सोमबार, १८ नोभेम्बर २०२४

रोल्पाको चतुर्भुजमा ठडियो शिवको विशाल मूर्ति

News Image
• • •

रोल्पाको प्रमुख प्रवेशद्वारको रुपमा चिनिने खुंग्रीस्थित चतुर्भुजको बारेमा साविक राप्ती अञ्चलभित्रका धेरैजसोलाई जानकारी भएकै कुरा हो। यसले विस्तारै देशव्यापी प्रचार पाउने सम्भावना बढ्दै गएको छ। यहाँ शिव प्रतिमा निर्माण समितिको सकृयतामा भगवान शिवको विशाल मूर्ति स्थापना गर्ने काम धमाधम भैरहेको छ।

मूर्तिलाई आधार स्तम्भमा राखिसकिएको छ भने मूर्तिको प्राण प्रतिष्ठा आगामी शिवरात्रीका दिन गरिने आयोजकले जनाएका छन्। शिवरात्रीदेखि नै सार्वजनिक रुपमा खुला गरिने भनिएको सो मूर्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुको आर्थिक योगदान रहेको बताइन्छ।

शिव मूर्ति निर्माण समितिका अध्यक्ष एवं स्थानीय युवा रोशन गिरीका अनुसार मूर्ति एक मात्र ढुंगाबाट तयार पारिएको बताइएको छ। मूर्ति जमिनदेखि १८ फिट उचाईको छ भने मूर्तिको उचाई १२.५ फिट अग्लो छ।

सो कार्यका लागि हालसम्म कुनै पनि स्थानीय निकाय वा सरकारको सहयोग नभई चन्दादाताहरुबाट स्वतःस्फूर्त रुपमा खडा भएको कोषबाट निर्माण भएको हो। मूर्ति निर्माणका लागि धेरैजसो आर्थिक सहयोग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आप्रवासी अर्थात् वैदेशिक रोजगारमा संलग्न नेपाली युवाहरुबाट प्राप्त भएको छ भने कतिपय सहयोग स्थानीय वुद्धिजीवि र समाजसेवीहरुबाट प्राप्त भएको छ।

मूर्ति निर्माणका लागि कसैकसैबाट भौतिक सहयोग पनि प्राप्त भएको बताइन्छ। यस मूर्ति सार्वजनिक रुपमा खुला गरिएपछि आन्तरिक पर्यटक र तीर्थयात्रीहरुको संख्या बढ्नेमा विश्वास गरिएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका साहित्य, ऐतिहासिक स्थल र धार्मिकस्थलमा धनी छ। त्यसमा पनि वडा नं २ अर्थात् खुंग्री गाउँ अग्रणीमा पर्छ। खुंग्रीकै एकजना लेखक-साहित्यकारले अहिले राष्ट्रियस्तरमै कीर्तिमान कायम गर्दै आएका छन्। गजुलकोट दरबार र खुंग्रीकोट दरबारको मर्मत र जिर्णोद्दार भएमा रोल्पामा पर्यटकहरुको संख्या अझै बढ्ने सम्भावना देखिन्छ। ४९औँ शक्तिपीठको रुपमा रहेको खुंग्रीको त्रिपुरासुन्दरी देवी मन्दिरमा पनि भक्तजनहरुको संख्या बढ्दै गइरहेको पाइन्छ।

पहिलेदेखि नै चतुर्भुजधामको महिमा उल्लेखनीय र महत्वपूर्ण पनि छ। सुवर्णावती गंगा र चित्रावती गंगाको संगमस्थलमा रहेको चतुर्भुजमा परापूर्वककालमा ब्रह्माजीको ब्रतवन्ध भएको हो भन्ने जनश्रुति पाइन्छ। सदियौँ अगाडि चतुर्भुजमा उन्मत्तेश्वर महादेवको मन्दिर रहेको र धर्मशाला पनि भएको अग्रजहरुको भनाईबाट स्पष्ट हुन्छ।

यस ठाउँमा पहिले पहिले मकरसंक्रान्ति, बसन्तपञ्चमी र शिवरात्रीमा ठूलो मेला लाग्थ्यो। हाल वसन्त पञ्चमीमा मात्र ठूलो मेला लागेको देखिन्छ। चतुर्भुजमा रहेको लुंग्री-माडीको संगमस्थलमा माघेसंक्रान्ति नुहाउन जाने र शिवरात्रीका दिन शिवपाञ्चायन मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्नेगर्दछ।

श्रीपञ्चमीको मेला भर्न रोल्पाको बाइसखुवा, कालाशेष तथा प्युठानको माडीखोला भेग र आसपासबाट धेरै मानिसहरु आउने गर्दछन्। खुंग्रेली लेखक तथा साहित्यकारका अनुसार उनले २०४० सालअघि श्रीपञ्चमी मेलामा घिउमा तयार गरिएको जिलेबीको स्वाद अहिले पनि भुलेका छैनन्।

अधिकारीका अनुसार पछिल्लो समय भने हानिकारक रङ मिसाइएका र शंकास्पद अनेक तेलमा बनाइएको जिलेबी बिक्री गरिन्छ। त्यतिबेला बर्फी, बतासालगायतका मिठाइहरु पनि मेलामा उपलब्ध हुन्थे। आजकल समयले कोल्टे फेरेसँगै मेलाको रौनक पनि बदलिएको पाइन्छ।

मेलामा अनेक किसिमका वस्तुहरुको खरिद बिक्री हुन्छ। यदाकदा श्रीपञ्चमी मेलामा महोत्सवहरु पनि नगरिएका भने होइनन्। महोत्सवमा जादू, सर्कस देखाइनुका साथै विभिन्न खेलहरु पनि खेलाइन्छ। चर्चित वा ख्यातिप्राप्त कलाकार तथा गायकहरु पनि सहभागी हुने महोत्सव हेर्न दर्शकहरुको घुइँचो पनि लाग्दछ।

स्वर्गद्वारी आश्रमका प्रभुमहाराजजी लुंग्री र माडीको संगमस्थल चतुर्भुजमा गुप्त रुपले गुफाबाट निस्कनु गई स्नान गरी स्वर्गद्वारीमा त्यहाँको पानी चढाउनुहुन्थ्यो भन्ने जनश्रुति पनि छ। यसैगरी संगममा स्नान गरी त्रिपुरासुन्दरीदेवी भगवती माइजीको मन्दिरमा पनि यहाँको जल चढाउने र दर्शन गर्ने तथा पूजाआजा गरेमा आफूले चिताएको फल माग्दा पूर्ण हुन्छ भन्ने जनविश्वास पनि छ।

रोल्पाको सदरमुकाम लिबाङलाई रोल्पाको दार्जिलिङ भनेपनि केही फरक पर्दैन। रोल्पा टेकिसकेपछि एकपटक लिबाङमा पनि पुग्दा राम्रै हुन्छ। लिबाङमा पनि सुविधासम्पन्न होटेलहरु छन्। रोल्पाका धेरै ठाउँहरुमा यातायातको सुविधा पनि छ। राजधानीका मानिसहरुले सोचेको जस्तो विकट छैन रोल्पा। प्राकृतिक सुन्दरताले भरिपूर्ण छ रोल्पा। सुनछहरीको सुन्दरताले पनि रोल्पाको महत्व अझ बढाइदिएको छ। अर्को तीर्थस्थल जलजला पनि हो। रोल्पाकै घोडागाउँको रातोमाटो र प्युठानको स्वर्गद्वारी नगरपालिका-५ सारीको आकर्षक भूवनोटलाई पनि प्रचार प्रसार गर्नु आवश्यक ठानिएको छ।

स्वर्गद्वारी दर्शनका लागि आउने तीर्थयात्रीहरु चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर, नवनिर्मित शिव प्रतिमा र त्यसनजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा रोल्पाले पनि पर्यटन र तीर्थाटनमा फड्को मार्ने विश्वास गरिएको छ। जिल्लाभरका पर्यटकीयस्थल, धार्मिकस्थल, ऐतिहासिक स्थललगायतका स्थानहरुको लागि सम्बन्धित निकायबाट पनि संरक्षण तथा सम्वर्द्धनका लागि योजना र बजेटको व्यवस्था हुनुपर्दछ। किनकि देश विकासको आधार पर्यटन र तीर्थाटन पनि हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?