बिएल संवाददाता
कैलाली
सत्यवती एकेडेमी धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समूह ‘डी’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
यसअघि समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज भएको खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो।
सत्यवती एकेडेमीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर एक सय १५ रनमा समेटियो।
एक्सिलेन्स सेन्टरको ब्याटिङमा अर्जुन घर्तीले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाए। सत्यवती एकेडेमीका लागि फिर्दोश अन्सारी र तृत राज दासले दुई/दुई विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दीप क्षेत्रीले एक/एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २६ रन बनाएको थियो। उसका लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए। ओपनिङ गरेका उनले ३६ बल खेल्दै चार चौका र दुई छक्का प्रहार गरे। इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए।
क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले दुई तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले एक/एक विकेट लिए।
त्यसैगरी यसअघि आजै भएको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो। जितको बाबजुद समूह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश गर्न असफल रह्यो। तीनवटै खेलमा जितको साथ समूह ‘सी’को विजेताका रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ।
लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो। गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए जुन क्रममा चार ओभरमा १० रन खर्चिए। विपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले दुई/दुई विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा सात विकेट गुमाएर एक सय २९ रन बनायो। लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा चार चौका र एक छक्का मद्दतले ५० रन बनाए। अभिषेक पालले २९, अनिल रावतले १४ तथा विपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए
गरुडा नगरपालिकाको बलिङमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले दुई/दुई विकेट लिए।
प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टीमको सहभागिता छ।