एमाले नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँताको पक्राउको स्वागत गरेका छन्।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए। बमलाई भरतपुरबाट पक्राउ गरेर हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बम पक्राउ परेपछि बस्नेतले अराजकहरूलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रालयले खेलेको भूमिका सराहनीय रहेको बताएका छन्।
‘पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राप्रपानिकट निराजन बमलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। यस्ता अराजकहरूलाई कारबाहीको दायरामा ल्याउनको निमित्त गृहमन्त्रालयले खेलेको भूमिका सराहनीय छ,’ बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्।
पक्राउ परेका बम राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिवसमेत हुन्।
उनको पक्राउको पक्राउपछि राप्रपाले विरोध जनाएको छ। आइतबार प्रतिनिधि सभा बैठकमै राप्रपा सांसद ज्ञानबहादुर शाहीले बमको पक्राउबारे खेद प्रकट गरेका थिए।