शनिबार, १६ नोभेम्बर २०२४

उताका ओली र यताका ट्रम्प: उस्तै उस्तै हुन् नानू !

News Image
• • •

बिसौँ शताब्दीसम्म पनि वामपन्थी र दक्षिणपन्थी आधारमा राजनीतिक ध्रुवीकरण हुन्थ्यो । मूलतः यो एक किसिमको वैचारिक ध्रुवीकरण थियो तर, समाज पनि त्यही आधारमा ध्रुवीकरण हुन्थ्यो । यसको मूल आधार वर्ग थियो ।

सामान्यतः निम्न र मध्यम वर्गका मानिसहरू वामपन्थी हुन्थे भने उच्च वर्गका मानिसहरू दक्षिणपन्थी हुन्थे । यसको अर्को आयाम धर्म थियो । धेरै धार्मिक मानिसहरू दक्षिणपन्थी हुन्थे, कम धार्मिक मानिसहरू वा धर्ममा विश्वास नगर्ने मानिसहरू वामपन्थी हुन्थे ।

सोच वा दृष्टिकोण अर्को आधार थियो । रूढीवादी, अन्धविश्वासहरू दक्षिणपन्थी हुन्थे भने, प्रगतिशील सोच राख्नेहरू वामपन्थी । यो ध्रुवीकरणलाई राजनीतिक दर्शनले मात्र हैन, साहित्यले पनि सहयोग गर्थ्यो । सामान्यतः यथास्थितिका विरोधीहरू वामपन्थी हुन्थे. आलोचनात्मक चेत यसको एक अनिवार्य अंश थियो। केही अपवादलाई छोडेर वैचारिक ध्रुवीकरणका सामान्य आधार यिनै थिए ।

अहिलेको समाज ध्रुवीकरणका सोलोडोलो आधारहरू भत्किएका छन् । वैचारिक आधारभन्दा पनि क्षेत्रीय र स्थानीयजस्ता गैरवैचारिक आधारहरू बलियो हुँदैछन् । यद्यपि, पछिल्लो ध्रुवीकरणका सबै किसिमका आधारहरूलाई सूत्रबद्ध गर्दा मोटामोटी रूपमा उदार अन्तर्राष्ट्रियतावादी र लोकप्रिय राष्ट्रवादी भन्न सकिने अवस्था देखिँदै छ । खासगरी पछिल्लो युरोपेली राजनीतिक ध्रुवीकरण र अमेरिकामा परेको त्यसको प्रभावलाई हेर्दा यसो भन्न सकिने अवस्था सिर्जना भएको हो ।

नेपाल पनि पछिल्लो समय त्यही किसिमको धुविकरणतिर अगाडि बढिरहेको जस्तो देखिन्छ । यद्यपि, सत्ता स्वार्थ नै केन्द्रमा राखेर हुने यस किसिमका गठबन्धनले त्यस्तो आकार लिने मौका नै दिएका छैनन् । तर, एउटा सत्य कुराचाहिँ के हो भने नेपालमा वामपन्थ शीघ्र स्खलनको बाटोमा छ । वर्ग, सोच, चिन्तन, दृष्टिकोण, दर्शन र साहित्यजस्ता वामपन्थी आधारहरू पुरै भत्किएका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनको मूल तप्का एमाले पूरै रामनामी जप्ने कित्तामा पुगेको छ । यही कित्ताको हालीमुहाली बढ्दै जाँदा छेउका अरू कम्युनिष्टहरू पनि रामनामी प्रतिस्पर्धामा छन् । कुनै समय अरूलाई ब्रुजुवा र पेटी बुर्जुवा भन्नेहरू नै अहिले सबैभन्दा बढी बुर्जुवा र पेटी बुर्जुवा भएका छन् । यो वा त्यो नामका शीर्ष नेतृत्वको स्तुतिगानको खराब परिपाटी बसेको छ ।

नेपालमा सुरुदेखि नै भारतविरोधी राष्ट्रवाद केन्द्रमा छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुर्दावाद भनेपछि राष्ट्रवादी हुने रोगले अझै पनि नेपालको राष्ट्रियता मुक्त हुन सकेको छैन । यो पहाडे राष्ट्रवादले तीन तिरबाट घेरिएको भूपरिवेष्टित नेपालको धरातलीय यथार्थ बुझ्दैन ।

विडम्बना नै भन्नुपर्छ, आफूलाई अन्तर्राष्ट्रियतावादी भन्ने नेपालका कम्युनिष्टहरूले नै सुरुदेखि यसको नेतृत्व लिइरहेका छन् । परिस्थिति कहाँबाट कहाँ पुगिसक्यो, तैपनि उनीहरूको कम्युनिष्ट भोटको रोटी भारतविरोधी राष्ट्रवादको यही तावामा सेकिइरहेको छ । उनीहरूले यसैलाई अर्को रङको लोकरिझ्याइवादको जामा पनि पहिराइ दिएका छन् ।

यसको केन्द्रमा छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । नेपालको संविधानमा भएका अव्यवस्थाका छिद्रहरू र ढाँटको पैँचो खाइपत्याउने नेपाली समाजको मनोदशाको नाडी छामेका ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुनुको पछाडिको मूलकारण पनि यही नै हो ।

नत्र, झुटको पुलिन्दा बनाउने, संविधानको जुँगा उखाल्ने र गँजडी गफमा रमाउने ओली पटकपटक प्रधानमन्त्री हुनुपर्ने कुनै कारण देखिँदैन । आखिर प्रधानमन्त्री केका लागि हुने ? एकपटक हैन, दुई पटक हैन, चार चारपटक ।

त्यो पनि उनी २०७४ मा बाहेक अरू समय संसदमा ठूलो दल भएर पनि प्रधानमन्त्री भएका हैनन् । अझ, यसपटक त उनी १२ घण्टा अगाडि पनि सत्ता साझेदार माओवादी अध्यक्ष तथा प्रचण्डलाई स्वर्ग गए पनि सँगै, जाने नर्क जाँदा पनि सँगै जाने भनिरहेका थिए । यति सफेद झुट बोल्न सक्ने ओली एक ‘प्याथोलोजिकल लायर’ हुन् । यस्तालाई काँधमा बोकेर प्रधानमन्त्री बनाउन कांग्रेस अर्को नालायक हो ।

जनताको त के कुरा भयो र ?, अहिलेको परिस्थिति २०७९ को चुनावमा जनता जनार्दन हुन नसक्दाको परिणाम हो । नेपाली जनता यस्तै ‘प्याथोलोजिकल लायर’ लाई प्रधानमन्त्री बनाएर शासित हुन लायक छन् ।

यो स्तम्भकारले पटकपटक लेखिसकेको छ, ओली अब पात्र मात्र रहेनन्, प्रवृत्ति नै भइसक्यो । यो ओली प्रवृत्ति अब एमालेमा मात्र हैन, नेपालमा बन्सोझैँ सबै पार्टीमा झ्यांगिसकेको छ । आफूलाई मात्र केन्द्रमा राखेर जे पनि गर्ने प्रवृत्ति नै ओली प्रवृत्ति हो ।

यो प्रवृत्तिमा मूल्य, मान्यता, सिद्धान्त, आचरण, नैतिकता केही नै हुँदैन, सत्ता र स्वार्थका लागि सबै नांगा हुन्छन् र उनका कारिन्दाहरू वादशाहको लुगाको महिमामण्डन गर्छन् । अहिले ओलीका लागि शुभकामना भन्ने र उनको महिमा मण्डन गर्ने नैतिकहीन अवसरवादीहरूको लामो पंक्ति देख्दा यति भन्नलाई कुनै आइतबार पर्खनु पर्दैन ।

ओलीले जतिसुकै मिडिया ट्रायल गरेर आफ्नो सत्ता फिर्तीलाई जे जस्ता किसिमका जामा लगाइदिए पनि यसको केन्द्रमा भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी स्टेट प्रकरण नै केन्द्रमा छ । अझ, पक्राउका लागि प्रहरीको हात धेरै नजिक पुगिसकेकी आरजु राणा देउवालाई जोगाउन नै यो हठात् गठबन्धन भएको हो ।

आरजुका देवरहरूले यो सरकार गठनको आधार दिँदा संविधान संशोधन, राष्ट्रिय सहमतिको दुहाई दिउन् वा प्रचण्डको म्याजिक नम्बरको वरिपरि रहेर उनलाई जति नै खुइल्याउन, त्यसको खासै अर्थ छैन । इजार बिनाको त्यो पाइजामा धेरै बेर अडिने छैन, खसेका दिन लाज त देवारहरूलाई हुने हो । श्रीमानका अगाडि त यसै पनि लाज हुने कुरो भएन ।

इतिहास जित्नेकै लेखिने हो । त्यसैले अब यी सबै तपसिलका कुरा हुन् । अहिले जे भए पनि जित्ने सिकन्दर ओली नै हुन् । विरोधी पक्षका कांग्रेस सेनापति नै उनलाई सेनापति बनाएर आफ्नी श्रीमतीलाई जोगाउन लागेको र उनका भाइभारदाहरू त्यसमा ‘नोट अफ डिसेन्ट’ समेत नलेखी निहुरमुन्टी लगाएपछि अहिलेको नेपालको धरातलीय यथार्थ यही हो ।

कामना गरौँ, ओलीको बुद्धि फर्कियोस् र यसपटक ठूला गफ हैन, साना काम गरेर केही योगदान गरून् । तर, यो स्तम्भकारको प्रिय कामना मात्र हो किनभने, ओली बाँसको धिरीमा राखेका बाँदरको बांगो पुच्छर हुन्, चौथोपटक त के सयौँपटक निकाले पनि हुने भनेको बांगोको बांगै नै हो ।

उता ओली, यता ट्रम्प
उता, जन्मदेश नेपालको कुरा जस्तो छ; यता कर्मदेश अमेरिकाको कुरा पनि लगभग उस्तै छ । आखिर राजनीति जहाँ पनि उस्तै रहेछ । संयोग नै भन्नुपर्छ, उता नेपालका ४५औ प्रधानमन्त्री हुन् ओली, यता अमेरिकाका ४५औं राष्ट्रपति हुन् ट्रम्प । पपुलिस्ट राष्ट्रवादका यी ‘नमूनाहरू’का सारा चरित्र उस्तै छन् । तर, यसपटकका घटनाक्रमले टाइमलाइन भने अत्यन्तै फरक बनाइदियो । उता, नेपालमा ओली सत्तारूढ हुँदा यता ट्रम्पको भने झन्डै प्राणपखेरू नै उडाइ दिए ।

पहिला ओली र ट्रम्पका केही समानताहरूको कुरा गरौँ, ओली र ट्रम्प दुवै व्यक्तिवादी र निरंकुश छन् र दुवैले हाइज्याक गरे । ट्रम्पले रिपब्लिकनलाई ट्रम्पकन बनाए । ओलीले एमालेलाई ओमाले । दुवै उग्र राष्ट्रवादको कुरा गर्छन् ।

ओली दशगजामा काँढेतार लगाउनुपर्छ भन्छन् तर महाकाली सन्धि मात्र गर्दैनन्, रातारात ‘र’ प्रमुखलाई बालुवाटारमा रेडकार्पेट पनि ओछ्याउँछन् । यता ट्रम्प मेक्सिको सिमानामा पर्खाल लगाउने कुरा गर्छन् तर आफ्नै कम्पनीहरूमा कागजपत्रविहीन आप्रवासीहरूलाई सस्तो ज्यालामा काम लगाउँछन् । यी दुवैको मुखमा रामराम बगलीमा छुरा छन् । ओली ‘समृद्ध नेपाल सुखी नेपाली’को माला जप्छन्, ट्रम्प ‘मेक अमेरिका ग्रेट अगेन’। तर, यिनीहरू दुवैले केही गर्दैनन् ।

यति मात्र हैन, ह्वाइट हाउस छोड्नुपर्दा ट्रम्पले क्यापिटल हिलमै मागा आक्रमणकारी पठाएर हमला गरे भने ओलीले बालुवाटार छाड्नुपर्दा दुईदुईपटक संसद नै भंग गरिदिए । दुवै झुट बोल्नमा नामुद छन्, एक किसिमले भन्ने हो झुट बोलेर दिउँसै रात पार्छन् भने पनि हुन्छ ।

‘खुत्रुके मामला’मा पनि यी दुवै बदनाम छन् । तर, नेपाली समाजमा खुत्रुके चरित्रका बारेमा धेरै चर्चा हुँदैन,अमेरिकी समाजमा धेरै हुन्छ । सत्ताका लागि यी दुवै जे पनि गर्छन् । ट्रम्पले मूलधारका रिपब्लिकनलाई किनारा लगाए, ओलीले एमालेका मूलधारका नेतालाई ।

यी दुवै त केही समानताका सूचीहरू मात्र हुन् । समनताका अरू पनि थुप्रै सूचीहरू बनाउन सकिन्छ । समय क्रममा ती पनि बन्दै जालान् । राजनीति मूलतः जहाँको पनि उस्तै हो किनकि यसको मूलभूत सिद्धान्त र दर्शन नै एउटै हुन्छ । नेपालमा होस् वा अमेरिकामा प्रजातन्त्र जनताका लागि जनताद्वारा र जनताले भने पनि देखाउने दाँत मात्र हो, चपाउने दाँत भनेको जनतालाई भेडो बनाएर शासन गर्ने नै हो ।

उता, नेपालमा कम्तीमा पनि ओली अरू डेढ वर्षका लागि सत्तारूढ भएका छन् । यता, अमेरिकामा ट्रम्प अरू चार वर्षका लागि ह्वाइट हाउस पुग्न नोभेम्बर ५ मा हुने आमनिर्वाचनका लागि साम, दाम, दण्ड, भेद लगाएर लागेका छन् । अत्यन्त उग्र राष्ट्रवादी भाषण गर्ने ट्रम्प एक किसिमका प्याथोलजिकल लायर मात्र हैन, ३४ अभियोग पुष्टि भएका एक अपराधी पनि हुन् ।

नीलो सिनेमाकी एक नायिकासँग गरेको खुत्रुके कर्तुत बाहिर आउनबाट रोक्न दिएको घुसका लागि उनी दोषी भएका हुन् । कानूनी भाषामा फेलोन भनिने उनी यस्तो बदनाम इतिहास बनाउने अमेरिकाका एक मात्र वहालवाला वा पूर्वराष्ट्रपति हुन् । तर, पनि उनी लोकप्रिय छन् र चुनावी मत सर्वेक्षणमा अगाडि देखिएका छन् ।

यदि, यही अवस्था नोभेम्बर ५ सम्म रह्यो भने ट्रम्प राष्ट्रपति चुनिनेछन् । उनले भनी नै सके, म पहिलो दिनदेखि नै निंरकुश हुनेछु । यसको अर्थ प्रस्ट छ, उनी रूपमा राष्ट्रपति भए पनि सारमा राजा बन्न चाहन्छन् उता ओलीले त विद्या भण्डारी राष्ट्रपति भएको बेला लगभग राजाकै जस्तो अभ्यास गरिसकेकै हुन् ।

रह्यो जनताको कुरा, आखिर एकै समय बाँचिरहेका अहिलेका जनता जहाँका भए पनि एउटै ‘ग्लोबल भिलेज’का बासिन्दा हुन् । यो सबै सबै पपुलिष्ट राष्ट्रवादकै जंकफुड खाने मुडमा देखिन्छन् । आगे समयको ऐनामा हेर्दै जाऊँ, बाँचे देखिन्छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?