सोमबार, २८ अप्रिल २०२५

शिक्षकहरूमाथि बल प्रयोग होइन, दुई दिनभित्रै समाधान खोजियोस्: डा. शेखर कोइराला

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले दुई दिनभित्रै शिक्षकका समस्याहरू समाधान गरेर विद्यालयहरूमा पठनपाठन सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। 

शिक्षकहरूका जायज मागहरू पूरा गरेर समाधान खोज्नुपर्नेमा उनीहरूको आन्दोलनमाथि नै बल प्रयोग गरेकोप्रति पनि कोइरालाले आपत्ति जनाएका छन्। 

‘शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ। यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनिहरूमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ‘अब धेरै ढिला भयो। एक दुई दिन मै समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

आन्दोलनको २५ औं दिन आइतबार पनि शिक्षकहरूले प्रदर्शन गरिरहेका थिए। माइतीघरबाट निस्किएको उनीहरूको जुलुश बानेश्वरतिर अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीले लगाएको बार ढालेर शिक्षकहरू निषेधित क्षेत्रतिर छिर्न खोजेपछि प्रहरीले पानीका फोहाराले हिर्काएको थियो। 

त्यसक्रममा करिब दुई दर्जन शिक्षकहरू घाइते भएका छन्। भने समाचार संकलनका क्रममा रहेकी प्राइम टेलिभिजनकी एकजना पत्रकार पनि गम्भिर घाइते भएकी छिन्। उनको आँखामा गम्भिर चोट लागेको छ। घाइते पत्रकार सविना कार्कीको अहिले तिलगंगामा उपचार भइरहेको छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?