बिएल संवाददाता
काठमाडौं
गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्।
बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए।
‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, उनले भने।
त्यसैगरी पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए।
‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’, उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ।’
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए। ‘दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ’, गृहमन्त्री लेखकले भने, ‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ।’
उनले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गुरे। ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ’, उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस्।’
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरेका छन्। त्यसैगरी उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।