समाजवादी पार्टीले दियो दल दर्ताका लागि आयोगमा निवेदन

तस्बिरः बिएल

 

काठमाडौं, जेठ ३०

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एक भएर बनेर समाजवादी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

दल दर्ताका लागि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेता–कार्यकर्ता आयोग पुगेर निवेदन दिएका हुन्।

गएको वैशाख २३ गते दुई पार्टीले नौ बुँदे सहमति गर्दै पार्टी एकता घोषणा गरेका थिए।

एकीकृत पार्टीको झण्डा तत्कालीन फोरमकै तारासहितको रातो र हरियो रंगको प्रस्ताव गरिएको छ। यद्यपी चुनाव चिन्हबारे निर्णय भइसकेको छैन।

तत्कालीन फोरमबाट दुई सय ८० जना र नयाँ शक्तिबाट एक सय ५० जना गरी पार्टीमा ४ सय ३० केन्द्रीय सदस्य उल्लेख गरिएको छ।

कार्यक्रममा पत्रकासँग कुरा गर्दै अध्यक्ष भट्टराईले देशमा नयाँ शक्तिको विकल्प रहेको भन्दै सही ढंगमा देश विकास गर्न र अग्रगामी, लोकतान्त्रिक र संघीयताका पक्षधरलाई समेट्दै विकासका गतिमा अघि बढ्न पार्टी एकीकरण भएको बताए।

राजनीतिक दल सम्बन्धि ऐन २०७३ अनुसार पार्टी एकीकरणका लागि निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेर प्रमाणपत्र दिनुपर्नेछ।

प्रकाशित मिति: : 2019-06-13 17:31:40

प्रतिकृया दिनुहोस्