
रुस र युक्रेनको युद्ध रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एउटा इतिहासको पुनर्लेखन यात्रा थालेका छन्। यद्यपि यो यात्रा त्यति सजिलो छैन। र पनि ट्रम्पलाई विश्वास छ ‘पुटिनसँग सम्बन्ध टुटेको छैन र टुट्ने पनि छैन’ रुस-युक्रेनमा शान्ति स्थापना गर्ने ट्रम्पको यो यात्राले पुटिनसँगको आत्मीयतालाई दोहोर्याउन पनि सक्छ।
केही दिनअघि ट्रम्पले युक्रेनलाई हतियार दिने एउटा सहमति स्वीकार गरेका छन्। युक्रेनलाई दिने हतियार युरोपेली राष्ट्रहरूले अमेरिकाबाट खरिद गर्नेछन्। त्यसको सबै खर्च उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले बेहोर्नेछ।
यसैबेला ट्रम्प रुसमाथि भने निकै चर्कोगरी खनिएका छन्। उनले पुटिनलाई ‘मूर्ख’को संज्ञा दिँदै अब आफू अमेरिकाका अरु राष्ट्रपतिहरूजस्तो ‘मूर्ख’ नबन्ने पनि बताएका छन्।
नाटोसँगको त्यो सहमतिपछि ट्रम्पले बिबिसीलाई एउटा विशेष टेलिफोन अन्तर्वार्ता दिएका थिए। त्यसमा उनले पुटिनको निकै कडा आलोचना गरे।
‘पुटिन आफैमा मूर्ख मान्छे हुन्। उनले धेरैलाई मूर्ख बनाइसकेका छन्। धेरैलाई झुक्याइसकेका छन्। उनले क्लिन्टन, बुस, ओबामा अनि बाइडन सबैलाई झुक्याएका छन् र मूर्ख बनाएका छन्। तर मलाई सक्दैनन्’ ट्रम्पले भनेका छन् ‘साँच्चै भन्नुपर्दा म कसैलाई पनि विश्वास गर्दिनँ। अहिलेको हालतमा पुटिनलाई पनि विश्वास गर्दिनँ। तर उनीसँगको सम्बन्ध भने टुटेको छैन।’
ट्रम्पले रुसलाई युद्ध बिराम सम्झौता गर्नका लागि ५० दिनको समय दिएका छन्। त्यो अवधिमा शान्ति स्थापनाका लागि रुस तयार नभए उसमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा पनि उनले गरेका छन्।
रुस युक्रेन युद्धमा अमेरिकाको खर्बौं पैसा नाश भएको भन्दै ट्रम्पले अब पनि शान्ति स्थापनाका लागि रुस तयार नभए उसले ठूलै मूख्य चुकाउनुपर्ने पनि चेतावनी दिएका छन्।
‘हामी सबै निकै दुःखी छौं, म रुससँग दुःखी छु । ५० दिनमा शान्ति सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौं, लगभग एक सय प्रतिशत, त्यसको मतलव सबैलाई थाहा होला’ ट्रम्पले भनेका छन् ‘रुस र युक्रेनसँगको यो युद्धमा हामीले लगभग ३ खर्ब ५० अर्ब डलर खर्च गरिसकेका छौं र यो अन्त्य भएको हेर्न चाहन्छौं । किनकि यो मेरो युद्ध थिएन, यो बाइडेनको युद्ध थियो ।’
यसैबीचमा रुसले पनि ट्रम्पको चेतावनीप्रति टिप्पणी गरेको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोफले ट्रम्पले दिएको समयसीमाको अर्थ बुझ्न चाहेको बताएका छन्।
‘यो ५० दिने समयसीमाको अर्थ के हो? त्यो हामी बुझ्न चाहन्छौं। अमेरिकाले यसअघि पनि २४ घण्टा अनि १०० दिनको समय दिएको थियो। ती सबै हामीले देखेका हौं’ उनले भनेका छन् ‘तर वास्तवमै भन्नुपर्दा अमेरिकी राष्ट्रपतिको चाहना हामीले कहिल्यै बुझेका छैनौं।’
उनले ट्रम्पमाथि युरोपेली राष्ट्रहरूको दबाव रहेको र युक्रेनलाई लगातार हतियार दिइरहेको पनि बताए।
१ .
२ .
३ .
४ .
५ .