बिएल संवाददाता
वीरगञ्ज
आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितीय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो।
बैंकहरुले मनोमानी ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरीब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्नेलगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो।
यी मागहरु उठाउँदै गत हप्ता आजपाले मधेस प्रदेशको राजधानी जनकपुरमा विरोध प्रदर्शन गरेको थियो। सरकारसँग यी माग गर्दै आजपाले यथासिघ्र सम्बोधन गर्न आग्रह गरेको थियो। तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने विषयलाई गम्भीर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो।
आजपा मधेस प्रदेशका इन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उदेश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन्।
‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाइरहे पनि सरकार गम्भीर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेको छ’, आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने।
आजपाले पौष १२ गते प्रदेश स्तरीय भेला विरगंजमा गर्ने, १३ पौष मसान्तसम्म स्थानिय तहमा पीडितहरुसँग अन्तर्क्रिया तथा संघर्ष समिति गठन गर्ने, १ माघदेखि ८ माघसम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने ९ माघमा प्रत्येक जिल्लामा मोटरसाइकल र्याली तथा मसाल जुलुस गर्ने र १० माघमा मधेस बन्द गर्ने कार्यक्रम रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।