बिएल संवाददाता
बाजुरा
बाजुराको हिमाली गाउँपालिका– ३ का जंगसिंह बुढा सात महिने गर्भवती महिला बलात्कार मुद्धामा पुर्पक्षका लागि कारागार चलान भएका छन्। बुढालाई बाजुरा जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
गत पुस १० गते राति साढे १२ बजे श्रीमान नभएको मौका छोपी घरमै आएर बलात्कार गरेको भन्दै महिलाले जंगसिंहविरुद्ध पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
उजुरीपछि प्रहरीले जंगसिंहलाई पक्राउ गरेको थियो।
त्यस्तै बाजुरा जिल्ला अदालतले पीडित महिलाका श्रीमान रुपचन्द्र सुनार र देवर अमर सुनारलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
पीडित महिलाकाअनुसार जंगसिंहले पुस १० गते राति उनलाई बलात्कार गरेका थिए। सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेपछि महिलाले जंगसिंहमाथि हँसिया (आँसी) र चिम्टा प्रहार गरेकी थिइन्। त्यसक्रममा जंगसिंहको शरीरमा चोट लागेको थियो।
घटनापछि मध्यरातमा गाउँमा हल्ला मच्चियो।
जंगसिंहले बलात्कारको घटना ‘डाइभर्ट’ गर्नेगरी श्रीमती बलात्कार भएको सूचना पाएर घर फर्किँदै गरेका रुपचन्द्रसँग झगडा गरे।
र, भोलिपल्ट पीडित महिलाभन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा गएर आफूमाथि रुपचन्द्रले कुटपिट गरेको भन्दै जाहेरी दिए।
जाहेरीपछि प्रहरीले रुपचन्द्र सुनार र अमर सुनारलाई पक्राउ गर्यो। त्यसलगत्तै महिलाले पनि बलात्कारको उजुरी दिइन्। प्रहरीले जंगसिंहलाई पक्राउ गर्यो।
पीडित महिलाका श्रीमानलाई उल्टै थुनेको भन्दै चर्को आलोचना भएपछि प्रहरीले रुपचन्द्र र अमरलाई थुनामुक्त गरेको थियो।
यद्यपि, अदालतले उनीहरुलाई ‘ज्यान मार्ने’ कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ।
घटना एकैदिनको भएपनि जंगसिंह र रुपचन्द्रहरुको मुद्धा फरक–फरक भएको बाजुरा जिल्ला अदालतका नायव सुब्बा गणेशसिंह साउँदले बिएल नेपाली सेवालाई जानकारी दिए।
पीडित महिलाले प्रहरी प्रशासनले आफूहरुको गरिबी र निरक्षरताको फाइदा उठाएर उल्टै फसाएको बताएकी छन्। उनले आफूहरु पीडित हुँदा हुँदै पनि आफ्नो पक्षमा बोलिदिने कोही नभएको दुखेसो पोखिन्।