बिएल संवाददाता
अमेरिका
‘नाई, मलाई त्यही केटी चाहिन्छ…’, कुनैबेला नेपालमा प्रकाश पौडेलको यो जिद्दीवाला गीत चर्चित थियो । त्यसयता धेरै समय बितिसक्यो । धेरैले यो गीत नै बिर्सी सके, गायकको नाम त सम्झने कुरै भएन । तर, पनि यो गीतको सान्दर्भिकता भने नेपालमा सधैँ भइरहेकै हुन्छ ।
कुनै जिद्दीवाल पात्र र प्रवृत्तिको उदाहरण दिनु प¥यो भने मानिसहरू यो गीत सम्झिहाल्छन् । प्रसङ्ग रवि लामिछानेको हो । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र देशको उपप्रधान तथा गृहमन्त्री हुन् ।
दलका रूपमा उनको दल देशकै चौथो ठूलो दल हो । सरकारको वरियतामा पनि उनी चौथो नम्बरमै छन् । प्रधानमन्त्री प्रचण्डपछाडि दुई उपप्रधानमन्त्री महासेठ र श्रेष्ठ छन्, त्यसपछिको रोलक्रम उनकै हो ।
यो संसद्को सुरुवाती दिनमै गठित प्रचण्ड सरकारमा गृहमन्त्रालय लिएर उपप्रधानमन्त्री भएका उनी बिनानेपाली नागरिकता रास्वपा सभापति, सांसद हुँदै गृहमन्त्रालयको कमान्ड सम्हाल्ने उपप्रधानमन्त्री भए ।
देशको सिङ्गो कानुनी व्यवस्थालाई पूरै छलेर एक किसिमका जादु नै गरे भने पनि हुन्छ । तर, यी जादुवालको सक्कली अनुहार सर्वोच्च अदालतले देखाइ दियो । त्यसपछि, उनी पुनः नेपाली नागरिक हुनुपर्ने परिस्थिति सिर्जना भयो । यस क्रममा उनी बुमर्याङमा परे र सबै गुमाए ।
यही बीचमा त्रिशङ्कु संसद्को अंकगणित बुझिसकेका थिए उनले । उनी ओली बा र नानीको बा दुवैको गुड बुकमा परिसकेका थिए । उनकै लागि तुरुन्तै उपचुनाव गरियो । लोक रिझ्याइँका यी वाचाल खेलाडी नेपाली नागरिककै रूपमा उपचुनाव जितेर आए ।
चुनाव जितेपछि उनले फेरि पुरानै गृहमन्त्रालयको कमान्डसहित उपप्रधानमन्त्रीको माग राखे । त्यसका लागि अनेक निन्जा टेक्निक पनि लगाए । तर, यस बीचमा उनको अर्को कर्तुत सार्वजनिक भयो । उनले अमेरिकी राहदानी राखेर पुरानै नेपाली नागरिकताबाट नेपाली राहदानी पनि लिएका रहेछन् । प्रहरीले यसको छानबिन गरिरहेकोले उनलाई स्वार्थ बाझिने मन्त्रालयमा ल्याउन नहुने मनस्थितिमा प्रचण्ड पुगे ।
तर, यसको सट्टा प्रचण्डले उनीविरूद्ध दोहोरो राहदानीको मुद्दा नचलाउने निर्णय गरेर अभयदान दिए । त्यो अभयदान रविको गर्दनमाथि झुण्ड्याइएको तरवारजस्तै हो । यो तथ्य बुझेका रवि त्यो तरबार झर्नबाट रोक्न प्रचण्डसँग गोप्य मन्त्रणामै रहिरहे । त्यसैको पटाक्षेप हो, प्रचण्डले गठबन्धन फेर्दा रविले थापिदिएको काँध । यो काँध थापिदिए बापत फेरि उनले पुरानै गृहमन्त्रालयकै जिद्दी दोहो¥याए ।
वास्तवमा यो जिद्दी प्रकाश पौडेलको ‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतभन्दा कुनै पनि मानेमा कम थिएन । आखिर रविलाई किन गृहमन्त्रालय नै चाहिएको हो ?, उनी किन त्यसका लागि यति मरिहत्ते गरेर लागे । नानीका बा भनेर प्रचण्डलाई धारे हात लगाउने रवि किन उनै नानीको बाको हातमा लागेको फोहर सफा गरिदिन तयार भए ? प्रश्नहरूको लामो सूची बन्छ ।
तर, जति नै प्रश्नहरूको लम्बेतान सूची बने पनि उत्तरका लागि भने धेरै सोचविचार गर्नै पर्दैन । सरकारले चाहने हो भने रवि कुनै पनि बेला पक्राउ पर्न सक्छन् । उनले अमेरिकी नागरिक भएकै बेला नेपालको पुरानो नागरिकता प्रयोग गरेर यति धेरै गैरकानूनी काम गरेका छन् कि उनलाई पक्राउ गर्ने कुनै अनुसन्धान नै गर्नु पर्दैन। दोहोरो राहदानी त छँदै छ, सहकारीको सदस्य नै नभई त्यसबाट पैसा झिकेर गोरखा मिडिया नेटवर्कको १५ प्रतिशत सेयर लिएका छन् ।
अमेरिकी नागरिक भएकै बेला नेपाली नागरिककै रूपमा बैंक खाता खोलेका छन्, कम्पनी खोलेका छन्, व्यापार व्यवसाय गरेका छन्, श्रीमतीसँग पारपाचुके गरेका छन्, नयाँ श्रीमतीसँग विवाह दर्ता गरेका छन् । के गरेका छन् भन्दा पनि के गरेका छैनन् भन्ने अवस्था छ ।
यीमध्ये कुनै पनि एक गैरकानूनी काम सर्वसाधारण नेपालीले गरेको भए यतिबेला ऊ जेलको चिसो छिँडीमा सडिसकेको हुन्थ्यो । तर, त्रिशङ्कु संसदमा २१ सांसदसहित देशको चौथो ठूलो दलको सभापति भएकै कारण उनी जेल जाने त कुरै छोडौँ, त्यही जेलको विभागीय मन्त्री भएर सलाम खाइरहेका छन् ।
उनलाई यो अभयदान दिन सत्ताका लागि जे पनि गर्ने नेपालका तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका सुप्रिमोहरू तछाँडमछाँड गरिरहेका छन् । यो संसद्को कार्यकालको एक वर्ष नबित्दै यी तमाम दृश्य मञ्चन भइसकेका छन् ।
तर, जे भए पनि रविको समस्या घट्ने वाला छैन । किनकि, उनको विगत अत्यन्तै विवादास्पद छ । विवादास्पद व्यक्तिको निजी जीवन येनकेन चले पनि सार्वजनिक जीवन चल्नै सक्दैन । केही समयका लागि चलेजस्तो भए पनि त्यो टिकाउ हुँदैन; प्रकारान्तरमा ‘पुनः मुसिक भवः’ नै हुने हो ।
अहिले पनि उनीविरूद्ध सहकारी ठगी मुद्दाको अनुसन्धान भइहरेको छ । जुन प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ, अहिले उनी तिनै प्रहरीको विभागीय मन्त्री भएर सलामी खाइरहेका छन्, उनीहरूकै सुरक्षा घेरामा छन् । पहिलो त ठगी मुद्दाको अभियोग लागेर अनुसन्धान भइरहेको व्यक्ति मन्त्री नै हुनु नपर्ने हो ।
अझ, त्यसमा पनि ठगी मुद्दाको अनुसन्धान गरिरहेकै प्रहरीको विभागीय मन्त्री त हुनै नहुने हो । सिँधै हेर्दा पनि यो सर्वथा स्वार्थ बाझिने विषय हो । एक किसिमले भन्ने हो भने यो जति सुशासनको बर्खिलाप केही पनि हुनै सक्दैन ।
एकातिर सरकार सुशासनको डिङ हाँकिरहेको छ भने अर्कोतिर त्यही सरकारको क्याबिनेटमा चौथो बरीयतामा रहेको मन्त्री भने स्वार्थको द्वन्द्व हुने मन्त्रालयको कमान्ड सम्हालिरहेको छ । र, त्यही मन्त्रीले डेलिभरी र सुशासन मात्र दिने हैन कि अनेकौँ भ्रष्टाचार र काण्डको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही पनि गर्नु छ ।
यो चरम विरोधाभासका बीचमा छन् रवि लामिछाने । उनको आफ्नो विवादास्पद विगत नै उनको सबैभन्दा कमजोर कडी हो । त्यही कडी समातेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा उनको राजीनामा मागिसकेको छ । त्रिशङ्कु संसद् छ र त्यो संसद्को सबैभन्दा ठूलो दल रविको राजीनामा मागेर संसद् अवरुद्ध गरिरहेको छ । यो अवरोध छिचोलेर अगाडि बढ्न रविलाई फलामको चिउरा चपाउनु जस्तै छ ।
गृह लिनुमा आफ्नो कालो विगत दबाउने हैन कि सुशासन र डेलिभरी दिने थियो भन्ने पुष्टि गर्नु छ । अझ गाँठी कुरा त के हो भने उनी जनतामा व्याप्त निराशा, कुण्ठा र हतासाको जादुमय सम्बोधन गर्छु भनेरै संसदमा पुगेका छन् । नेपाली जनतामा पटक्कै धैर्य छैन, उनीहरूलाई रातारात त्यो पनि व्यक्तिगत रूपमै हरेक समस्याको उत्कृष्ट सम्बोधन चाहिएको छ ।
‘पुरानाले त्यो गरेनन्, म गर्छु’ भनेर पुगेका रविलाई ती समस्या सम्बोधन नगरी धरै छैन । तर, अहिलेको स्थिति यस्तो छ कि उनी आफूलाई जोगाएर ती सबै समस्याको सम्बोधन गर्न सक्ने अवस्थामै छैनन् । अझ, त्यसमा पनि कम्युनिष्टको बर्चश्व रहेको सरकारमा बसेर दक्षिण र पश्चिमको गुड बुकमा रहेको कांग्रेससँगको पौठेजोरीमा जीत आफ्नो पक्षमा पार्न किमार्थ पनि सजिलो छैन ।
रवि आफैमा समस्याका डङ्गुर हुन् । जो आफैँमा समस्याको डङ्गुर हुन्छ, उसले अर्काको समस्याको समाधान दिन सक्ने सम्भावना नै रहँदैन । त्यसैले यो सरकारमा बसेर उनले गर्ने भनेको आफूलाई बचाउने र कांग्रेसलाई सरकारबाट बाहिर राखेर कम्युनिष्टहरूलाई सहकार्य गर्ने परिस्थितिको निर्माण गरिदिने मात्र हो । उनको यो कार्यबाट कांग्रेस उनीसँग थप चिढिने छ । वैचारिक हिसाबले रवि दक्षिणपन्थी हुन् र उनको पार्टी तथाकथित प्रजातन्त्रवादी भने पनि मूलतः दक्षिणपन्थी नै हो । उनको लागि कांग्रेस नै वैचारिक हिसाबले नजिकको शक्ति हो ।
अहिले वामपन्थी गठबन्धनको सरकारमा गएर उनले अप्रत्यक्ष रूपमा वामपन्थी शक्तिलाई नै बलियो बनाउने हुन् । यो भनेको एक किसिमको कालिदाश प्रवृत्ति नै हो ।
अहिलेको अवस्थामा रवि नै रास्वपा र रास्वपा नै रवि हो । रविको जादुले बनेको यो पार्टी अहिले उनको कालो विगत छोप्ने सेतो टालोको काम गरिरहेको छ । तर, ढिलो चाँडो त्यो टालो पनि कालो नै हुने छ किनभने, रविको कालो विगत कुनै पनि किसिमको साबुनले धोएर सेतो हुने खालकै छैन । यो ज्ञान चतुर रविलाई थाहा नहोला भन्न सकिन्न । किनकि, देश खाएर शेष भएका यी जादुगरलाई संसारलाई ढाट्न सकिए पनि आफूलाई ढाँट्न सकिँदैन भन्ने राम्ररी थाहा छ ।
गर्दनमाथि तरबार झुन्डिएको यस्तो अप्ठ्यारो स्थितिमा रहेका रविले यो सरकारमा रहेर खासै केही गर्न सक्दैनन् । त्यसपछि उनका सामु या त केही गर्न दिएनन् भनेर बाहिर निस्कने या त यो नै आफ्नो अन्तिम अवसर हो भनेर पुरानै ड्याङको मुला हुने भन्ने बाहेक तेस्रो विकल्प छैन ।
यसले गर्दा उनका लागि मिसन ८४ नखाउँ भने दिनभरीको सिकार खाऊँ भने कान्छो बाबुको अनुहार जस्तै हुने निश्चित छ । अहिले नै पनि रविको लोकप्रियताको पारो पहिलाभन्दा धेरै तल झरिसकेको छ । उनका पछि लागेका धेरै ‘घण्टी फ्यान’ निराश भएर बालेन शाह नै ठीक भन्न थालिसकेका छन् । २०८४ सम्म बालेनले अहिले जतिकै क्रेज जोगाइराख्न सके भने त्यतिबेला उनी नयाँ हुन्छन् भने रवि र उनको रास्वपा पुरानो भइसकेको हुनेछ ।
२०८४ को आम चुनावमा वामपन्थीहरू कम्तीमा पनि एउटै गठबन्धन बनाएर चुनावमा जाने परिस्थिति निर्माण हुँदै छ । यदि यसरी वैचारिक आधारमै ध्रुवीकरण भएर वामपन्थी गठबन्धन बन्ने हो भने अभाव, विभेद, अशिक्षा र पछौटेपनजस्ता वामपन्थी उर्वर–एजेन्डा बाँकी रहेको नेपालमा वामपन्थीहरूलाई सत्ताबाट बाहिर राख्न सहज छैन ।
अर्कोतिर वैचारिक हिसाबले कांग्रेसले दक्षिणपन्थी दलहरूको मोर्चा बनायो भने रविका लागि कुनै ठाउँ नै बाँकी हुँदैन । २०७९ को चुनावमा गैरवैचारिक गठबन्धन हुँदा एकातिर अन्तरपार्टी मत विनिमय हुन सकेको थिएन भने अर्कोतिर पुराना बाइबाइ र नयाँ हाइहाइको भाष्य निर्माण भएको थियो । त्यसैको फाइदा उठाएर वाचाल रवि र रास्वपाको अप्रत्याशित उदय भएको थियो । त्यसयताको दिशा र दशा हेर्दा रवि र रास्वपाका लागि २०७९ को चुनावी परिणाम नै न भूत न भविष्य नहोला भन्न सकिन्न ।
अमेरिकी नागरिक भएकै बेला रविले पुरानो नेपाली नागरिकता प्रयोग गरेर जे जस्ता गैरकानूनी काम गरेका छन्, ती सबै रविको गर्दनमाथि झुन्डिएका तरबार हुन् । कुनै न कुनै दिन ती तरबार एक–एक गरेर गर्दनमाथि खस्नेछन् र रविको जीवन पुनः मुसिक भवःको अवस्था दुखान्त हुनेछ । अहिले रविको स्थिति भनेको निभ्न लागेको बत्ती चम्केजस्तै मात्र हो । यो भनाइ उनी र उनका शुभचिन्तकका लागि अप्रिय लागे पनि यही नै तीतो सत्य हो ।