नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको जनमुक्ति सेनाको निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्।
उनी यही असार १ देखि ७ गतेसम्मको भ्रमणका लागि सात सदस्यीय भ्रमण दलसहित प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
सो अवसरमा नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति थियो।
यसअघि उनलाई जङ्गी अड्डा परिसरमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । चीन भ्रमणको दौरान प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीसँग भेटघाटलगायत ऐतिहासिक स्थलको भ्रमणसमेत गर्ने सूचना निर्देशनालयले जनाएको छ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ।
उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।