
सुर्खेत प्रहरीले १३ लाख रुपैयाँ बराबरको नक्कली नोट र ३० किलो ६७२ ग्रामको २६ पोका अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट र र अफिम करोबार संलग्नमा जाजरकोटका ४ जना र कालिकोटका १ जनालाई पक्राउ गरेको जानकारी गराएको हो।
पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका-५ की अन्दाजी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका-७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका-१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बिक छन्।
त्यस्तै पक्राउ पर्नेमा एक पत्रकार पनि छन्। कालीकोटको नरहरीनाथ गाउँपालिका-४ घर भई बाँकेको कोहलपुर उपमहानगरपालिका-११ न्युरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरी बस्ने अन्दाजी ३४ वर्षीय मनबहादुर सहकारी छन्। उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो।
नक्कली नोट र अफिम समात्न प्रहरीको विशेष अपरेसन-
प्रहरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० शान्ति टोल बस्ने दिलमाया सिंह ठकुरीले नक्कली पैसा साट्ने गरेको गोप्य सूचना आउँछ। सूचनापछि असार ३० गते दिउँसो साढे १ बजे प्रहरीले दिलमायालाई हजार दरका ६ थान नक्कली नोटसहित पक्राउ गर्छ।
त्यसछि पोल खुल्छ अर्का व्यक्तिको। प्रहरीले सोही दिन साँझ ६ बजे जाजरकोटका रामबहादुर सिंह र मनमायाको कोठामा खानतलासी गर्छ। अनि फेला पर्छ १२ लाख ३६ हजार रुपैयाँको नक्कली नोट। प्रहरीले रामबहादुरलाई पनि पक्राउ गर्छ।
त्यसपछि अर्को पोल खुल्छ अफिम कारोबारको। प्रहरीले रातको १० बजे सुर्खेत भेरीगंगा नगरपालिका-१२ ठकुरीटोल डेरा गरी बस्ने कृष्णबहादुर वली, र प्रेमबहादुर विकको कोठामा खानतलासी गर्छ। कालो झोलाभित्र लुकाइछिपाइ राखेको अफिम जस्तो देखिने गिलो पदार्थ ११ किलो ३७२ ग्रामको ११ पोका बरामद गर्छ। अनि दुवैजना पक्राउ पर्छन्।
अनि पोल खुल्छ पत्रकार भनिने मनबहादुर सहकारीको। असार ३१ गते मंगलबार (आज) बाँकेको ई.प्र.का.कोहलपुरबाट सहित खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने, नोट बनाउने तथा उक्त नोट बनाउने मेसिन समेत राखेका मनबहादुर सहकारीलाई पक्राउ गर्छ।
कोहलपुर नगरपालिका-११ न्युरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरी बसेका सहकारीको मिडिया हाउस तथा घरकोठा खानतलासी गर्दा उनको ५१ हजारको नक्कली नोट फेला पर्छ। त्यस्तै प्लास्टिकमा १५ पोका बनाइ राखेका १९ किलो ३०० ग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला पर्छ।
त्यस्तै उनीबाट प्रहरीले नक्कली नोट बनाउने १ थान क्यानन् प्रिन्टर, हाइटेक लेखिएको सीपीयू १ थान र जिलिवन टेक लेखिएको एक थान मनिटर, किबोर्ड, माउस, कार्डरिटर र चिप्स मेमोरी १/१ थान, क्यानन् क्यामेरा एक थान बरामद गर्छ।
१ .
२ .
३ .
४ .
५ .