ट्रम्पको बयानलाई लिएर भारतीय संसदमा विवाद, प्रधानमन्त्रीबाट स्पष्टीकरणको माग

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिर विवादमा मध्यस्तता गर्न आफूलाई आग्रह गरेको भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बयानलाई लिएर भारतमा बबाल भएको छ।

मंगलबार लोकसभामा डोनल्डको बयानलाई लिएर दिनभरी हंगामा भएको थियो। विदेश मन्त्री एस जयशंकरले संसदमा विपक्षीहरूलाई स्पष्टीकरण दिने क्रममा प्रधानमन्त्री मोदीले कश्मिरको विषयलाई लिएर अमेरिकी राष्ट्रपतिसँग कुनै किसिमको कुरा नभएको बताए।

तर, विपक्षी भारतीय कांग्रेसलगायत अन्य पार्टीले जयशंकरको स्पष्टीकरणलाई खासै महत्व दिएनन्। उनीहरूले यस विषयमा प्रधानमन्त्री मोदीले नै संसदहरूलाई जानकारी दिनुपर्ने बताए।

कांग्रेस सांसदहरूले अमेरिकी राष्ट्रपतिले झटो बोलेको हो कि मोदीले भारतका जनतालाई गुमराहमा राख्न खोजेको? यो स्पष्ट हुनुपर्ने बताए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेट गरेपछि भारत झस्किएको थियो।

इमरान र ट्रम्पबीचको भेटमा कश्मिरको मुद्धा पनि उठेको थियो। जसमा अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीले पनि आफूसँग मध्यस्तता गर्न प्रस्ताव राखेको र दुबै देश राजी भए आफू मध्यस्तता गर्न तयार रहेको बताएका थिए।

पाकिस्तानले कश्मिरको मुद्धा अमेरिकी राष्ट्रपतिसमक्ष उठाएको भन्दै भारतले असन्तुष्टी जाहेर गरेको छ। उसले यो दुई देशबीचको नितान्त व्यक्तिगत मामिला भएको भन्दै आपसी सहमतिबाट यसलाई सुल्झाउने बताएको छ।

प्रकाशित मिति: : 2019-07-23 23:32:17

प्रतिकृया दिनुहोस्