बिएल संवाददाता
काठमाडाैँ
फूलै—फूलको ‘संसार’मा कैयौँ मानिसहरू रमाइरहेका छन्। उनीहरू मनोहर ‘ट्यूलिप’मा खेल्नका लागि आउँछन्। उनीहरू हिउँले ढाकिएको हिमालय घुम्न आउँछन्। उनीहरू ‘डल’माथि तैरिन मन पराउँछन्।
मानिसहरू प्राकृतिक सौन्दर्यको लागि यहाँ आउँछन्। उनीहरू ‘हिन्दू राजा र मुगल सम्राट’को इतिहास नियाल्न आउँछन्। उनीहरू नदी—नाला तर्दै पहाडको खोचसम्मै आउँछन्।
आतंकवादले थलिएको श्रीनगर जुरमुराउँदै छ। जम्मु—कश्मीरमा फेरि एकपटक पर्यटकहरू फर्किएका छन्। वर्षौदेखि अँध्यारो ‘वाद’भित्रै रुमल्लिएको ‘जम्मु—कश्मीर’ बदलिएको संकेत गर्दैछ।
हिमाली भेगको सुन्दर उपत्यका श्रीनगर, जहाँ दशकौंदेखि हिंसात्मक पृथकतावादी सक्रिय छन्। वादविवाद सहँदै, चोटपटक खप्दै हुर्किरहेको जम्मु—कश्मीरमाथि तीन वर्षअघि भारतीय ‘मोदीतन्त्र’को आँखा लाग्यो।
भारतको केन्द्र सरकारले एउटा अचम्मको कदम लियो। नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी सरकारले मुस्लिम बहुल इलाकालाई नियन्त्रण गर्यो। स्थानीयमाथि गोली बर्सायो। नेतृत्वलाई नजरबन्दमा राख्यो। आतंकवादी धपाउँदैछ। श्रीनगरमा चहलपहल बढ्दैछ।
भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह भन्छन्, ‘जम्मु—कश्मीरक्षेत्र आतंकवादको केन्द्र थियो। अब पर्यटकीयस्थल बन्दैछ।’ श्रीनगर आगन्तुकलाई आफूतिर तान्दै सुस्त लयमा हिँडिरहेको छ।
श्रीनगरबासी मुस्कुराउँदै छन्। उनीहरू आन्तरिक वा विदेशी पर्यटक भेट्दा ‘चैनको सास’ लिन खोज्छन्। तर ‘जम्मु—कश्मीर’ डर, वैराग्य र अनिश्चितताको गम्भीर चक्रमा फसेको छ।
श्रीनगरको ट्यूलिप बगैंचाले सुनौलौ सुगन्ध बाँडिरहेको छ। लाखौं फूलको सौन्दर्यले हजारौँ मानिसहरू रमाइरहेका छन्। पारिवारिक जमघट गर्छन्। सेल्फि खिच्छन्। बगैंचाभित्र फूलसँगै खेल्छन्। तर बगैंचा बाहिर डरको भावना छ।
उपत्यका छिर्नुपूर्व भारतीय सेनाको चेकपोइन्ट छ। हात—हातमा बन्दुक छन्। सेनाले केरकार गरिरहेको छ। हिमालमा एकखालको ‘मानसिक शान्ति छैन।’
संसारका अन्य भागजस्तै, यहाँपनि उपत्यका छ। समाज छ। मान्छे छन्। त्रास छ। प्रेम छ। पत्रपत्रिका छन्। जेल छ। जेलभित्र निर्दोष नागरिक थुनिएका छन्।
एकसमय कोरोना थियो। त्योपनि सकियो। श्रीनगरमा सबैथोक छ। तर मानवता हराएको छ। नयाँ दिल्लीले राज्यको अर्धस्वायत्ता खोस्यो। संसारसँग सञ्चार बन्द गर्यो। त्यो एक समय थियो।
अहिले कश्मीर बेग्लै छ। सामान्य छ। बदलिएको छ। कश्मीरीहरूले आफूलाई बन्दुकले ढाँकेको बताउँछन्। आतंकवाद र केन्द्र सरकारको आतंकभित्र भेटाउँछन्। निरन्तर निगरानीले आतंककारी आक्रमणको घटेको छ। तर अल्पसंख्यक हिन्दूको हत्याको लहर उस्तै छ।
सन् १९९० को दशकतिर आतंकवादको चरम समयमा कश्मीरबाट हिन्दू पलायन रोकिएन। त्यो बेला हजारौं मानिस मारिए। अन्ततः ‘जम्मु—कश्मीर’ सुक्यो। आतंकवादको जालोमा फस्यो।
तर दशकौंपछि उपत्यकामा शान्तिको लहर आउँदा पर्यटनले गति लिएको छ। पर्यटकहरू भित्रिँदै छन्। श्रीनगरमा सन् २००७ मा ट्यूलिप बगैंचा स्थापना गरियो। बगैंचा ३० हेक्टर जमिन ओगटेर ‘डल ताल’ वरिपरि छरिएको छ।
ट्यूलिपभित्र दर्जनभन्दा बढी रङका फूलहरू छन्। भारत—पाकिस्तान युद्धविरामपछि पर्यटकहरू बढ्दै छन्। कश्मीर उपत्यकामा यसवर्ष २० लाखभन्दा बढी पर्यटक भित्र्एिका छन्। जो अघिल्लो वर्षको तुलनामा तीन गुणाले बढेको छ।
भारतीय दक्षिणी सहर बैंगलोरबाट श्रीमतीसहित बगैंचामा भेटिएका एकजना पर्यटकले भने, ‘सुन्दर छ श्रीनगर। असाध्यै सुन्दर लाग्यो उपत्यका। राम्रो छ बगैंचा, धेरै सुन्दर छन् रङहरू।’
(यो सामग्री ‘कश्मीर टाइम्स’ र ‘द न्युयोर्क टाइम्स’को सहयोगमा तयार पारिएको हो।)