आइतबार, १८ मे २०२५

चीनमाथि कर थपेर राष्ट्रपति ‘सी’ को फोन कुरिरहेछन् ट्रम्प

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथिको भन्सार कर फेरि थपिदिएका छन्। अब चीनले आफ्नाम सामग्रीहरू अमेरिकी बजारमा बेच्दा त्यसको थप १४५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ। 

यसअघि बुधबारमात्रै ट्रम्पले यस्तो कर १२५ प्रतिशत पुर्‍याएका थिए। तर त्यसमा फेरि उनले २० प्रतिशत पहिला नै लागु भइसकेको कर पनि समावेश गर्दै १४५ पुर्‍याएका हुन्। 

चीनले पनि अमेरिकी सामग्रीमा ८४ प्रतिशत कर लगाइदिएको छ। तर चीन-अमेरिका ब्यापारमा चीन नै अगाडि छ। अमेरिकी बजारमा लगभग १ हजारभन्दा बढी प्रकारका सामानहरू पुग्छन्। तर चिनियाँ बजारमा अमेरिकी सामग्री भने निकै न्यून छ। यसमा ब्यापार घाटा अमेरिकालाई नै छ। 

तर अब चीनले आफ्ना सामानहरू अमेरिकामा पठाउँदा खूद मूल्यको १४५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। तर त्यस्तो करको रकम भने उपभोक्ताले तिर्नुपर्ने छैन। त्यो भनेको सिधै अमेरिकी राजश्वमा जम्मा हुन्छ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि नै कैयौ त्यस्ता निर्णयहरू गर्दै आएका छन्, जहाँ उनका हरेक निर्णयले कतै न कतै विश्व व्यवस्थालाई छोइरहेको छ। उनले विदेशी सामग्रीमा लगाएको करका कारण अहिले सारा विश्व नै ध्रुब्रिकृत हुन थालेको छ। 

चीनले अमेरिकाको ब्यापारिक ‘दादागिरी’ विरुद्ध एक हुन ब्यापार साझेदार देशहरूलाई आह्वान गरिरहेको छ। त्यसमा अहिले अष्ट्रेलियाले भने अमेरिकाविरुद्ध नजाने भन्दै चीनको प्रस्ताव अस्वीकार गरिसकेको छ। 

बाँकी विश्वले अहिले चीन-अमेरिकाको यो कर युद्धले कस्तो बाटो समाउला भनेर ‘पर्ख र हेर’को अवस्थामा छन्। 

अहिले चीनले विभिन्न उपायहरू अपनाएर अमेरिकालाई अप्रत्यक्ष जवाफ दिइरहेको छ। चिनियाँ राष्ट्रपति सी चीन फिङ यसबारे आफैले नबोले पनि उनका प्रतिनिधित्व गर्ने चिनियाँ अधिकारी तथा सम्बन्धित निकायहरूले एकपछि अर्को प्रतिक्रिया दिइरहेका छन्। 

यो बीचमा चीनको वाणिज्य मन्त्रालयले कुनै पनि हालतमा चीन पछि नहट्ने र अन्तिमसम्म लडिरहने जनाएको छ। अमेरिकासँग भएका ब्यापारसँग सम्बन्धित ‘श्वेतपत्र’समेत सार्वजनिक गरेर चीनले विश्व खुला बजारको पक्षमा चीनको अडान सधैं दृढ रहने जनाउँदै आएको छ। 

यसबीचमा ह्वाइट हाउसले चीनसँग वार्ता गर्न खोजिरहेको छ। तर ट्रम्प आफैले पहिला फोन नगर्ने भन्दै उनले चिनियाँ राष्ट्रपति सी चीन फिङले नै पहिला फोन गर्नुपर्ने अडान लिएका छन्। 
‘अमेरिकाले पहिला चीनसँग सम्पर्क गर्ने छैन। यो कदम चाल्ने चीन पहिलो होस् भन्ने हाम्रो चाहना हो’ ट्रम्पले भनेका छन् ‘तर चीनले अहिले यो समस्या समाधान गर्ने भन्दा पनि अमेरिकासँग बदला लिने र ब्यापार युद्धलाई अझ बढाउने बाटो रोजिरहेको छ कि भन्ने ह्वाइट हाउसको ठम्याइ हो।’ 

तर चीनले अमेरिकासँग सम्झौता गर्न चाहिरहेको पनि ट्रम्पको विश्वास छ। 

‘मलाई लाग्छ चीन अमेरिकासँग सम्झौता गर्न चाहन्छ’ ट्रम्पले भनेका छन् ‘तर चिनियाँहरू यो कुरा जान्दैनन् कि यस्तो बेला कसरी अघि बढ्ने?’
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?