ऊ यो दुनियाँमा आएकै थिएन।
सञ्जीव न्यौपाने र एकता घिमिरेले भने उसलाई आफ्नो संसारमा सजाइसकेका थिए।
दुई जना बसेर कैंयन् दिन र रात तीन जनाको संसारको कुरा गर्थे। योजना बुन्थे।
दुबै जागिरे थिए। बच्चा पाउने योजना बनेपछि पैसा जोहो गर्न थाले।
नियमित कुन अस्पताल जाने? बच्चा कहाँ पाउने? खोजी गर्न थाले।
धापासीको ग्रान्डी इन्टरनेशनल अस्पतालमा सुत्केरीको नर्सिङ सेवा राम्रो छ भन्ने सुने। त्यही बच्चा पाउने निधो गरे।
अस्पतालमा नियमित ‘चेकअप’ सुरू भयो।
सुरूदेखि नै एकता र उनको पेटभित्रको बच्चाका सबै रिपोर्टहरू राम्रा आए।
डाक्टरले पनि राम्रो छ भने।
आमा बाबुको मन न हो- ‘एक्स्ट्रा’ सचेत थियो। केही वंशाणुगत रोग पो लाग्छ कि भनेर उनीहरूले रगत जाँच्न भारत पठाए।
त्यहाँबाट पनि सबै नतिजा राम्रो आयो।
‘बच्चा स्वस्थ होस् भनेर हामीले अर्गानिक खानामात्र खायौं, सञ्जीवले भने, ‘हरेक पटक देखाउँदा डाक्टरले बच्चाको विकास राम्ररी भइरहेको छ भन्नुहुन्थ्यो।’
एकतालाई थाइराइड र फ्याट्टी लिभर (कलेजोमा बोसो भएको) को समस्या थियो।
गर्भवती भएको तीस सातापछि उनले हरेक हप्ता थाइराइड र कलेजो जाँचिन्। डाक्टरले भने अनुसार दबाई खाएर थाइराइड र फ्याट्टी लिभरलाई सन्तुलनमा राखेकी थिइन्।
डाक्टरले सुझाइन्- ‘फ्याट्टी लिभर’ भएकालाई नर्मल डेलिभर गर्न गाह्रो हुन्छ। ३७ साता पुगेपछि सर्जरी गरौं। उनीहरूले डाक्टरको सुझाव माने।
३६ सातामा एकताको पेटको अल्ट्रासाउन्ड गरियो। बच्चाको सामान्य अवस्था थियो।
रिपोर्ट हेर्दै डाक्टरले भनिन्- आजै डेलिभरी गर्दा पनि हुन्छ। तपाईंहरू घर सल्लाह गर्नुस्। अब जतिबेला गरे पनि हुन्छ।
एकताले आफ्नी आमालाई सोधिन्। २०७५ असार १२ गते मंगलबार परेको थियो। शुभ साइत भनेर त्यही दिन एकताको सर्जरी भयो।
गर्भवती भएको ३६ हप्ता १ दिनमा एकताको पेटबाट २.८ किलोको उनीहरूको नयाँ संसार बाहिर आयो। पूरानो संसारलाई एकाएक रंगिन बनायो।