अमेरिकी विशेष दूत ब्रायन हुकले इरानसँग तेल आयात गर्ने देशलाई पनि अमेरिकाले प्रतिबन्ध लगाउने धम्की दिएका छन्। रुसबाट प्रकाशित हुने पत्रिका रसिया टुडेले जनाएअनुसार वासिङ्टनले गत सोमबार इरानलाई नयाँ प्रतिबन्ध लगाएको छ। ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्न अन्य देशलाई छुट नदिने बताइएको छ।
हुकले यसको जानकारी शुक्रबार दिँदै भने, ‘इरानसँग तेल आयात गर्ने जुनसुकै देशलाई पनि हामी प्रतिबन्ध लगाउँछौं। हाललाई एसियाको कुनै पनि देशलाई इरानबाट तेल आयात गर्ने छुट ट्रम्प प्रशासनले दिएको छैन।’
राष्ट्रपति ट्रम्पले केही दिन अगाडि अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्धको उल्लघंन गर्ने देश पनि जरिवानाका लागि तयार रहन उर्दी जारी गरेका थिए। यसअघि केही देशलाई इरानबाट कच्चा तेल आयात गर्न छुट प्राप्त थियो।
हुकले इरानबाट हाल सबैभन्दा बढी चीनले तेल आयात गरिरहेको बताएका थिए। इरानलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको यसअघि नै चीनले विरोध गरिसकेको छ।