प्रचण्डको तस्बिर जलाउने राजावादी पक्राउ, पूर्वराजाको जलाउने गणतन्त्रवादीलाई उन्मुक्ति

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तस्बिर जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता आइतबार पक्राउ परे।

बमलाई भरतपुरबाट पक्राउ गरेर हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनले शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा प्रचण्डको तस्बिर जलाएका थिए। 

पक्राउ परेका बम राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिवसमेत हुन्।

यता गणतन्त्रका नेताको तस्बिर जलाउने राजावादी नेताहरूलाई पक्राउ गर्न हतारिएको प्रहरीले पूर्वराजाको तस्बिर जलाउने गणतन्त्र पक्षधर कार्यकर्तालाई पक्राउ गर्ने भने चासो दिएको छैन।

मकवानपुर प्रहरी स्रोतका अनुसार माओवादी कार्यकर्ताहरूले उजुरी गरेपछि सोधपुछका लागि बमलाई पक्राउ गरेको हो। तस्बिर जलाएकै आधारमा हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई अभद्र व्यवहारको कसुरमा थप हिरासतमा राख्ने तयारी रहेको स्रोतले बतायो।

तस्बिर र पुत्ला दहन लोकतन्त्रमा विरोधको सामान्य अभ्यास रहेको राप्रपाले जनाएको छ। पूर्वराजाको तस्बिर जलाउने बेलगाम घुमिरहँदा प्रचण्डको तस्बिर जलाएर सामान्य विरोध गरेका आफ्ना नेता पक्राउ परेको भन्दै राप्रपाले असन्तुष्टि जनाएको छ।

राप्रपाका एक नेता भन्छन्, ‘राजतन्त्रमा बोल्न पाइदैन भन्ने कांग्रेस, एमाले, माओवादीको गणतन्त्रमा यही हो अभिव्यक्ति स्वतन्त्रता? देशमा स्वतन्त्रता यिनिहरूको लागि मात्र हो जनताका लागि होइन।’

प्रकाशित मिति: : 2025-03-16 17:25:00

प्रतिकृया दिनुहोस्