सोमबार, १८ नोभेम्बर २०२४

प्रधानमन्त्री प्रचण्ड आजै निजी निवास खुमलटार सर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छोड्ने तयारी थालिएकाे छ। स्रोतका अनुसार उनी दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताइएकाे छ।

प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीलाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सांसदले मात्रै विश्वासको मत दिने अवस्था बनेको छ। उनको विपक्षमा दुई तिहाई बढी मत हुने भएकाले आजै अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्ने काँग्रेस एमालेका नेताहरूले बताएका छन्।

विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुने भएकाले प्रधानमन्त्रीले सरकारी निवास छाेड्न लागेका हुन्। उनले आफू पदमुक्त भएपछि संविधानको धारा ७६ (३) को नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै आएका थिए। तर प्रधानमन्त्रीले आजै निवास सर्ने निर्णय गर्नुलाई नयाँ सरकार गठनको प्रक्रिया धारा ७६ (२) बाटै हुने आकलनको रुपमा लिइएको छ।

प्रधानमन्त्री दाहाल बालुवाटारबाट उनको खुमलटारस्थित पहिलेको निवास सर्ने माओवादीले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?