प्रतिकृया दिनुहोस्