
जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापरबाहीः नेशनल अस्पताललाई १ लाख जरिवाना
कलंकीमा सञ्चालित नेपाल नेशनल अस्पतालले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापरवाही गरेपछि १ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ। काठमाडौं महानगरपालिकाले पटक-पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहोर व्यवस्थापनमा जिम्मेवार नदेखिएपछि जरिवाना तिराइएको हो। अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते महानगरको टोलीले अनुगमन गरेको थियो। यसपछि जरिवानाको पत्र पठाइएको थियो। अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो। ‘एक पटक होइन। दुई पटक होइन। पटक पटक गएर सुधारको मौका दियौं। जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौं।’

बिएल संवाददाता - काठमाडौं