बिएल संवाददाता
वासिङ्टन डीसी
नेपालबाट भौगोलिक रूपमा १४ माइल मात्र टाढा रहेको बंगलादेशमा राजनीतिक भूकम्प गयो । पूर्वानुमान नै गर्न नसकिएको यो भूकम्पले शेख हसिनालाई एक शक्तिशाली प्रधानमन्त्रीबाट रातारात भगौडा बनायो । १५ वर्षसम्म एक छत्र गरेको शासनको रजगज तासको घरझै ढल्यो ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको छोरीका रूपमा पाएको विरासत त सकियो नै, एक खराब सन्तानका रूपमा राष्ट्रपिता बाबुलाई पनि अभिशप्त बनाइन् । कतिपय ठाउँमा उनका सालिकहरू फोडिए । ती दृश्यले उनकै नेतृत्वमा बंगलादेश स्थापना भएको थियो वा उनी नै बंगलादेशका राष्ट्रपिता थिए र? भन्ने खालको प्रश्न नै सोध्नुपर्ने अवस्था सिर्जना भयो ।
सन्तान खराब भएपछि त्यसको दण्ड वर्षौँ पहिला मरिसकेका बाबुआमाले पनि पाउँदा रहेछन् भन्ने दृष्टान्त देखियो । भनाइ नै छ नि, सन्तानसँगको साइनो न काट्न मिल्छ, साट्न मिल्छ । हसिना र रहमानको साइनो पनि एउटा त्यस्तै अभिसप्त साइनो बन्यो ।
बंगलादेशमा शेख हसिना भाग्नुअघि उठेको विद्यार्थी आन्दोलनका क्रममा धेरैको ज्यान गयो । त्यो शहादतको पाटो र त्यसले बनाएको घाउ एक ठाउँमा छ । त्यसको सम्बोधन होला वा नहोला वा भयो भने कहिले होला? त्यो भन्न सक्ने स्थितिमा अझै बंगलादेश पुगिसकेको छैन ।
यस बीचमा नोबेल पुरस्कार विजेता महम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ, विपक्षी दलकी नेतृ खालिदा जिया रिहा भएकी छिन्, सर्वोच्च अदालतका प्रधान न्यायाधीशले राजीनामा दिएका छन् । संसद् भंग गरिएको छ । बिस्तारै बंगलादेश शान्त हुने क्रममा छ । यद्यपि, राजनीतिक भूकम्पका परकम्पनहरू अझै पनि थामिसकेका छैनन् ।
अहिले पनि शासनको बागडोर हसिना शासनकालका बफादार सैनिक जर्नेलहरूकै हातमा छ । सरकारका विभिन्न निकायमा हसिनाका नेता, कार्यकर्ता र आफन्तहरू नै छन् । उनीहरू अहिले शासन गर्ने अवस्थामा पनि छैनन् र भाग्नसक्ने अवस्थामा पनि छैनन् । अहिले उनीहरू उपद्रोहरू मच्चाएर नयाँ सरकारलाई बदनाम गर्ने, असफल बनाउने र झडपहरू सिर्जना गर्ने भूमिकामा छन् ।
यसले गर्दा बंगलादेशको अन्तरिम सरकारसामु देशमा शान्ति सुरक्षा एवं अमनचयन कायम गर्ने चुनौतीको पहाड ठडिएको छ । यो चुनौतीको पहाडलाई शान्तिपूर्ण रूपमा चुनाव गराएर अवसरको मैदानमा परिणत गर्नु छ ।
अन्तरिम सरकारको मुख्य काम नै चुनाव गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । यो काम पटक्कै सजिलो छैन तर नगरी पनि धर छैन । अहिले बंगलादेश सन् १९७१ मा एक स्वतन्त्र देशका रूपमा स्थापित भएयताको कठिनतम समयबाट गुज्रिरहेको छ । अबको केही समय बंगलादेश कसरी अगाडि बढ्छ ?, त्यसैले यसको दिशा र दशा निर्धारण गर्नेछ ।
दक्षिण एसिया त यसलाई नजिकबाट हेरिरहेकै छ, सारा विश्वको ध्यान पनि त्यतैतिर तानिएको छ । तर, अमेरिकी सञ्चारमाध्यममा भने यो समाचारले खासै महत्त्व पाएको छैन । यद्यपि, हसिनाले यस घटनामा अमेरिकाको हात रहेको आरोप लगाएकी छिन् । अमेरिकाले भने यो घटनालाई नजिकबाट हेरिरहेको र बंगलादेशका जनताको निर्णयलाई सम्मान गर्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ ।
यसैबीच ज्यान जोगाएर भारत पुगेकी पूर्वप्रधानमन्त्री हसिनाले अझै पनि आफू नै बंगलादेशको आधिकारिक प्रधानमन्त्री भएको बताएकी छिन् । उनले छिट्टै बंगलादेश फर्कने पनि बताएकी छन् । यद्यपि, उनले भारत भाग्नुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएकी थिइन् ।
उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको पनि बताइएको थियो । बेलायतमा रहेका उनका छोरा भने सुरुदेखि नै आन्दोलनलाई दबाउने पक्षमा थिए । उनकै सल्लाहमा हसिना पनि अन्तिम समयसम्म आन्दोलन दबाउन लागिरहेकी थिइन् । तर, जब सेनाले आन्दोलन दबाउन सम्भव नभएको र राजीनामा दिएर देश छोड्न सल्लाह दियो, त्यसपछि भने हसिना भारततिर भाग्न बाध्य भइन् ।
हसिनाले भारतको प्रत्यक्ष वा अप्रत्यक्ष साथ पाएर नै आफ्नो शासन लम्ब्याएकी थिइन् । भारतसँगको विशेष सम्बन्ध उनले बाबुबाटै विरासतमा पाएकी थिइन् । त्यही सम्बन्धका कारण भारतको साथ लिएर नै बंगलादेशको स्थापना भएको थियो ।
अहिले पनि हसिना भारतकै विशिष्ट पाहुना भर राजधानी नयाँदिल्लीमा रहेकी छन् । सुरुमा उनले बेलायतमा शरण लिने सम्भावना रहेको बताइएको थियो । र, उनी भारतबाटै त्यता जाने कुरा आएको थियो । तर, अहिले त्यो टोन परिवर्तन भएको छ । एकातिर बंगलादेशका आन्दोलनकारीहरू उनलाई भारतले बंगलादेशलाई बुझाउनुपर्ने माग गरिरहेका छन् । अर्कोतिर उनी आफै पनि बंगलादेशको निर्वाचित सरकार प्रमुख आफू नै रहेको दाबी गर्दै छिट्टै बंगलादेश फर्कने बताइरहेकी छन् ।
हसिनाको दाबी जे जस्तो भए पनि उनी तत्कालै बंगलादेशको शासन सत्तामा फर्कने सम्भावना देखिँदैन । हो, उनको पार्टी बंगलादेश अवामी लिगको राजनीतिक तागत बाँकी नै छ । अहिले नै उनको पार्टी पूरै किनारा लागिसकेको छैन ।
हसिनाको चरम दमनका कारण बंगलादेशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) पनि सत्तामा सहजै फर्कने तागतमा छैन । बीएनपीको संगठन ध्वस्त भएको छ, जनाधार कमजोर भएको छ ।
पार्टी प्रमुख खालिदा जिया र थुप्रै शीर्ष नेताहरू जेल पठाइएकाले उनीहरूको जनतासँगको सम्बन्ध टुटेको छ । कयौ नेताहरू देश निकाला वा पलायन भएका छन् । अरू राजनीतिक पार्टीहरूको अवस्था पनि दयनीय छ । एक किसिमले भन्ने हो बंगलादेशको लोकतन्त्र कोमामा छ ।
बंगलादेशको दिशा र दशा आगामी दिनहरूमा कता जान्छ ?, अहिले नै अनुमान गर्न गाह्रो छ । तर, एउटा कुरा के निश्चित छ भने बंगलादेश अब पछाडि फर्कन सक्दैन र फर्कनेवाला पनि छैन । अगाडि बढ्ने गति भने समय क्रममा देखिने छ ।
अर्को पनि एउटा सत्य के हो भने यो घटना एउटा राजनीतिक ऐना हो । अबका जनता प्रजातन्त्रको मूल्यमा अरू केहीसँग पनि सम्झौता गर्दैनन् । इतिहास, विरासत, बहुमत, स्थायित्व, विकास वा आर्थिक प्रगति आदि इत्यादि सबै प्रजातन्त्रका सामु गौढ हुन् । बंगलादेशमा राष्ट्रपिताको इतिहास र विरासत मात्रै तासको घर भएन, बहुमत, स्थायित्व र विकास पनि गर्ल्यामगुर्लुम ढलेर त्यसको पुष्टि भयो ।
बंगलादेशमा आएको यो राजनीतिक भूकम्पको पराकम्प नेपालसम्म पनि आइपुगेको छ । हो, नेपालको समग्र अवस्था ठ्याक्कै बंगलादेशको जस्तो छैन र हुँदैन पनि । तर, नेपालका ठूला दलका मूल नेतृत्वको सोच, कोण र प्रवृतिचाँहि लगभग जियाको जस्तै छ ।
नेपालका तीन ठूला दलका सुप्रिमो देउवा–ओली–प्रचण्ड र बंगलादेशकी जिया उस्तै पात्र र प्रवृति हुन् । उता, जियाले आफ्नो बाबु र अवामी लिगले बंगलादेश स्थापना गरेको भनेर इतिहास र विरासतको साँवा ब्याजको हिसाब गर्दै अकण्टक शासन चलाइन् ।
यता, देउवा–ओली–प्रचण्ड पनि नेपालमा प्रजातन्त्र–गणतन्त्र ल्याउन आआफ्ना पार्टीले योगदान गरेको भन्दै चक्रवृति ब्याज उठाइरहेका छन् । उता, जियाले स्वतन्त्र सेनानीको आरक्षणको नाममा आफन्तहरूको दुष्चक्र चलाइन् भने यता देउवा–ओली–प्रचण्डले समावेशिताका नाममा आफन्त र आसेपासेका लागि ढलिमली बनाए । उता, जियाले अवामी लिगलाई आफ्नो प्राइभेट लिमिटेड कम्पनी बनाएजस्तै यता देउवा–ओली–प्रचण्डले आआफ्ना पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी बनाए ।
हो, देउवा–ओली–प्रचण्ड जियाले गरेकै तहको ढलिमली गर्ने अवस्थामा छैनन् । तर, उनीहरू त्यसका लागि प्रयत्न गरिरहेका छन् र उनीहरू सक्ने अवस्थामा पुग्ने हो भने जियाभन्दा पनि बढी नै गर्छन् ।
ओलीसँग सालीको साइनो लगाएकी अञ्जना शाक्यको रोजीछाडी, देउबाकी श्रीमती आरजु राणाको मनमौजी र प्रचण्डका छोरी तथा ज्वाइँहरूको चुरिफुरीले नै देउवा–ओली–प्रचण्ड को हुन् भन्ने यथेष्ट प्रमाण दिन्छन् ।
अहिले नेपालमा बंगलादेशको पछिल्लो राजनीतिक घटनालाई सन्दर्भमा राखेर त्यसको प्रभावका बारेमा विचार विमर्श सुरू भएको छ । निश्चित पनि खासगरी सत्ताको राजनीतिक इतिहासमा थपिन आइपुगेको र पढ्नलाई छुटाउनै नहुने यो एक महत्त्वपूर्ण अध्याय हो ।
हुन त दक्षिण एसियामा यस्ता अध्यायहरूको लामो फेहरिस्त नै छ । केही समयअघि मात्र श्रीलंका र मालदिभ्सले पनि लगभग यस्तै अध्यायहरू थपिदिएका थिए । तर, ती अध्यायहरूबाट हसिनाले केही सिकिनन् र अन्ततः उनी आफें त्यस्तै अर्को अध्याय बन्न अभिसप्त भइन् ।
अहिले हसिना अध्याय देउवा–ओली–प्रचण्डसामु उपस्थित छ । तर, उनीहरू बंगलादेश र नेपालको अवस्था फरक छ भनेर सुरक्षित ठानिरहेका छन् । उनीहरूका लागि यो अवस्था एक किसिमको मिडिया ट्रायलको उपज जस्तै देखिएको छ । अहिले केही मिडिया र सामाजिक सञ्जालमा हसिना समर्थक मार्काका नेपाली विचार निर्माताहरू र दुस्प्रचारकहरू फालिम लागेका छन् ।
उनीहरू नेपालमा बंगलादेशको जस्तो भुइँ यथार्थ छैन मात्र भनिरहेका छैनन्, आफ्ना नेताहरूलाई सुनपानी छर्केर चोखा र पवित्र पनि बनाइरहेका छन् । वास्तवमा भन्ने हो भने नेपाली नेताहरू हसिनाभन्दा पनि बढी नै गन्धेबोका जस्ता गन्हाइरहेका छन् । त्यो गन्ध थाहा पाउन उनीहरूको गोठमा हैन, सिरसिरे हावा चल्ने पाखाहरूमा पुग्नुपर्छ । सत्ताको रूघामर्की लागेको नाक हैन, पसिनाको कमाइ खानहेरूको स्वस्थ नाक हुनुपर्छ ।
बिट मार्नुअघि, बंगलादेशमा उठेको आरक्षण आन्दोलनको कुरा गरौँ । हो, बंगलादेशमा फरक खालको आरक्षण थियो । जे थियो, त्यो त्यहाँका लागि विष नै थियो । नेपालमा पनि आरक्षण छ । यो आरक्षण सामाजिक न्याय र सबैको समान सहभागिताका लागि सकारात्मक विभेदका रूपमा आरक्षणको व्यवस्था गरिएको हो । तर, यहाँ त्यसो नभएर सम्बन्धित कलस्टरका तरमाराहरूको लुटतन्त्र भयो ।
बिस्तारै त्यसको बोध यहाँ पनि हुन थालेको छ र विरोधका स्वरहरू सुन्न थालिएका छन् । जबसम्म आरक्षण गरिबिको रेखामुनि रहेका मानिसहरूको पहुँचमा पु¥याइँदैन, तबसम्म यो सामाजिक न्यायको विषय हुन सक्दैन । उल्टै, यो अर्को किसिमको अन्याय र दोहन मात्र हुन्छ ।
बंगलादेशको घटनाबाट समयमै शिक्षा लिने हो भने नेपालको आरक्षणलाई गरिबिको रेखामुनि पुर्याउनुपर्छ र प्रवेश तहमा एकजनालाई एकपटक मात्र आरक्षण दिनुपर्छ । अन्यथा, मेरिटोक्रेसी चिहान भएको देशमा ज्यूँदाजाग्दा प्रतिभाशाली मानिसहरू सधैँभरि शिर निहुराएर बस्दैनन्, बंगलादेशका सचेत युवाजस्तै शिर ठाडो पारेर उठ्नेछन् । त्यतिबेला यो वा त्यो नाममा देउवा–ओली–प्रचण्ड पनि नेपालका हसिना नै हुनेछन् ।