नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन्।

४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पारे। पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उनको भनाई थियो।

स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो।

अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको अध्यक्षको भनाई थियो।

अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संघर्ष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताए।

पार्टी एकताका काम करिब निष्कर्षतिर पुगेको भन्दै उनले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए।

एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उनले भने, ‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ।’

प्रकाशित मिति: : 2019-07-23 15:09:47

प्रतिकृया दिनुहोस्