सोमबार, १८ नोभेम्बर २०२४

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोजियाे: प्रधानमन्त्री

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताएका छन्।

नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सामाजिक प्रबन्धलाई माने र नै समाज अघि बढ्ने बताएका हुन।

‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ’, उनले भने।

नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए। संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउनेतर्फ ध्यान जानुपर्नेमा ओलीकाे जोड छ।

स्वतन्त्रता भनेको छाडापन नभएको प्रष्ट पार्दै उनले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन।

लोकतन्त्र भनेको जनताको शासन भएको बताउँदै ओलीले यो छाडा हुन नसक्ने बताए। कसैको सनकका भरमा शासन सञ्चालन नहुने प्रष्ट पार्दै भने, ‘लोकतन्त्र एउटा अनुशासित समाज हो।’

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोज्ने र जसले योगदान गरेका छन्, तिनीहरूलाई बदनाम र अपमान गरेर सिध्याउन खोज्ने प्रयास भएका भन्दै ओलीले त्यो कुरा बुझ्न जरुरी रहेकोसमेत बताए। लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणकाे दिशामा अघि बढ्न ओलीले सबैलाई आह्वान गरेका छन्।

 अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताउँदै ओलीले भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्न बनेको बताए।

कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै ओलीले भ्रष्टाचारविरुद्ध कानुनअनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका छन। ‘हामी कसैको विरुद्ध छैनौँ, तर कसैले पनि कसैका विरुद्ध बेठिक गर्न पाइँदैन।’

ओलीले सरकाले खेल क्षेत्रको महत्त्व बुझेको बताउँदै आफ्नो गच्छेअनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताए। त्यसैले क्रिकेट रङ्गशालाका काम ३ सय दिनभित्रै सक्ने घोषणा गरेर सरकारले काम गरिरहेको ओलीले जानकारी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?