कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखायोः प्रधानमन्त्री ओली

सम्बोधन गर्दै प्रधानमन्त्री ओली।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यादित व्यवहार गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगगलबार विशेष पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक नै अवरुद्ध पारेर कांग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए।

‘प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार काँग्रेसले प्रर्दशन गरेको छ,’ प्रधानमन्त्रीले भने।

‘लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरीयता क्रममा बोल्ने अन्तर्राष्ट्रिय प्रचलन हुन्छ। हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्टम घेराउको नेतृत्व गरेर अघि बढ्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो घटनाबाट आश्चर्यचकित भएँ म। उहाँहरुलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो।’

प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने उल्लेख गर्दै काँग्रेस भने त्यसको विपक्षमा उभिएको आरोप लगाए।

यसअघि बिहान ११ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिए पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि प्रधानमन्त्री ओलीले बोल्न पाएका थिएनन्।

प्रकाशित मिति: : 2019-06-18 18:13:42

प्रतिकृया दिनुहोस्