आपराधिक मनोवृत्ति रोक्न योगाभ्यासको भूमिका महत्वपूर्णः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल योगा स्कुलको उद्घाटन गर्दै । तस्बिरः रासस

काठमाडौं । योगाभ्यासबाट  कुनै पनि व्यक्ति आफ्नो मन तथा शरीर शुद्ध गर्नाका साथै मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य हुन सक्नेमा जोड दिइएको छ ।

सकारात्मक सोच र कल्याणकारी काम गर्ने बानीको विकास गर्न योगले सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले आपराधिक मनोवृत्ति रोक्न पनि योगाभ्यासको महत्वपूर्ण भूमिका हुने बताए।

योग स्कूल उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले अहिले पनि आफूले भ्याएसम्म योगाभ्यासलाई निरन्तरता दिँदै आएको र  योगाभ्यासले आत्मविश्वास पैदा गर्नाका साथै मन र शरीरलाई नियन्त्रण गर्ने भएकाले सरकारले योगविज्ञानलाई प्राथमिकतामा राखेको छ भने।  उनले विद्यालय तहका पाठ्यक्रममा योग विषयलाई समावेश गर्न शिक्षा मन्त्रालयले काम थालेको जानकारी दिए।

नेपाल मेडिसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले आफू चिकित्सा विज्ञानका क्षेत्रमा लागे पनि योगको महत्व र असाधारण फाइदा देखेर यसतर्फ लागेको बताए।

ललितपुरको थसिखेलमा रहेको सो स्कूलमा योगगुरू शिव बस्याल ‘प्रेमानन्द’ र गुरु एकराजले नियमित रुपमा योगाभ्यास गराउनेछन्। स्कूलमा विभिन्न प्रकारका योगाभ्यास गराइने योगगुरु प्रेमानन्दले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2019-07-25 16:34:01

प्रतिकृया दिनुहोस्