प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट घरमै
थपलियालाई शुक्रबार आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेका छन्। बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए। कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए। थपलिया संविधानको धारा २४५ बमोजिम ०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।
बिएल संवाददाता - काठमाडौं