बिहिबार, ०५ मार्च २०२६

तीनकुनेमा गोली लागेकी रेविका भेट्न गृहमन्त्री अस्पतालमा, उपचार खर्च तिर्ने आश्वासन

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो भन्दै आग्रह गरिन्। सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंको भिडियो सन्देशः भागेको होइन जोगिएको हुँ, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु

तीनकुनेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले आफु ‘भागेको’ नभइ ‘जोगिएको’ बताका छन्। उनले  आफू मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको पनि बताएका छन्। ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु,’ उनी भन्छन्, ‘दुर्गा व्यक्ति होइन, एउटा विचार हो। म पेरुको गोन्जालो बन्न चाहन्न नेपालको लिडर बन्न चाहन्छु। नेपालीहरूलाई बचाउँन चाहन्छु।’ त्यस्तै उनले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सवारी मजदुर सविन महर्जनको परिवारलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाः आफूलाई ‘मेकानिकल इन्जिनियर’ बताउने शिशिर जिसी पक्राउ

चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। तीनकुनेमा प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा बुधबार प्रहरीले थप एक जनालाई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आफूलाई मेकानिकल इन्जिनियर बताउने ३१ वर्षीय शिशिर जिसी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनायो। कार्यालयको टोलीले पक्राउ गरेका जिसीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी भएको छ। जिसी ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी दूतावासले भन्यो- अवैध तरिकाले अमेरिका पस्न खोज्दा ज्यान नै संकटमा पर्नसक्छ

नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका पुग्ने बाटो निकै खतरनाक रहेकोले आफ्नो ज्यानलाई जोखिममा नहाल्न आग्रह गरेको छ। दूतावासले बुधकार सामाजिक सञ्जालमार्फत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने भएकोले यस्तो बाटो अनपनाउन आग्रह गरेको हो। दूतावासले भनेको छ, ‘आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन्। यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई गगनको सुझावः भाषण गर्दै नहिँड्नुस्, शिक्षकको माग पूरा गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। रुपन्देहीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाप्रति असन्तुष्टि जनाएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छोडेर उद्घाटन र भाषणमा केन्द्रीत भएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘यो बिँड तातेरमात्रै हुँदोरहेनछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको नेतृत्व प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु। सुझाव दिइरहेको छु, झकझकाइरहेको छु, मद्दत पुर्‍याइरहेको छु। म भनेको कांग्रेस। तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकारको प्रमुखसँग हुनुपर्छ। सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए अहिले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो। अहिले पनि केही बिग्रिएको छैन। शिक्षक साथीहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओली आउँछन्’ भनेर दमकलले पानी हालेर गुराँस फुलाइयो, गए प्रकाशमान

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी पक्षहरू प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन्। उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन।’ तर उनले भनेजस्तो वस्तुस्थिति भने देखिँदैन। महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन। खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो। पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो। विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो। तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फूल्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

शेखर र गगनलाई महतको सुझावः अधिवेशन मंसिरमा हुँदैन, ‘म नै सभापति हुन्छु’ भन्दै नहिँड्नुस्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा हुन नसक्ने बताएका छन्। १५औं महाधिवेशनको तयारीका लागि हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा निस्केका महतले सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले अहिलेसम्म कुनै तयारी नभएको र एक वर्ष थप गर्ने परम्परा अनुसार एक वर्षपछि भने महाधिवेशन गर्न सकिने उनले बताए। उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन। किनभने त्यसको तयारी नै भएको छैन। सधैं एक वर्ष त थप्ने गरेकै छ। कम्तीमा एक वर्ष त थपिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

सांसद सोबिता गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तर संसदीय संघ (आईपीयू)को १५०औं महासभामा गठन भएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । चार वर्षका लागि निर्वाचित भएका १५ सदस्यहरूको कार्यकाल मार्च २०२९ मा सकिनेछ। आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। सोही निर्णयका आधारमा बनेको समितिमा सांसद गौतम निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा संलग्न आरोपमा थप दुईजना पक्राउ

गत चैत १५ को राजावादी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भोजपुर अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उनीहरूलाई आन्दोलनका समर्थक र भिडलाई उत्तेजित बनाएको, निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरी लुटपाट तथा अपराधिक उपद्रो गर्नुका साथै संगठितरूपमा आपराधिक गतिविधि गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका वनमन्त्रीको दाबीः योजना बेचेको छैन, हाम्रो लोकप्रियताबाट तर्सिएकाहरूले चरित्र हत्या गर्न खोजे

उनले आफूमाथि लागेका आरोपहरू आधारहीन, भ्रामक र कपोलकल्पित भएको दाबीसमेत गरे। विभिन्न संचारमाध्यममा आफ्नो नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकाशन र प्रसारण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको साहले बताएका छन्। मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाईएको दाबी गरेका छन्। प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका-११ मा रहेको घुर्मी खोलामा तटबन्धन निर्माणसम्बन्धि योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ। हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना विक्री वा कमिसनको प्रश्न नै नउठ्ने मन्त्री साहको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

आईजीपी दीपक थापाविरुद्ध ‘अश्लील गालिगलौज’ गरेका कमल विष्ट पक्राउ

गत चैत १५ गतेको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय शक्ति नेपाल ललितपुरका अध्यक्ष कमल विष्ट पक्राउ परेका छन्। ललितपुरको ठेचो घर भएका विष्टलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो। उनी राप्रपा नेपालका नेता केशरबहादुर विष्ट निकट मानिन्छन्। विष्टलाई तीनकुने घटनामा संलग्न भएको र आईजीपी दीपक थापाविरुद्ध अश्लिल गालीगलौच गरेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो। विष्टले राजावादी आन्दोलन हिंसात्मक बनेपछि अबको आन्दोलन श्रीलंका र बंगलादेशको मोडेलमा सञ्चालन गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि ज्यादती गरिएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले ज्यादती गरेको र गम्भीर मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ। गत शुक्रबार सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार हनन् भएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे हो। बुधबार रास्वपा नेताहरू सन्तोष परियार, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुलीलगायतले मानवअधिकार आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी सहितको ज्ञापनपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकार असफल भइसक्यो: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट मिलेर बनेको ओली सरकार असफल भएको दाबी गरेका छन्। मंगलबार जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस-कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यान्यवन नभएको बताए। उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भनिएको भएपनि पुरा नभएको जिकिर गरे। उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको  बताए। संविधान संशोधन गर्ने नियतमा यो सरकारको गठन नभएको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रभु साहको ‘आम जनता पार्टी’का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहद्वारा पार्टी परित्याग

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म पार्टीको कुनैपनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’  आम जनता पार्टीमा रहँदा आफ्ना स्वार्थ त्याग गरी प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाको ‘निष्पक्ष छानबिन’ माग गर्दै मानवअधिकार आयोगमा नेपाल एकता पार्टीको निवेदन

पार्टीका प्रवक्ता उज्वल घिमिरेले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोग जस्तो संवैधानिक र कानूनी हैसियत प्राप्त निकायबाट नेपालको संविधान, नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताको रोहबाट निष्पक्ष छानविन गरी सत्यतथ्य जानकारी पाउने आम नागरिकको नैसर्गिकता संरक्षण गर्नु, पीडितलाई क्षतिपूर्ति दिलाउनु तथा दोषी उपर कारवाहीको सिफारिस गर्नु त्यस सम्मानित आयोगको संवैधानिक कर्तव्य स्मरण गराउदै आस्थाका बन्दीलाई तत्काल रिहा गरी आजका मितिले ७ दिन भित्र विश्वासयोग्य छानविनको प्रक्रिया थालनी गरिपाउन सादर निवेदन गरिन्छ। नगरिएको अवस्थामा संलय तथा सम्मानित आयोग बिरुद्द अन्तराष्ट्रिय क्षेत्र (१९३ देश तथा अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा नियोग) मा व्यक्तिपरक पत्राचार गरिने व्यहोरा समेत जानकारी गराउदै मिति २०८१|१२|१५ गते तिनकुनेमा भएको युद्द अपराध, शान्तिविरुद्द अपराध र मानवता विरुद्दको अपराधको छानविन गरी दोषी उपर अनुसन्धान र अभियोजनको सिफारिस गरि पाउँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको व्यंग्यः राप्रपाले डेढ-दुई लाख मान्छे ल्याउँछन् कि भन्ने लागेको थियो, नांगिएछन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राप्रपाले बल्खुमा गरेको खबरदारी सभाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको पुष्टि भएको व्यंग्य गरेका छन्। कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राप्रपाले लाखौं मान्छे ल्याउने अनुमान गरिएपनि उनीहरू आफ्नै कारण नांगिएको टिप्पणी गरे। उनले भने, ‘आज कति मान्छे जुटाउलान् बल्खुमा भन्ने लागेको थियो । ७ हजार मान्छे ल्याए रे ! तपाईंहरू पनि हेर्नुहोला। राजेन्द्र लिङ्देनले राप्रपाले बल्खुमा अहिले जम्मा गरे रे ! प्रतिस्पर्धामा हामीले ६० हजार मान्छे ल्याएका थियौं भने उनीहरूले डेढ-दुई लाख मान्छे ल्याउँछन् कि भन्ने लागेको थियो सकेनन्। जनता हाम्रो साथमा छन्।’ नेपालले राजावादीहरूले आफ्नो पार्टी कार्यालयमा आक्रमण गरेर यसअघि नै नांगिसकेको टिप्पणी गरे। आजको प्रदर्शनले राप्रपाको स्वरुप देखिएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले आफैं फोहोर उठाएपछि बालेनले दिए धन्यवाद

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राप्रपाले बल्खुको कार्यक्रमपछि आफैं फोहोर उठाएको भन्दै धन्यवाद दिएका छन्। सोमबार बल्खुमा राप्रपाले खबरदारी सभा आयोजना गरेको थियो। उक्त कार्यक्रमपछि राप्रपाका स्वयंसेवकहरूले आफैं सरसफाइ गरेका थिए। राप्रपा नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई फोहोर उठाउन निर्देशन नै गरेका थिए। बालेनले कसैलाई जरिवाना तिराउन नभइ कसैले पनि सार्वजनिक ठाउँमा फोहोर नगरुन भन्ने महानगरको चाहना रहेको बताएका छन्। बालेनले भनेका छन्, ‘कसले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफै| सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं