हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैनः पशुपति शमशेर राणा

तस्बिरः बिएल

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउन छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने बाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने दाबी गरे। ‘नेपाललाई विदेशीको ईशारामा दुई/चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ। अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं।’

राणाले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेको भन्दै अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए।

उनले नेपाललाई हिन्दूराष्ट्र बनाउन विदेशी सहयोग नचाहिने स्पष्ट पार्दै भने, ‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन। हामीसँग भएको संख्या नै काफी छ।’

राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको आरोप लगाए। ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन्। अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ, उनले भने।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओलीको सहभागिता र मोदी-ओलीबीच के के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको जिकिर गरे। यद्यपी राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिए ।

आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना अझै नटरेको बताए। ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ।’

अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हाँसिल गरेको बताए। ‘उहाँले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो, त्यसले चुनावमा भारी बहुमत हाँसिल गर्यो । उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो ।’

शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दा पनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ। ‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ति आयो हात्ती फुस्साजस्तै छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनले आरोप लगाए।  ‘जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होईन । बरु, राष्ट्र बनाउनको लागि दिएको हो । त्यो कुरा उहाँले बुझ्नुपर्छ । अहिले लामो अवधि भैसक्यो उहाँले शासन गर्नुभएको, तर मुलुक फेरवदल गर्न केही पनि गर्न सक्नुभएन ।’

मुलुकमा व्यापक भ्रष्टाचार रहेको सुनाउँदै सरकारले यसप्रति पनि चासो नदेखाएको उनको आरोप छ । राणाले थपे,‘बुढीगण्डकी, मेलम्चीजस्ता आयोजनामा पनि भ्रष्टाचार भएको छ । हरेक कुरामा भ्रष्टाचारको दुर्गन्ध छ । तर, प्रधानमन्त्रीजीले प्राप्त गरेको म्याण्डेटअनुसार आफ्नो ईमानदारिता देखाउन सक्नुभएन ।’

सरकारको विरोधी शक्तिहरु अब एकीकृत भएर सरकारले गरेका हरेक बेईमानी र गल्तीहरुको विरुद्धमा अब सडकमा उत्रिनुपर्ने पनि राणाले आवश्यकत्ता औंल्याए। उनले भने,‘यो सरकारबाट राष्ट्रको सुरक्षा र मुलुकको उत्थान हुन सकेको छैन् । हरेकतर्फ विकृति देखो परेको छ। हामी सरकारको मनपरीको विरुद्धमा उत्रिनुपर्छ ।’

बुढीगण्डकीजस्तो ठूलो परियोजनामा बिना प्रतिष्पर्धा ठेक्का दिनु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले अब सरकारले गरेका हरेक अकल्याणका कामहरु ओकल्नुपर्छ ।’

हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उनको भनाई छ।

हिन्दूराष्ट्र पूर्नस्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उनले जनाए ।

प्रकाशित मिति: : 2019-06-05 13:57:18

प्रतिकृया दिनुहोस्