सोमबार, १८ नोभेम्बर २०२४

क्लब र हाउस पार्टीको नाममा युवा-युवतीलाई बन्धक बनाई यातना, चार जना पक्राउ

Symbolic photo
• • •

क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौँ ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन्।

उनीहरूले काठमाडौँका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बूढानीलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्नेसम्मको शारीरिक यातना दिएको प्रहरीले जनाएकाे छ।

साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?