बिएल संवाददाता
वासिङ्टन डीसी
अमेरिकामा यस वर्ष नोभेम्बर ५ मा हुने आमचुनावको प्राइमरी चरण आजदेखि औपचारिक रूपमा सुरू हुँदैछ। मार्च १५ मा आइवा राज्यको रिपब्लिकन ककसबाट सुरू हुने प्राइमरी ककसको सिलसिला जुन ४ मा न्युजर्सी, मोन्टाना, न्यु मेक्सिको र साउथ डकोटामा पुगेर टुंगिन्छ। यही दिन अमेरिकाका दुई ठूला दल डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीले औपचारिक रूपमा नोभेम्बर ५ का लागि राष्ट्रपतिलगायतक अन्य पदका उम्मेद्वार पाउँछन् । यस बीचमा अमेरिकाका सबै राज्यमा प्राइमरी भैसकेको हुन्छ।
आज धेरै अमेरिकी नागरिक र मिडियाको ध्यान आइवा ककसतिर तानिएको छ । राजधानी डिमोइन्स फरहेनहाइटमा -१२ डिग्री चिसोले कठाङ्ग्रिए पनि यहाँको राजनीति तापमान भने उम्लिरहेको छ।
आइवा रिपब्लिकन ककसको प्राइमरीमा ६ उम्मेद्वारको नाम छ- डोनल्ड ट्म, निकी हेली, रन डीसान्तोष, विवेक रामास्वामी, रायन बिन्क्ली र आशा हचिन्सन। सबै रिपब्लिकन उम्मेद्वारहरू यतिबेलाको आइवाको चिसोको प्रवाह नगरी चुनावी क्याम्पेनलाई अगाडि बढाइरहेका छन्। मतदान सुरू हुन अघिल्लो दिन उम्मेद्वारहरू एकअर्कालाई आक्रमणको निशाना बनाइरहेका छन्। त्यसमा पनि ट्रम्प आफ्नो स्वभावअनुसार नै सबैमाथि जाइलागेका छन्। निकी हेली र रन डीसान्तोषमाथि आक्रमण गरिरहेका ट्रम्पले अन्तिम समयमा आएर उनलाई सबैभन्दा उत्कृष्ट राष्ट्रपति भन्ने विवेक रामास्वामीमाथि नै जाइलागेका छन्।
आइवामा सुरूदेखि नै ट्रम्पको ठूलो अग्रता रहेको छ। दोस्रो स्थानका लागि मात्र प्रतिस्पर्धा हुने हो। सुरूवाति चरणमा फ्लोरिडाका गभर्नर रन डी सान्तोस दोस्रो स्थानमा रहेका थिए । तर, अहिले त्यो स्थानमा निकी हेली उक्लिएर डिसान्तोसलाई पछाडि पारेकी छिन्। बाँकि उम्मेद्वार भने प्रतिस्पर्धामै छैनन् भने पनि हुन्छ।
अहिलेको प्रश्न भनेको ट्रम्पले कति धेरै प्रतिशत मत प्राप्त गर्छन् र उनलाई पछ्याउँदै दोस्रो को हुन्छन् र कति प्रतिशत मत ल्याउँछन् भन्ने मात्र हो । प्रतिशतका आधारमा रिपब्लिकन ककसको कलेज इलेक्ट्रफ मत बाँडिन्छ।
यो चुनावको परिणामले यसपछि मा हुने न्यु ह्याम्पसायर प्राइमरी प्रभावित हुन्छ। राजनीतिक पण्डितहरू भन्छन्, आइवा ककसमा निकी हेली राम्रै प्रतिशत मतका साथ दोस्रो स्थानमा आइन् भने उनले ट्रम्पलाई न्यु ह्याम्पसायरमा उछिन्न सक्छिन्। त्यसले ट्रम्पविरोधी मतदातामा जित्ने सम्भावनाको मनोविज्ञान बन्न सक्छ।
न्यु ह्याम्पसायरमा भने हेलीले गतिलो छलाङ मारेकी छिन्। अहिले त्यहाँ उनी ट्रम्पभन्दा झिनो प्रतिशत मतले मात्र पछि छिन्। अन्तिम समयमा उम्मेद्वारी त्यागेका क्रिस क्रिस्टीका समर्थकहरूले हेलीलाई समर्थन गर्ने सम्भावना बढेको छ र त्यो मत निर्णायक हुन सक्ने राजनीतिक पण्डितहरूको आँकलन छ।
डेमोकेट्सको प्राइमरी भने आइवामा मार्च ५मा हुने छ । यद्यपि, उनीहरू पनि रिपब्लिकन ककसलाई नजिकबाट हेरिरहेका छन्।