बिएल संवाददाता
अमेरिका
नेपालमा कसले सरकार चलाइरहेको छ ? यदि यो प्रश्न सर्वसाधारणलाई सोध्ने हो भने बहुसंख्यकको उत्तर हुनेछ– केपी शर्मा ओलीले । हुन पनि हो, ओलीले पर्दापछाडिबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार चलाइरहेका छन् । ओली जे चाहन्छन्, प्रचण्ड त्यही गरिरहेका छन् ।
हुँदाहुँदा दाहाल यस्तो स्थितितिर धकेलिँदै छन् छन् कि कुनै दिन ओलीले प्रचण्डलाई निष्कासनको कागजमा सही गर भने पनि उनी गर्न बाध्य हुनेछन्, यसमा कुनै अचम्म मान्नुपर्ने छैन । वास्तवमा भन्ने हो, यो सरकारको चपाउने दाँत ओली हुन् भने प्रचण्ड त केवल देखाउने दात मात्र हुन् ।
ओली प्रवृत्ति समकालीन नेपाली राजनीतिको मूल प्रवृत्ति हो । यो प्रवृत्ति भनेको भरसक आफू सरकार चलाउने यदि, सकिएन भने अरूलाई पनि शान्तिका साथ सरकार चलाउन नदिने हो । यसो गर्दा लोकतन्त्र र देश भाँडमा जान्छ भने पनि जाओस् ।
यो प्रवृत्तिका जनक हुन् ओली । अहिले ओली सरकारमा नाम मात्रको सहभागी छन् । उनको अहिलेको रणनीति भनेको सरकारलाई सहजतापूर्वक चल्न नदिने र आफ्नो महत्त्व स्थापित गर्ने हो ।
मोर्चामाथि प्रहार
ओली अहिले यही रणनीतिअनुसार प्रचण्डको काँधमा बन्दुक राखेर सबैतिर निशाना लगाइरहेका छन् । उनको पहिलो निशाना समाजवादी मोर्चा थियो । एमाले बाहेकका सबै वामपन्थी घटकहरू सम्मिलित यो मोर्चा ।
प्रचण्डलाई सत्तामा पु¥याउने निर्णायक शक्ति पनि थियो । यो मोर्चामा ५४ सांसद थिए र प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफैँमा यो एक निर्णायक संख्या थियो । र, प्रचण्ड प्रधानमन्त्री नहुँदा पनि यही मोर्चाको अर्को कोही प्रधानमन्त्री बन्न सक्ने अवस्था थियो । माधव नेपाल त रोल क्रममै थिए, उपेन्द्र यादवका रूपमा नेपालले पहिलो मधेसी मूलको प्रधानमन्त्री पाउन सक्ने अवस्था पनि थियो ।
यसो गर्दा ओलीको प्रधानमन्त्री हुने सम्भावना मात्र सकिँदैनथ्यो, उनले दाबी गरेअनुसार एमालेको मिसन ८४ पनि सोम शर्माको सपनाजस्तै मात्र हुन्थ्यो । त्यसैले उनले प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री हुन दिने भन्ने दुधेघाँस देखाएर बालकोटको टाट्नामा ल्याएर बाँधे । टाट्नामा बाँधेपछि अब ओली प्रचण्डलाई एकाएक गरेर सुकेको पराल हैन, विषालु घाँस खुवाइरहेका छन् ।
नेपाल समाजवादी पार्टीको विघटन प्रचण्डलाई काखमा राखेर खुवाइएको विषको पहिलो मुठो घाँस थियो । यो विषले उपेन्द्र त प्यारालाइसिस भए नै, उनले अब प्रचण्डलाई कहिल्यै विश्वास गर्ने अवस्था पनि नबन्ने भयो ।
यसबाट बेफाइदा समाजवादी मोर्चालाई नै भयो । फाइदा भयो भने त्यो एकलौटी रूपमा ओलीलाई मात्र भयो । अब ओलीले उपेन्द्रबाट उछिट्टिएका सात सांसदलाई ढिलो चाँडो एमालेमा विलय गराउनेछन् । यसपछि संसदमा ओली पार्टीका ८५ सांसद पुग्छन् ।
ओलीलाई संसदमा सबैभन्दा ठूलो दल बन्न ९० सांसद चाहिएको हो । त्यो संख्यामा अझै पाँच कम भएकाले उनले दोस्रो घाँसको मुठो माधव नेपालको नेकपा एकीकृत समाजवादीतिर तेर्स्याउँछन् ।
यो दलका १० मध्ये पाँच सांसद अहिले नै ओलीको घाँसको मुठ्ठोतिर मुन्टो फर्काइसकेका छन् । त्यो संख्यालाई एमालेमा मिसाउन क्याविनेटले ४०–४० प्रतिशतको गाँठो फुकाउनुपर्ने हुन्छ । त्यसका लागि उनले प्रधानमन्त्री भनेर टाट्टामा बाँधेका प्रचण्डलाई प्रयोग गर्छन् ।
यदि उनले मानेनन् भने त्यसपछि घाँसको मुठो प्रचण्डकै माओवादीतिर तेर्स्याउने छन् । अहिले नै माओवादीका ३२ मध्ये केहीले सांसद ओलीको घाँसको मुठोतिर मुन्टो फर्काइसकेको बताइन्छ ।
जब ओलीको एमालेमा ९० सांसद पुग्छन्, त्यसपछि ओली संसद्को सबैभन्दा ठूलो संसदीय दलको नेता हुन्छन् । त्यसपछि प्रचण्डको उपयोगिता सकिने छ । एकातिर टेक्ने समाजवादी मोर्चा विघटन भैसकेको हुनेछ भने अर्कोतिर समाउने कांग्रेस पनि बिच्किसकेको हुने छ । यो सँगै प्रचण्डले ओलीसामु निहुरमुन्टी न लगाउनुको विकल्प हुँदैन । बढीमा उनी माओवादी एमालेमा विलय गराएर बढीमा आफूलगायत ५–७जना आफन्तलाई सूर्य छाप टिकट लिएर बस्ने हैसियतमा पुग्नेछन् ।
ओलीले यही बीचमा रवि र गगनलाई आमनेसामने बनाए । यही क्रममा रविलाई सहकारीमा नांगेझार बनाइदिए । एक किसिमले भन्ने हो रविलाई नै सिध्याइदिए । रवि सिद्धिनु भनेको रास्वपा सिद्धिनु हो । र, अझ भन्ने हो भने ‘नयाँ’ नै सिद्धिनु हो ।
अब लगभग नयाँ र पुरानो उस्तै उस्तै हो नानू भन्ने भाष्य निर्माण हुन थालेको छ । ओलीले मिसन ८४ भनेर मुख मिठ्याइरहेका रवि र उनको मण्डलीको नारा पनि खोसेर लिए, उनीहरूलाई सिद्ध्याइ पनि दिए ।
यति भएपछि ओली संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मात्र हुँदैनन्, बाँकी कसैले पनि संसदमा बहुमत सिद्ध गर्ने अवस्था पनि छोड्दैनन् । यसपछि ओली संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री हुन्छन् र विश्वासको मत नपाएको बहानामा केही समयपछि नै देशमा मध्यावधि चुनाव घोषणा गर्छन् ।
मध्यावधि अन्तिम गोल
ओलीको मिसन मध्यावधि हो । उनी यसअघि दुई दुई पटक गरेको पुरानो मध्यावधि चुनावको सिफारिस सही थियो र उनको विरुद्ध बनेको गठबन्धन गलत थियो भन्ने प्रमाणित गर्न चाहन्छन् ।
मध्यावधि घोषणा हुनुअघि उनी सबै दललाई कलमी काटेर ठुटो बनाउन मात्र चाहँदैनन्, उनीहरूलाई गठबन्धन बनाउनै नसक्ने स्थितिमा पु¥याउन पनि चाहन्छन् । यति भएपछि एमालेले चुनाव जित्छ भन्ने उनको अंकगणित छ । इलाम र बझाङको उपनिर्वाचनको परिणामले उनी हौसिएका छन् ।
के नेपालका लागि मध्यावधि सही कदम हो? अहिलेको मिश्रित निर्वाचन प्रणाली रहेसम्म न आवधिक निर्वाचन समाधान हो न मध्यावधि निर्वाचन । राजनीतिक नेता र दलहरूको विश्वसनीयता खरानी भएको यो बेला जतिसुकै पटक चुनाव गरे पनि कुनै पनि दलको एकल बहुमत आउने अवस्था छैन ।
चुनाव अघि गर कि पछि, तालमेल वा गठबन्धन जे नाम दिए पनि त्यो नगरी अर्को उपाय नै छैन । नेपालको वर्तमान संविधानपछि सम्पन्न दुई आवधिक चुनावले यही निष्कर्ष दिएका छन् । अब देशका सामु राजनीतिक स्थायित्वका लागि दुई वटा मात्र विकल्प छन् कि संविधान संशोधन गरेर निर्वाचन पद्धति नै परिवर्तन गर्ने कि स्वस्थ गठबन्धन संस्कृतिलाई बढवा दिने ।
समयले नेपाललाई फेरि एकपटक केन्द्रमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री वा प्रदेश प्रमुखको निर्वाचन पद्धतिमा जानुपर्ने परिस्थितितिर धकेल्दै छ ।
यही क्रममा सांसदको संख्या घटाउने, सांसद मन्त्री हुन नपाउनेलगायतका थुप्रै संशोधन गर्नुपर्ने पनि समयको संकेत मिलिसकेको छ । तर, दुर्भाग्य आफ्नो पेटी स्वार्थमा अल्झिएका लोभीपापीहरू त्यस दिशामा लाग्लान् भनेर कल्पना पनि गर्न सकिने अवस्था छैन ।
ओली प्रवृत्ति
देशले खोजेका यी तमाम प्रश्नहरूको उत्तर खोज्न हलो अड्काउने व्यक्ति के पी ओली नै हुन् । ओली नेपालको वामपन्थी आन्दोलनका त भस्मासुर भए नै, देशका लागि पनि ठूलो समस्या हुन् । उनलाई जे गरे पनि नेपाली जनताले धर पाउँदैनन् । सत्तामा पुर्यायो संसद् नै विघटन गरिदिन्छन्, सत्ता बाहिर राख्यो अनेक तिकडम गरेर सरकार नै अस्थिर बनाइदिन्छन् ।
अब त ओली पात्र मात्र रहेनन्, प्रवृत्तिकै रूपमा झ्यांगिसके । यो प्रवृत्तिले एमाले पनि ओमाले भइसक्यो । अब त्यो पार्टीमा ओलीको फर्मान चल्छ, बाँकी सबै उनको फर्मानलाई कागजी वैधानिकता दिने कुर्मानेहरू मात्रै हुन् ।
यसैबीच नेपालमा सत्ता नै सबै चिज हो भन्ने भाष्य यथार्थमा परिणत भैसकेको छ । राजनीति सिद्धान्त तथा मूल्य र मान्यताभन्दा पनि तल गिरेर कमाऊ धन्दा भएको छ । त्यसका लागि चुनाव जित्न अनिवार्य छ । चुनाव ठूलो दल, मसल र मनीबाट मात्र जित्न सकिन्छ ।
त्यसैले अब सानो दलमा रहेर मूल्य र मान्यताको राजनीति गर्ने जाँगर लगभग सबैसँग सकिएको छ । यसले स्वभावतः ठूला दलतिर राजनीतिको सियो तेर्सिएको छ । राजनीतिक ध्रुवीकरणका कोणबाट हेर्दा यो राम्रो भए पनि मूल्य र मान्यता स्खलित हुँदा त्यसले देश र जनताका लागि सुखद परिणाम दिन सक्दैन ।
अब प्रश्न उठ्छ, देशका सामु तत्कालका लागि कुनै सही राजनीतिक मार्ग छैन त ? मार्ग नै नहुने भन्ने त हुँदैन । तर, अहिलेको संसदमा जुन किसिमको राजनीतिक दलको उपस्थिति र अंकगणित छ र अहिलेसम्म जे जस्ता किसिमका गठबन्धनका सरकार बने त्यसलाई हेर्ने हो भने देशका सामु २०८४को आमचुनावसम्म पु¥याउने राजनीतिक मार्गका विकल्प सीमित हुँदै गएका छन् ।
नेपाली जनता २०७९ को आमचुनावमै नराम्ररी भड्केर गलत निर्णय दिइसकेका छन् । पाँच वर्षमा एकपटक मात्र प्रयोग गर्न पाउने लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण औजार आमचुनावलाई वदला लिने मनमौजी हतियार बनाएपछि जनताको जीत हुने कुरै हुँदैन । नेपाली जनताले हरेक चुनावलाई आफैँ हार्ने यस्तै उन्मादी अवसर बनाउँदै आएका छन् । बदला, निराशा, कुण्ठाले ग्रस्त भएर मतदान गर्ने जनता कहिल्यै जनार्दन हुन सक्दैनन् । २०७९ को आमचुनाव पनि नेपाली जनता जनार्दन नभएको एक विर्सनलायक परिघटना नै हो ।
जस्ता नेता उस्तै जनता
जनता जस्ता हुन्छन्, उनीहरूले नेता पनि त्यस्तै पाउने हुन् । अहिले नेपाली जनताले जे जस्ता नेता पाएका छन्, उनीहरूले आफू अनुसारकै नेता पाएका हुन् । यी नेता भनाउँदाहरूले एक वर्षमै धेरै चर्तिकला देखाइसकेका छन् ।
अझै २०८४ को आमचुनाव आउन लगभग तीन वर्ष बाँकी छ । आउने यी चार वर्षमा नेपाली जनता अरू पनि धेरै कुराहरू हेर्न, देख्न र भोग्न तयार हुनुपर्छ । किनकि, उनीहरूले यो मौसममा जलकुम्भी रोपेका छन् । जलकुम्भी रोपेर कमल फुलाउन सकिँदैन ।
अब प्रश्न उठ्छ, अबको नेपालको राजनीति कता जाला ? अहिलेसम्मको खेल हेर्दा नेपाल ओलीकै मध्यावधिको रोडम्यापतिर जाला जस्तो छ । सत्ताको लोभमा फसेर लगभग सबै बालकोटको टाट्नामा पुगिसकेका छन् ।
अबको पालो भनेको ओलीले पालैपालो छानी–छानी मार हान्ने मात्र हो । प्रश्न को पहिला र को पछि मारमा पर्ने भन्ने मात्र हो । अहिलेसम्म उनको प्रत्यक्ष मारमा उपेन्द्र यादव र उनको पाटी जसपा नेपाल परेको छ भने अप्रत्यक्ष मारमा प्रचण्ड र रवि परिसकेका छन् ।
सम्भवतः अबको पालो भनेको माधव नेपाल र नेकपा एसको हो । तर, प्रचण्डले अझै पनि बुझे भने केपीको कोतपर्व टर्न सक्छ । यद्यपि, उनी धेरै अगाडि बढेर बालकोटको टाट्नोमा बाँधिइसकेका छन् । अब फुकेर बाहिरिन त्यति सजिलो छैन ।
तैपनि, श्वास रहुञ्जेल आस हुन्छ नै । कामना गरौँ, अब थप मारमा नचढुन्, केपीको कोतपर्वको पटाक्षेप होस् । र, नेपालको राजनीति अरू भण्डारखालमा नपरोस् । नेपाल समृद्ध होस्, नेपाली सुखी हुन् । बाँकी त समयको ऐनामा हेर्ने हो, हेर्दै जाऔँ– बाँचे देखिन्छ ।