मङ्गलबार, ०६ मे २०२५

एनआरएनएभित्र ‘आरजु-प्रचण्ड’ समिकरण, ओली हेरेको हेर्‍यै

News Image
• • •

सत्ता साझेदार दलहरूले नै गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई अलगथलग पारेका छन्। सर्वोच्च अदालतले दिएको आदेशलाई आआफ्नै तरिकाले ब्याख्या गरेर एनआरएनएका दुई पक्षलाई भने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले आआफ्नै तरिकाले मान्यता दिएका छन्। 

शुक्रबारदेखि आइतबारसम्म तीन दिन होटल हायतमा एक पक्षको भेला गराएर एनआरएनएका संस्थापक शेष घलेले अब महेश श्रेष्ठको काँधमा संघको जिम्मेवारी दिएका छन्। श्रेष्ठको अध्यक्षतामा एनआरएनएका सबै पदहरूमा निर्विरोध पदाधिकारी र सदस्यहरू तोकिएका छन्। श्रेष्ठ पराराष्ट्र मन्त्री आरजुका रोजाइ हुन्। जसका लागि यसअघि नै शेरबहादुर देउवाले घलेसँगै शर्त राखेका थिए। 

दुई वर्षअघि भएको अधिवेशनमा बद्री केसी निर्वाचित भएका थिए। त्यसमा प्रत्यासी आर के शर्मा दोस्रो र महेश श्रेष्ठ तेस्रो भएका थिए। विद्युतीय मतदानबाट केसी निर्वाचित भएपछि आरके शर्माको एउटा पक्षले छुट्टै भेला गराइ त्यही बेला शर्मालाई नै अध्यक्ष घोषणा गरेको थियो। र अर्को समानान्तर समिति बनेको थियो। त्यो बेला आरके समूहले विद्युतीय मतदानमै केसीले गडबडी गरेको आरोप लगायो। र विद्युतीय मतदान गराउने अन्तर्राष्ट्रिय कम्पनीले नै स्पस्टीकरण दिनुपर्‍यो। त्यसपछि दुबैपक्षबीच बालुवाटारमा रहेको एनआरएनएको मुख्यालयमा स्वामित्वको बारेमा विवाद भएको थियो। ललिता निवासको जमिन किनेर बनाइएको उक्त भवन पनि सर्वोच्चको फैसलासँगै अब नेपाल सरकारको नाममा जाने भइसकेको छ। 

यी विवादका बीच मुद्दा फेरि सर्वोच्चसम्मै पुग्यो। विवाद बल्झिदैं जाँदा सर्वोच्चले एउटा उच्चस्तरीय समिति बनाएर अर्को अधिवेशन गर्न आदेश दिएको थियो। त्यो आदेशसँगै बद्री केसीबाहेकको अर्को समूह शेष घलेलाई उच्चस्तरीय समितिको संयोजक बनाएर अधिवेशनको तयारीमा थियो। एनआरएनएका संस्थापकसमेत रहेका घले त्यसपछि फेरि सक्रिय भए। यद्यपि यसअघि पनि घले भित्रभित्रै एनआरएनएमा फरक समूह बनाउँदै हिँडेका पनि थिए। 

यो विवादमा सर्वोच्चले फरक फरक दुई आदेश जारी गरिसकेको छ। उच्चस्तरीय समितिलाई अधिवेशन गराउन पनि दुई पटक सर्वोच्चले आदेशात्मक पत्र लेखेको थियो। अन्तिम अवस्थामा फेरि केसी समूहले घलेले गराउन लागेको महाधिवेशन रोक्न भनेर मुद्दा हाले तर गत शुक्रबार पेशी चढेको उक्त मुद्दा सर्वोच्चले ‘हेर्न नमिल्ने’मा राखिदियो। अनि घलेले अधिवेशन गराए। 
त्यो महाधिवेशन उद्घाटनमा परराष्ट्रमन्त्री आफै होटल हायत पुगिन्। महाधिवेशन उद्घाटनका क्रममा उनले संस्थाभित्र राजनीति नगर्न गैरआवासीय नेपाली संघका नेताहरूलाई भनिन्। उनले एनआरएनएभित्र एकताको प्रयास सफल भएको दाबी पनि गरिन्। 
अनि भनिन् ‘तपाईंहरूको एकता नभएसम्म म कार्यक्रममा सहभागी हुन आउदिन भनेको थिए, सहमतिका लागि आरकेजी, महेशजी र केशवजीले देखाउनुभएको उदारतालाई सम्मान गर्दै म आएकी हुँ…।’

त्यस्तै शनिबारको प्रमाणपत्र वितरण तथा समापनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए। उनले पनि आफूले पटक पटक प्रयास गर्दा पनि नभएको एकता गरेर शेष घलेले उदाहरणीय काम गरेको भन्दै उनलाई बधाई पनि दिए। उनले एनआरएनएभित्र आफ्ना विश्वासपात्र मानिने आर के शर्मालाई पनि बधाई दिए। कूल आचार्यको पनि प्रशंसा गरे। आचार्य पनि एनआरएनएका पूर्व अध्यक्ष हुन्। जतिबेला तीव्र विवाद चलिरहेको थियो त्यो बेला कूल आचार्य, बद्री केसी र रविना थापालाई अध्यक्ष घोषणा गरिएको थियो। करिब डेढ वर्षे कार्यकाल उनीहरूले आलोपालो अध्यक्ष भएर चलाएका थिए। 

‘के हुने हो एनआरएनएको भविष्य भन्ने चिन्ता थियो। विभाजनका संकेतहरू देखा पर्दै जाँदा हामीलाई पनि चिन्ता र चासो थियो’ प्रचण्डले भनेका थिए ’मैले पनि एकताको निम्ति प्रधानमन्त्री हुँदा र नहुँदा एनआरएनएको एकताको लागि प्रयास गरेको छु।’ आरजु अनि प्रचण्डहरूले त्यसलाई एकताको अधिवेशन भनिरहँदा केसी समूह अरु पूर्वअध्यक्षहरू भने यो महाधिवेशनमा सहभागी भएनन्। 

सोमबार दुबै समूहले नेताहरू भेट्ने म्याराथन नै गरे। एकाबिहानै केसी समूह प्रधानमन्त्री ओलीलाई भेट्न पुग्यो। त्यहाँ ओलीले ‘केसी समूह नै आधिकारिक’ भएको भने। केसी एमाले निकट मानिन्छन्। भेटमा प्रधानमन्त्री ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताउँदै आगामी अक्टोबरमा हुने अधिवेशनको तयारीमा लाग्न निर्देशन दिए। उनले ११औं महाधिवेशनले मान्यता पाइसकेकोले अरु महाधिवेशन भयो/भएन भन्ने कुराले कुनै अर्थ नराख्ने बताए। त्यस्तै उनले केसी समूहसँग परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई नटेरेको गुनासो गरे। सर्वोच्चको एउटा आदेशलाई मान्ने हो भने आगामी अक्टोबरसम्म केसीले नै अध्यक्षका रुपमा काम गर्न पाउँछन्। तर अर्को आदेशमा भने उच्चस्तरीय समितिलाई अधिवेशन गर्न भनिएको छ। घले समूहले भने केसीका लागि भनिएको त्यो आदेशलाई उत्प्रेषणमात्रै भनेका छन्। 

केसीहरूले प्रधानमन्त्री ओलीलाई भेट्दै गर्दा नयाँ चुनिएको कार्यसमितिका सबै पदाधिकारी सदस्यहरू भने राष्ट्रपति रामचन्द्र पौडेल अनि काँग्रेस सभापति शेरबहादुर देउवाहरूको दैलो चाहार्दै थिए। राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र हाल देखिएको समस्या र विवाद समाधानमा अग्रसरता लिन संघको नेतृत्वलाई आग्रह गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए। देउवाले पनि उनीहरूलाई बधाई र शुभकामना दिँदै मिलेर जान भनेका थिए। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?