मङ्गलबार, ०६ मे २०२५

बद्री गुटसँग ओलीको गुनासो- ‘आरजुले टेरिनन्’

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न पुगेका एनआरएनएका अवैध अध्यक्ष बद्री केसी समूहसँग परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई नटेरेको गुनासो गरेका छन्।

यतिबेला एनआरएनएको एकता महाधिवेशनले आधिकारिक नयाँ कार्यसमिति चयन गरेसँगै ‘अनाधिकृत अध्यक्ष’ बद्री केसी समूहको बिल्लीबाठ भएको छ।

सोमबार सो समूह हारगुहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको थियो। भेटमा प्रधानमन्त्री ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताउँदै आगामी अक्टोबरमा हुने अधिवेशनको तयारीमा लाग्न निर्देशन दिए।

उनले ११औं महाधिवेशनले मान्यता पाइसकेकोले अरु महाधिवेशन भयो/भएन भन्ने कुराले कुनै अर्थ नराख्ने बताए। त्यस्तै उनले केसी समूहसँग परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई नटेरेको गुनासो गरे।

ओलीले आफूले एनआरएनएलाई मिलाएर लैजाने प्रयास गरेपनि आरजुको जोडबलमा एकता अधिवेशन भएको आरोप लगाए। 

सर्वोच्च अदालतको परमादेश अनुसार गठित एनआरएनएका पूर्वअध्यक्ष शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाडौंमा महाधिवेशन गर्दै आइतबार महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए।

नयाँ कार्यसमिति बनेपछि आफ्नो वैधता प्रमाणित गर्न बद्री केसी समूह ओलीलाई भेट्न पुगेको थियो। सोही भेटमा ओलीले आफूलाई आरजुले नटेरेको गुनासो गरेका भेटवार्तामा सहभागी एक नेताले बताए।

‘एनआरएनएलाई मिलाएर लैजाने पक्षमै थिएँ। तपाईंहरूको विरोधी समूहले माओवादीसँग गठबन्धन गरेपछि यो अवस्था आयो। मिलाएर जाने मेरो प्रयासलाई आरजुले टेर्नुभएन। प्रचण्डसँग मिल्नुभयो।  तपाईंहरूले देख्नु नै भइहाल्यो त्यो समूहले मलाई नबोलाइ प्रचण्डलाई किन बोलायो?’ ओलीले भने, ‘मेरो नजरमा तपाईंहरू नै आधिकारिक हो। तर, परराष्ट्र मन्त्रालयको नेतृत्व गरेर आरजु सहभागी भइसकेपछि मलाई पनि एक प्रकारको संकट आइलागेको छ।’

फेरि नयाँ र पूरानो कार्यसमितिबीच राजनीति सुरु भएको छ। दुवै पक्ष आफूलाई वैध सावित गर्न राजनीतिक भेटघाटमा दौडिन थालेका छन्।

यता एनआरएनएको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले पनि राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?