बिएल संवाददाता
काठमाडौं
४५ वर्षीय एक शाकाहारी व्यक्ति ७ वर्ष पहिले कामको सिलसिलामा अमेरिका गएछन्। त्यहाँ खाना खाँदा ‘मासुको टुक्रा’ परिहाल्छ कि भन्ने डरले उनी चिन्तित भयो। १५ दिनको होटल बसाइमा बिहान–बिहान ४–५ गिलास फलफूलको ताजा जुस पिउने गरेछन्। उनलाई कसैले ‘ताजा फलफूको रसले शरीरलाई फाइदा गर्ने’ भनेको थियो। दिउँसो पनि उनले पानीको सट्टा फलफूलको जुस नै पिए।
काठमाडौं फर्केपछि भने उनमा समस्या देखियो–धेरै पिसाब लाग्ने, पसिना आउने, एकदम थकाइ लाग्ने। रगत जाँच गर्दा शरीरमा चिनीको मात्रा एकदम बढेको रहेछ। शाकाहारी र स्वस्थकर भोजन मात्र गर्ने व्यक्तिमा कसरी चिनीको मात्रा बढ्यो भनेर विचार गर्दा उनले अमेरिकामा खाएको फलफूलको जुसका कारणले भन्ने तथ्य पत्ता लाग्यो।
हामीलाई ताजा फलफूलको रस स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने नै लाग्छ। कहिलेकाहीं फलफूलको ताजा रसले स्वाद दिन्छ, पक्कै हो। तर फलफूलको रस धेरै प्रयोग गर्दा बेफाइदा गर्छ। अमेरिका जाने ती व्यक्तिले दिनको एक गिलास मात्र जुस खाएको भए वा फलफूललाई प्राथमिकता दिएको भए त्यस्तो समस्या पर्दैन थियो। के फलफूलको ताजा रसले शरीरमा चिनीको मात्रा बढाउँछ?
वास्तवमा फलफूलको रसमा फ्रुक्टोज (एक प्रकारको चिनी) बढी हुन्छ। जबकि ताजा फलफूल खाँदा यसमा रहेको घुलनशील र अघुलनशील रेशादार तत्त्वका कारण शरीरमा चिनीको मात्रा बढ्न पाउँदैन। रेशादार तत्त्वले शरीरमा पौष्टिकता दिँदैन तर खाना पचाउन, तौल निश्चित राख्न, चिनीको मात्रा सन्तुलित बनाउन, कब्जियतबाट बचाउन ठूलो भूमिका खेल्छ।
बालबालिकालाई फलफूलको सट्टा बट्टाको जुस दिएर अभिभावकहरू स्वस्थ भोजन दिएको भ्रममा छन्। बट्टाको फलफूलको रसमा त फल्फुल होइन धेरै चिनी मात्र हुन्छ। चिनीको प्रयोगले बच्चाको पेट बिग्रन्छ नै, सूक्ष्म पोषक तत्त्वको अभावले कुपोषण हुन सक्छ।
ताजा फलफूलको रस कहिलेकाहीं अलिकता प्रयोग गर्दा खासै समस्या पर्दैन। तर, बट्टाको फलफूलको जुस त प्रयोग नगरेकै बेस।
सामान्य मानिसले प्याकेटमा त साँच्चै नै फलफूलको जुस मिसिएको भन्ठान्छन्। आँपको रस, स्याउको रस, लिचीको रस, अनेकअनेक रस भन्ठानेर पिउनेहरूले त्यसरी रसलाई बट्टामा राख्दा एकदुई वर्षसम्म सुरक्षित रहन्छ भने त्यसमा रसायन र चिनी पक्कै मिसाएको हुनुपर्छ भन्ने हेक्का नै राख्दैनन्।
हामी युरोपमा बसेर पढ्दा पसलमा गएर ताजा फलफूलको रस किन्थ्यौँ, त्यसमा लेखिएको हुन्थ्यो– घर लगेको ३ दिनमात्रै प्रयोग गर्न मिल्छ। त्यही पसलमा बट्टामा राखेका फलफूलको रसचाहिँ ‘फलफूलको रसभन्दा झन्डै आधा सस्तो र एक वर्षसम्म प्रयोग गर्न सकिने भनेर लेखिएको पाइन्थ्यो।
बट्टाका फलफूलको रस मधुमेह भएको, मोटा व्यक्तिले पिउनु हुँदैन, किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ भनेर बारम्बार चिकित्सकहरूले भन्दै आएका छन्। तर प्रायजसो व्यक्ति बट्टामा राखिएको जुस ताजा फलफूलको रसबाट नै बनाएको हुन्छ भन्ने भ्रममा पर्छन् र यस्तो पेयपदार्थ प्रयोग गर्छन्। र, पैसा तिरेर खराब स्वास्थ्य किन्छन्।
मातापिताले बुझेका हुँदैनन, यसरी फलफूलको रस भनेर चिनीको झोल दिँदा बच्चाको दाँत सबै खराब हुन्छ। बच्चा अस्वस्थ नहोस, दाँत नबिग्रियोस्, कुपोषण नहोस, भविष्यमा मधुमेहको सिकार नबनोस, उच्च रक्तचापको औषधि सेवन नगरोस्, सानैदेखि मोटोपन भएर अनेक किसिमको समस्या नहोस भन्ने चाहनुहुन्छ भने बट्टामा भएको चिनीको फलफूलको रस होइन बजारमा पाइने मौसमअनुसारको फलफूल दिनु उत्तम हुन्छ।
फलफूलको रसमा रेशादार तत्त्व हुन्न, रेशादार तत्त्वको महिमा मानव शरीरको स्वास्थ्यका लागि धेरै छ। मधुमेहको समस्या भएका व्यक्तिले कस्तो फलफूल कति खान सकिन्छ भनेर स्वास्थ्यकर्मी, पोषणविद्सँग सल्लाह लिनु उत्तम हुन्छ।
स्वास्थ्यमा केही समस्या नभएमा व्यक्तिले पनि ठाउँ र सिजनअनुसारको फलफूल खानु राम्रो हुन्छ।
अमला, अम्बा, आलु, हलुवाबेद, जामुन, भोगटे, सीताफल, बयर, सुन्तला, काफल आदि उत्तम फल हुन्। मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन्।
बच्चाले विज्ञापन देखेर झगडा गरेर फलफूलको नाममा राखिएको चिनीको रस माग्यो भने उसलाई बुझाएर फलफूल नै खान सिकाउनुको अर्थ हो भविष्यको लागि स्वस्थ रहन पनि सिकाउनु बच्चाले झगडा गरेर माग्यो भने वा रोएर लडीबुडी गर्यो भने के तपाईंले आफ्नो बालबालिकालाई रक्सी र चुरोट दिनुहुन्छ? दिनुहुन्न, किनभने चुरोट र रक्सीको विज्ञापनमा बच्चालाई प्रयोग गरिँदैन र बच्चाले माग पनि गर्दैन। चुरोट र रक्सी उनीहरूलाई दिनुहुन्न भने ‘चिनीको अस्वस्थ झोलु किन दिनुहुन्छ?