सोमबार, ०५ मे २०२५

हेटौंडामा जमिनमुनि हराएको गाडी खोज्न भूगर्भविद जाने

News Image
• • •

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ।

गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो।

घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ।
‘भासिएको वरिपरि पानी जमेको थियो, हामीले त्यो हटायौं। जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ, डिएसपी अर्यालले भने।

भूगर्भ विज्ञ बोलाउने निर्णय
घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरपालिकाले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविदहरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ।

उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन्।

‘हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्दैन। स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’ प्रमुख लामाले भनिन्।

उपमहानगरपालिकाका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमबारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ। अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?