
बिएल संवाददाता
काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाका नाममा नेपाली नागरिकको बिक्री भइरहेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले उक्त विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन्।
शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे।
उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं। यो कुनै राजनीतिक दाउपेचको कुरा होइन्। म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन्। त्यहाँ कांग्रेसका मान्छेहरु पनि छन्, एमालेका मान्छेहरु पनि छन्, माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरुको छानविन गर्नुपर्छ।’
उनका अनुसार भिजिट भिसामा विक्रीमा परेका मानिसहरू कुनै एक दलका मात्र नभएर नेपाली नागरिक बेचिएको बताए।
शाहीले संसदमा कति संख्यामा को सांसद छन् भन्ने विषयभन्दा पनि उठाइएको मुद्दा जायज छ कि छैन भन्ने कुरालाई ध्यान दिन आग्रह गरे।
उनले भने, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईं हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला। तर नेपाली जनताले यसको फैसला गर्छन्, जनतालाई के भन्ने?’