कांग्रेस नेताहरू नै भन्छन्–

‘२५ प्रतिशत कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट हाल्दैनन्’

तेजन खड्का

काठमाडौं

सत्ता गठबन्धन संयन्त्रले आउँदो स्थानीय तहको निर्वाचनमा सत्ता घटकलाई एकठाउँमा उभिन निर्देशन दिइसकेको छ। तर जिल्ला–जिल्लामा चुनावी गठबन्धनको गाँठो भने अझै फुक्न सकेको छैन। कारण– नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तल्लो कमिटीका नेता–कार्यकर्ताहरूको मन नमिल्नु नै हो।

जिल्ला तहका नेता–कार्यकर्ताहरूले निर्वाचनको आन्तरिक लेखाजोखा गरिहेका छन्। उता नेकपा (एमाले) भित्र धमाधम उम्मेदवार टुंगो लगाउने काम भइरहेको छ। हुन त टिकट नपाएपछि पार्टी छोड्ने र असन्तुष्ट नेता–कार्यकताहरू संख्या उत्तिकै छ। तर यता सत्ता गठबन्धनभित्र भने जताततै मनमुटाब मात्रै देखिन्छ।

कांग्रेसले प्रायः जिल्लामा गठनबन्धन गर्न चाहेको छैन। कतिपय जिल्लामा गठबन्धन दलका सदस्यमाथि सम्मानजनक व्यवहार नगरेको माओवादी नेताहरू नै बताउँछन्। बराबर भागबन्डा खोज्दा साझा उम्मेदवार बनाउन सक्ने स्थितिमा देखिँदैनन्। उनीहरू एकआपसमा प्रतिस्पर्धा गर्न पनि तयार छैनन्। केन्द्रले लादेको निर्देशनमा चुपचाप छन्।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले गठबन्धनको झमेला झेलिरहेका छन्। स्थानीय नेता–कार्यकर्ताहरू नै गठबन्धन गर्ने सन्दर्भमा एकमत छैनन्। उनीहरू एकअर्काप्रति नरम देखिँदैनन्। आजसम्म पनि एउटाले अर्काेलाई आलोचना गरिरहेका छन्।

चुनावी गठबन्धन भएपनि आफ्ना कार्यकर्ताले माओवादीलाई मतदान गर्ने कुरामा केन्द्रीय नेताहरू नै शंका गर्छन्। ‘माओवादी कार्यकर्ताहरू इमान्दार छन्। उनीहरूले गठबन्धन हुँदा रूखमा भोट हाल्छन्। तर कांग्रेसका २५ प्रतिशत कार्यकर्ताले हँसिया–हथौडामा भोट हाल्दैनन्,’ कांग्रेस केन्द्रीय समितिका ती नेताले बिएल नेपाली सेवासँग भने, ‘किनकि, युद्धताका तीनै माओवादीबाट कैयौं कुटिएका छन्। कैयौं मारिएका छन्। ती व्यक्ति वा परिवारका सदस्यले कसरी माओवादीलाई भोट हाल्छन्?’

संघीय सरकारमा पार्टी–पार्टीबीच गठबन्धन भएपनि स्थानीयस्तरमा चुनावी गठबन्धन गर्नै नहुने नेपाली कांग्रेस गण्डकीका एक पदाधिकारीले बताएका छन्।

‘माओवादीसँग चुनावी तालमेल आवश्यक नै छैन। यो कांग्रेस कार्यकर्ताको भावनामा चोट लाग्ने कुरा हो। गठबन्धनबारे देउवा–पौडेल नै जानुन् तर भोट कहाँ हाल्ने कांग्रेसीहरूलाई राम्रोसित जानकारी छ,’ उनले भने।

युद्धकालमा माओवादीबाट कुटिएका, पिटिएका कार्यकर्ताहरूले केन्द्रीय नेताहरूको स्वार्थमा हँसिया–हथौडामा मतदान नगर्ने कांग्रेसकै एक प्रदेश सभापति दाबी गर्छन्। ‘देशलाई द्वन्द्वमा धकेलेर १० वर्षसम्म मुलुकमा अराजकता निम्त्याएको कांग्रेस कार्यकर्ताहरूले बिर्सिएका छैनन्,’ उनी भन्छन्।

प्रकाशित मिति: : 2022-04-16 21:22:00

प्रतिकृया दिनुहोस्