शनिबार, १६ नोभेम्बर २०२४

नेकपाको हीरक जयन्ती र समयको सन्देश

News Image
• • •

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको २००६ सालमा हो । त्यसयता ७५ वर्ष बितिसकेका छन् । यो अवधिमा विश्व कम्युनिष्ट आन्दोलनमा अनेक उथलपुथल भएका छन् । त्यसको स्वाभाविक प्रभाव नेपालमा पनि परेको छ ।

जहानियाँ राणा शासनकालको अत्यन्त प्रतिकूल स्थितिमा एउटा अँध्यारो कोठामा स्थापित भएको थियो, नेपाल कम्युनिष्ट पार्टी । अहिले यो अनेकौँ आरोह अवरोह छिचोल्दै गणतन्त्रको फराकिलो आँगनसम्म आइपुगेको छ । यस बिचमा संख्यात्मक रूपमा कम्युनिष्ट नामका अनेक पार्टी अस्तित्वमा छन्, शुभेच्छुक र सदस्य पनि बढेका छन् । यो देशले कम्युनिष्ट नामकै ६ थान प्रधानमन्त्री र एक थान राष्ट्रपति पनि पाइसकेको छ ।

संविधान सभाको अध्यक्ष, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाको अध्यक्षजस्ता राज्यका महत्त्वपूर्ण पदमा पनि कम्युनिष्ट पृष्ठभूमिका व्यक्तित्वहरू पुगिसके । मन्त्री भएका कम्युनिष्ट त सय हैन, प्रदेशतिरका पनि जोड्ने हो भने हजार भइसके होलान् । नेपाली कम्युनिष्टका स्थायी शत्रु भनिने ‘बिस्तारवादी’ भारतदेखि ‘साम्राज्यवादी’ अमेरिकासम्म कम्युनिष्ट पृष्ठभूमिकै नेपाली राजदूत पनि पटकपटक नियुक्त भइसके ।

धेरै कम्युनिष्ट नेता र कार्यकर्ताको वर्ग उत्थान भइसक्यो । उनीहरू गरिबबाट धनी भइसके । पहिला उनीहरूले भन्ने गरेका पेटी बुर्जुवा, दलाल पुँजीपतिलगायतमा पदावली अब उनीहरूकै लागि भइसके । नातावाद, कृपावाद के के भन्थे, ती सबै उनीहरूकै घर परिवारमा झ्याङ्गिसके । उनीहरूका ख्याउटे अनुहार पुरिएर सुकिला मुकिला भइसके ।

ओली कम्युनिष्ट आन्दोलनको एक दूरदर्शी नेता र वफादार सिपाही हुने हो भने उनले वाम एकताका लागि पहल गर्नैपर्छ । त्यसको पहिलो सर्त भनेकै वाम गठबन्धनलाई जोगाएर अगाडि बढ्नु हो । यदि, यो दुर्घटनामा प¥यो भने त्यो ओलीकै कारणले पर्छ र त्यसपछि वाम एकताको च्याप्टर सधैँका लागि बन्द हुन्छ ।

उनीहरूकै भाषामा भन्दा सिद्धान्त, मूल्य, मान्यता सबै स्खलित भए । सांस्कृतिक रूपमा पतित भएर अन्ततः उनीहरू पनि खशीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने पसलका खाँटी साहूजी भए । यी सबैलाई जोडेर समग्रमा भन्दा उनीहरू शासित हैन, शासक भए । एकपटक हैन, पटकपटक भए ।


चुनिएका केही कम्युनिष्ट नेता–कार्यकर्ताको यी व्यक्तिगत उपलब्धिलाई नै ‘कम्युनिष्ट–उपलब्धि’ मान्ने हो भने नेपालमा कम्युनिष्टले हासिल गर्न अब केही नै बाँकी छैन । तर, प्रश्न उठ्छ २००६ सालमा यो पार्टी स्थापना गर्दा यसले तय गरेका उद्देश्यहरू हासिल भए त ? गरिब, सर्वहारा, श्रमिक नेपाली जनताका लागि सुनौलो घाम उदायो त ? सबै खालका असमानताका डिलहरू भत्किएर वर्गीय खाडल पुरियो त ? यो पार्टी कम्युनिस्टहरूले दाबी गर्ने गरेका सिद्धान्त, मूल्य र मान्यतामा दह्रो उत्रियो त ?

यी सबै प्रश्नहरूको एकमुष्ट उत्तर खोज्ने हो भने कहीँ कतै सकारात्मक उत्तर भेटिँदैन । र, यही तौरतरिकालाई नै कम्युनिष्ट तौरतरिका भन्ने हो भने त बेग्लै कुरा, हैन यो बुर्जुवा तौरतरिका भयो भन्ने हो भने, अबको केही वर्षपछि साँच्चैका कम्युनिष्ट ओढारतिर वा संग्रहालयतिर खोज्न जानुपर्ने हुन्छ । तर, दुर्भाग्य, यही गति र मति हुने हो भने त्यतातिर पनि कम्युनिष्टको सातोपुत्लो नभेटिने सम्भावना छ ।

आज जो जो कम्युनिष्ट पार्टीको नेतृत्वमा छन्, नेपालको सन्दर्भमा भन्ने हो भने यो कम्युनिष्ट नेतृत्वको दोस्रो पुस्ता मात्र हो । तर, एक पुस्ताबाट अर्को पुस्तामा आइपुग्दै नेपाली कम्युनिष्टहरूको रूप मात्रै हैन, सार नै फेरिएको छ । यही पुस्ताले वर्गविहीन समाजको कल्पना कोरा कल्पनामा परिणत गरेको छ । आफू वर्गीय ढिस्को उक्लेर बाँकीलाई क्षेत्रीय, लिंगीय, जातीयलगायतका गैरकम्युनिष्ट वर्गीकरणको भुलभुलाइमा पारिएको छ ।

यी तमाम दृश्यहरूलाई हेर्दा अहिलेका कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै नेपाली कम्युनिष्ट आन्दोलनका घाटे हुन् भने कार्यकर्ता खाँटी मलामी । नेतालाई बिगार्ने आलोचनात्मक चेत हराएका कम्युनिष्ट कार्यकर्ता भनाउँदाहरूले अकालमै कम्युनिजम मारेर ‘रातो लास’ घाटतिर लगिरहेका छन् । उता, नेताहरू बाँसका भाला तिखारेर दाहसंस्कारका लागि तम्तयार छन् । यो दृश्य हेरेर गरिब तप्काका नेपालीहरू स्तब्ध छन् । कम्युनिष्ट विरोधीहरू तिघ्रा पड्काउँदै अट्टहास हाँसिरहेका छन् ।

हुन त यो एक किसिमको कल्पनातीत दृश्य जस्तो लाग्छ । तर, समय क्रममा यो सपाट दृश्य धेरै टाढा छैन । हामी बाँचेकै समयमा हामी यो दृश्य देख्ने छौं । दुःख यसमा लाग्ने छ कि त्यतिबेला पनि नेपालमा गरिब जनताकै बाहुल्य रहने छ । जबकि, उनीहरूको वर्ग उत्थान गर्ने भनिएको कम्युनिष्ट पार्टीको भने दाहसंस्कार भैसकेको हुने छ ।

नेपालमा अझै पनि नेकपा एमाले नै ठूलो कम्युनिष्ट पार्टी हो । यसको मूल नेतृत्व कवाडी भए पनि यस पार्टीको ठूलो कार्यकर्ता पंक्ति र समर्थकहरू अझै पनि साँच्चै नै कम्युनिष्ट मनका असल मानिस छन् । तर, समय क्रममा उनीहरू यति कमजोर मनस्थितिमा पु¥याइ सकिए कि उनीहरूको प्यारो कम्युनिष्ट पार्टी एमाले दक्षिणपन्थी पहिरोले पुर्दै गर्दा पनि केही गर्न सक्ने अवस्थामा छैनन् ।

रमिता हेर्नुपरिरहेको कठिनतम् पीडाबोधमा छन् । यस बीचमा कयौँले पार्टी छोडे । कयौँ विदेशतिर लागे । कयौँ नयाँ चटकहरूले पो पार लगाइहाल्लान् कि भनेर त्यतातिर पनि लागे । तर, पनि केही भइरहेको छैन । समग्रमा उनीहरू हतास, निराश र कुण्ठित छन् । एक किसिमले भन्ने हो भने उपायविहीन छन् ।

यही एमाले नेपाल कम्युनिष्ट पार्टीको हीरक जयन्ती मनाइरहेको छ । राम्रो कुरा हो यो । तर, के का लागि हीरक जयन्ती ? के को खुसीयालीमा हीरक जयन्ती ? यो उत्सव मनाउनका लागि एमालेसँग बाँड्नका लागि के छन् उपलब्धि ? एकपछि अर्को गरेर अनेक प्रश्नहरू फालिम लागेका छन् । तर, पनि ती सबै प्रश्नहरूको कुनै बस्तुनिष्ठ उत्तर छैन । हो, ओलीसँग अनेक ओठे जवाफ छन् तर ती कुनै पनि सही उत्तरको मापदण्डमा पर्दैनन् ।

यही प्रसङ्गमा एमालेले गरेको राष्ट्रिय परिषद् भेलाको चर्चा गरौँ । देशभरका सयौँ अगुवा नेता–कार्यकर्ताको यो जम्बोरीमा पार्टी अध्यक्ष ओलीले वाम एकता र समाजवादी मोर्चाको अवधारणालाई सिधै अस्वीकार गरे । जबकि, नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउने हो भने अब वाम एकताको विकल्प नै छैन ।

भएभरका कम्युनिष्ट सटर बन्द गरेर एउटै कम्युनिष्ट पार्टी बनाउन समाजवादी मोर्चा, वाम मोर्चा जे जे हुन्छ, सबै बनाएर अगाडि बढ्नुपर्ने स्थिति छ । तर, ओली यो भुइँसत्यलाई स्विकार्न तयार छैनन्, बरु उल्टै कालिदास प्रवृत्तिमै रमाउन चाहिरहेका छन् । उनका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल त खुलेआम कांग्रेस–एमालेको आलोपालो सरकार बनाउनुपर्ने वाला छन् । अनि, भेलाको अन्त्यमा एउटा पाठ सार्वजनिक गरियो, ‘सरकार टिकाउन गठबन्धनका सबै दल जिम्मेवार हुनुपर्छ ।‘

यो घोषणाको सोझो पाठ हो, जसरी भए पनि यो गठबन्धन टिकाइ दिनु पर्छ । किनकि, यो गठबन्धन टिक्यो भने प्रचण्डपछि ओली प्रधानमन्त्री हुने हुन् । उनलाई प्रधानमन्त्रीको कुर्सीमै बसेर २०८४ को चुनाव गराउनु छ र त्यो चुनावमा साम,दाम,दण्ड, भेद जे–जे लगाएर भए पनि मिसन ८४ पूरा गर्नु छ ।

तर, त्यसका लागि ओली केही गर्न नपर्ने ठान्छन् । उल्टै, वामपन्थी दलहरूको बाहुल्यतामा बनेको गठबन्धनलाई तुहाउन वाम एकता र समाजवादी मोर्चाको अवधारणा नै ठाडै अस्वीकार गर्छन् । यस्तो अवस्थामा त कसरी गठबन्धन जोगिन्छ र ओली संसद्को यो कार्यकालको अन्तिम दुई वर्ष प्रधानमन्त्री हुन सक्छन् ? जे को बीउ लगाइन्छ, फल्ने त त्यही हो । अहिले फापर छरिरहेका ओली धान फलाउने कुरा गरिरहेका छन् । यस्तो पनि होला र ?

ओलीको यो व्यवहार उनी र उनको बा’माले पार्टीका लागि त अहितकर छ नै, नेपालको कम्युनिष्ट आन्दोलनकै लागि पनि घातक छ । यो सत्य बुझ्न कुनै ठूलो विद्वान वा नेता हुनै पर्दैन ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हे¥यो भने जो कोहीले पनि सजिलै बुझ्न सक्छ । तर, ओली यो तथ्यलाई बुझ्न चाहिरहेकै छैनन् वा बुझेर पनि बुझ पचाइरहेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको निर्णायक ठाउँमा रहेका उनले अनेक पटक मौका पाएर पनि गुमाएका छन् ।

तर, जे भए पनि ओलीसँगै नेपाली कम्युनिष्ट पार्टीको धुकधुकी छ । यसलाई प्राण प्रतिष्ठा गर्न सक्ने भनेको उनले नै हो । यदि, ओली दूरदर्शी हुने हो र साँच्चैकै कम्युनिष्ट आन्दोलनको एक वफादार सिपाही हुने हो भने उनले वाम एकताका लागि मार्ग प्रशस्त गर्नैपर्छ ।

त्यसका लागि अहिले सरकार बनाएको वाम गठबन्धनलाई जसरी भए पनि जोगाएर अगाडि बढ्नुपर्छ । यदि, यो दुर्घटनामा प¥यो भने त्यो ओलीकै कारणले हुन्छ र त्यसपछि नेपालमा वाम एकताको च्याप्टर सधैँका लागि बन्द हुन्छ । यसपछि कसैले त्यो प्रयास ग¥यो भने पनि त्यो धेरै ढिलो भैसकेको हुनेछ ।

नेपालमा वाम एकता कम्युनिष्टको अस्तित्व बचाएर उनीहरूलाई दह्रो बनाउन मात्र आवश्यक छैन, यो देशलाई वैचारिक आधारमा दुई दलीय ध्रुवीकरणमा लैजान पनि त्यतिकै जरुरी छ । यदि वामपन्थी ध्रुवीकरण भयो भने दक्षिणपन्थी ध्रुवीकरण पनि स्वतः हुन्छ । त्यसो भयो भने नेपाल वैचारिक आधारमा दुई दलीय ध्रुवीकरणमा जान्छ । नेपाल समृद्ध र नेपाली सुखी हुने यही राजनीतिक बाटो मात्रै हो ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको यो बेला यो दिशामा देशलाई लैजान आआफ्नो ठाउँबाट सत्कर्म गर्न सबै कम्युनिष्ट नेता–कार्यकर्तालाई सद्बुद्धि प्राप्त होस् । त्यसमा पनि ओलीलाई त ‘सद्बुद्धि’को बुट्टी अनिवार्य मात्र हैन, अपरिहार्य नै छ ।

त्यसो भयो भने एकातिर नेपालमा कम्युनिष्ट पनि केही समयका लागि ‘वामपन्थी’ भएर बाँच्न पाउँछन्, अर्कोतिर कांग्रेस नामको दक्षिणपन्थी शक्ति बन्ने बाध्यता पनि सिर्जना हुन्छ । त्यो परिस्थितिले अन्ततः देशलाई नयाँ नामका ऐजेरू फाल्दै वैचारिक आधारमा दुई दलीय ध्रुवीकरणमा लैजान्छ । नेपाल र नेपालीको समृद्धिको राजमार्ग नै यही हो, योभन्दा अरू कुनै हुनै सक्दैन ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?