विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज लामा प्रकाउ

तस्बिरः एजेन्सी

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ परेका छन्।

काठमाडौंको काडाँघारीबाट गएराति करिब साढे १२ बजे प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो।

महानगरीय अपराध महाशाखाका अनुसार विशेष सूचनाका आधारमा लामालाई पक्राउ गरिएको हो।

माइलाको गिरफ्तारीलाई प्रहरीले ठूलो उपलब्धी मानेको छ। उनीसँगै रेशम तामाङ पनि पक्राउ परेका छन्। रेशम पनि सो समूहका अगुवा कार्यकर्ता हुन्।

उपत्यकाका इन्चार्जसमेत रहेका लामा काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावशाली नेतासमेत हुन्।

लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन्। उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै बम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ। एृनसेल विस्फोटमा पनि लामाकै मुख्य हात रहेको प्रहरीले दाबी गरेको छ। 

लामा यसअघि संविधानसभाका उम्मेदवार समेत थिए। 

सरकारले विप्लव समूहसँग अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताए पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ पर्न छोडेका छैनन्।

हालसम्म देशभरबाट साढे ५ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

प्रहरीले उनीहरुविरुद्ध समाजको शान्ति सुव्यववस्था खलबल्याउन खोजेकोलगायतका आरोपमा पक्राउ गर्ने गरेको छ।

गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: : 2019-07-21 07:06:17

प्रतिकृया दिनुहोस्